अंशुलाई मिस नेवाः पोखराको ताज
पोखराः पोखरामा सम्पन्न नेपाल संवत् ११३७ मिस नेवाः पोखराको उपाधि तेर्सापट्टीकी अंशु शाक्यले जितेकी छन् । प्रतिस्पर्धामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस ट्यालेन्टसहित शीर्ष उपाधि जितेकी हुन् । शाक्यले ४० हजार रुपैयाँ, सीजी ब्रान्डको ३२ इन्चको एलईडी टीभी तथा विभिन्न उपहारहरू प्राप्त गरेकी छन् । २० वर्षीया शाक्यलाई एलिशा जोशीले ताज पहिर्याइदिएकी थिइन् ।
नेवाः खल कास्कीको आयोजनामा भएको प्रतियोगितामा रामकृष्ण टोल पोखराकी निकिता लिगल फस्ट रनरअप बनिन् । चिप्लेढुंगाकी प्रार्थना डंगोल बेस्ट पर्सनालिटीसहित सेकेन्ड रनरअप बनिन् । निकिताले २५ हजार एवं डंगोल १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरेका छन् ।
प्रतियोगितामा भ्युवर्स च्वाइस अवार्ड र बेस्ट नेवार भाषाको उपाधि मोहोरिया टोलका रसना बुद्धाचार्यले जितिन् । उनले बेस्ट नेवार भाषाका लागि सात हजार तथा भ्युवर्स च्वाइसका लागि पाँच हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् । नदीपुरका ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, बागबजारका श्रद्धा श्रेष्ठले मोस्ट फ्रेन्ड्ली तथा नयाँबजारका सिम्रन श्रेष्ठले मिस फोटोजेनिकको विषयगत उपाधि जिते । उनीहरूले क्रमशः पाँच हजार नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार भाषा र संस्कृति जगेर्ना तथा युवापुस्तामा हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठलगायतले भाषा र संस्कृति संरक्षणमा जोड दिएका थिए ।