पर्दामा आफैंलाई देखेपछि दंग
भक्तपुरः सधैं इँटा बनाउने, त्यही ओसार्ने काममा व्यस्त भक्तपुरको नलिन्चोकमा रहेको इँटाभट्टाका बालबालिकाको दिनचर्या शनिबार फरक रूपमा बित्यो । इँटाभट्टाको आफ्नै दैनिकी चलचित्र ‘डस्ट'मा देखेपछि उनीहरू दंग परे। बालबालिका-अभिभावक आफैंलाई स्क्रिनमा हेरिरहेका थिए । धुलोमैलो कपडा, इँटाको रातो धुलोले लतपतिएको आफ्नै अनुहार स्क्रिनमा देखेर उनीहरू लजाइरहेका थिए ।
दिनभरि इँटा बोकेर यताउति गरिरहेका बालबालिकाको हातमा नयाँ डिजिटल क्यामेरा थियो । बर्लिनमा रहेका कलाकारले भक्तपुरको इँटाभट्टामा काम गरिरहेका बालबालिका र उनीहरूका अभिभावकका लागि शनिबार ‘मेटिभेसनल कार्यक्रम' गरेको हो । ‘बालबालिकाले निरन्तर पढ्न पाउनुपर्छ' भन्दै थालिएको कार्यक्रमको यो पहिलो संस्करण हो ।
कार्यक्रममा दीपक तोलांगे निर्देशित चलचित्र ‘डस्ट'को प्रदर्शन गरिएको हो । जसमा इँटाभट्टामा काम गर्नेहरूको कथा समेटिएको छ । भट्टामै काम गरिरहेका बालबालिका र ‘डस्ट' चलचित्रकै पात्रहरूले खिचेका तस्बिर प्रदर्शनीले यहाँको दुःख झल्काउँथ्यो ।
सोही क्रममा धुलोबाट बच्न बालबालिका र तिनका अभिभावकलाई चार सय थान मास्क, एक सय पचास थान ऊनीको पन्जा, बीस थान कलाका सामग्री र सात थान डिजिटल क्यामरा वितरण गरिएको थियो । जर्मनीका कलाकारसँग दीपक तोलांगेको सहकार्यमा गरिएको कार्यक्रममा जर्मन फोटोग्राफर फिलिक्स हेङ्केले सहयोग गरेका थिए ।
जर्मनीमा तोलांगे र फिलिक्सले आयोजना गरेको संयुक्त फोटो प्रदर्शनीबाट उठेको ६० हजार रुपैयाँबाट ती बालबालिकालाई सामग्री प्रदान गरिएको हो । बालबालिकाका लागि जर्मन संस्था अगोराले पनि ३५ हजार रुपैयाँ सहयोग गरेको छ ।