बाजी मार्यो ‘समिरा'ले
काठमाडौंः चार्लट ए रल्फ्सले निर्देशन गरेको जर्मन चलचित्र ‘समिरा'लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिक्सन फिल्मको अवार्ड प्रदान गर्दै ‘पाँचौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१७' राजधानीमा आइतबार सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा चार दिनसम्म चलेको महोत्सवमा चिलीका प्याटिसियो सान्त्यान्दर निर्देशित ‘दिसोभेलम्यान'ले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फको अवार्ड जितेको छ ।
उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्मको अवार्ड सेल्नाङ मुगुमद्वारा निर्देशित चलचित्र ‘झालो'लाई प्रदान गरिएको छ । उत्कृष्ट राष्ट्रिय वृत्तचित्र विधामा भने देवकी विष्टको निर्देशनमा बनेको ‘इन सर्च अफ देवकी'ले बाजी मारेको छ । वृत्तचित्रमा आफ्नै जीवनसँग जोडेर देवकीले देउकी प्रथाको जरो उधिन्ने प्रयास गरेकी छन् । केही देउकीलाई भेटेर गरिएको कुराकानीसहितको वृत्तचित्रले लुकेर बसेको मुद्दा अघि ल्याइदिएको छ । पुरस्कृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिक्सन चलचित्र र वृत्तचित्रलाई अवार्डसँगै ४०÷४० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
महोत्सवमा इटालीका स्टेफेनी मौकार्जेल र मेरियम वोब्युरले निर्देशन गरेको १५ मिनेट लामो वृत्तचित्र ‘टु वल्र्डस'ले जुरी अवार्ड हात पारेको छ । महोत्सवमा नेपालका तर्फबाट निर्देशक तुलसी घिमिरे, भारतीय चलचित्र निर्देशक गिरीश कस्रावाली, ढाका चलचित्र महोत्सवका निर्देशक अहमेद मुज्दबाजमाल र नेदरल्यान्डस्की चलचित्रकर्मी क्लेमेन्टाइन एडरभिन निर्णायकका रूपमा रहेका थिए ।
मानवअधिकार चलचित्र केन्द्रले आयोजन गर्दै आएको महोत्सवको यो पाचौं संस्करण हो । महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३८ मुलुकका एक सय एक चलचित्र एवं वृत्तचित्र प्रदर्शन गरिएका थिए । सो अवसरमा आप्रवासन, लैंगिक समानता, अपांगता भएका व्यक्तिहरू, सीमान्तीकरणमा पारिएका समुदायका मानवअधिकारसँग सम्बन्धित चलचित्र पनि प्रदर्शन गरिएका थिए ।
महोत्सवका क्रममा चलचित्र एवं वृत्तचित्र प्रदर्शनसँगै विभिन्न विषयमाथि छलफल पनि गरिएको थियो । गत बिहीबार सुरु भएको महोत्सवको दोस्रो दिन भारतीय चलचित्रकर्मी गिरीश कस्रावालीले ‘मास्टर क्लास'मा नेपाली चलचित्रकर्मी छिरिङ रितार शेर्पासँग आफ्नो निर्माणशैलीबारे अनुभव साटेका थिए । त्यसैगरी मानवअधिकार र नेपाली चलचित्रका बारेमा पत्रकार यज्ञशको सहजीकरणमा प्रा. अभि सुवेदी, रम्यता लिम्बू र अनुप सुवेदीले पनि छलफल गरेका थिए ।
त्यसैगरी तेस्रो दिन नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणसम्बन्धी छलफल गरिएको हो । नवीन सुब्बा, क्षितिज अधिराज र अशोकप्यासी राई सहभागी यस छलफललाई सचिन घिमिरेले सहजीकरण गरेका थिए । नेपाली चलचित्रलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ, अन्तर्राष्ट्रियकरणको अर्थ र महत्वव के हो भन्नेबारेमा छलफल भएको थियो । महोत्सवमा नेपालका साथै क्यानडा, बेलायत, इरान, अफगानिस्तान, म्यानमार, सिरिया, इटाली, स्पेन, जोर्डनलगायत विभिन्न मुलुकका सांस्कृतिक पाटोसहित मानवअधिकारसँग जोडिएका चलचित्र समेटिएका थिए । महोत्सव उपलब्धिमूलक र सफल भएको आयोजकले जनाएको छ ।
राजधानीमा सम्पन्न पाँचौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मानवअधिकार विषयमाथि बनेका ३८ मुलुकका एक सय एक चलचित्र एवं वृत्तचित्र प्रदर्शन गरिएका थिए । तीमध्ये चार्लट ए रल्फ्सले निर्देशन गरेको जर्मन चलचित्र ‘समिरा' उत्कृष्ट अन्तर्राष्ट्रिय फिक्सन फिल्मको अवार्ड हात पार्न सफल भएको हो ।