'विवाह जीवनको अन्तिम प्राथमिकता'
मिस नेपाल २०१६ की विजेता हुन्, अश्मि श्रेष्ठ । यसअघि ‘फेस अफ क्लासिक डाइमन्ड’को उपाधिसमेत जितेकी उनले मोडलिङ हुँदै यहाँसम्मको यात्रा तय गरेकी हुन् । मिस नेपाल विजेताका रूपमा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरी ‘ब्युटी विथ पर्पस्’ विधामा उत्कृष्ठ पाँचमा परेकी उनी ५ फिट ७ इन्च अग्ली छिन् । अहिले नयाँ मिस नेपालको खोजी सुरु भएको छ । २३ वर्षीया उनलाई कस्तो लागिरहेको छ त ? यिनै विषयमा अशोकप्यासी राई र अश्मिबीच भएको कुराकानीको मुख्य अंश:
-नयाँ मिस नेपालको खोजी सुरु भयो कस्तो लागिरहेछ ?
फर्मल्ली अन्तिम प्रेस मिटभन्दा नरमाइलो त लाग्दो रहेछ । तर नयाँ मिस नेपाललाई ताज पहिर्याउन उत्तिकै उत्साहित पनि छु ।
-आफूले भाग लिएको दुईवटै प्रतियोगिता जितेको क्षण सम्झँदा कस्तो लाग्छ ?
आफूलाई भाग्यमानी अनुभूति हुन्छ । मिस नेपालभन्दा अगाडि फेस अफ क्लासिक डाइमन्डमा भाग लिएँ । त्यो प्रतियोगिता जितेपछि मलाई मिस नेपाल जित्न सजिलो भएको हो ।
-यी दुई प्रतियोगितामा के फरक थियो ?
फेस अफ क्लासिक डाइमन्ड विशुद्ध मोडलिङ प्रतियोगिता हो । त्यसमा सायद रूपले पनि बढी प्राथमिकता पाउँथ्यो । तर मिस नेपाल ब्युटी एन्ड ब्रेनमा आधारित हुन्छ । अझ पछिल्लो समय त ‘पर्पस’ पनि जोडिएको छ । मिस नेपालमा रूपमात्रै भएर हुँदैन प्रतिभा चाहिन्छ । जिम्मेवारी पनि बढी हुन्छ ।
-मिस वर्ल्डमा सहभागी कतिपय मिस नेपाल विजेताले छनोट प्रक्रिया नै थाहा पाउन नसकिने रहेछ भनेका छन्, त्यस्तो हो ?
केही हदसम्म यो कुरा सत्य हो । मलाई पनि कताकता त्यस्तो फिल भएको थियो । तर त्यो स्वाभाविकै हो । किनकि त्यहाँ धेरै मुलुकको सहभागिता हुन्छ । मेरो पालामा पनि एक सय १७ मुलुकका सुन्दरी थिए । सबै प्रतिभावान्, फरक संस्कृति, फरक भाषाशैलीबाट आएका हुन्छन् । सबैलाई बुझ्न सम्भव पनि हुँदैन ।
-तपाईंको पालाकी विजेता प्युर्टोरिकोकी स्टेफनीका बारेमा प्रतियोगितामा कति बुझ्नुभएको थियो ?
मैले नोटिस चाहिँ गरेको थिएँ । सबैसँग मिल्ने, लिडरसिप क्षमता भएको, प्रभावकारी व्यक्तित्व थियो । हामी एउटै समूहमा थियौं । हाम्रो समूहलाई एक प्रकारले भन्ने हो भने उसले लिड गरेको थियो । मिस वल्र्ड २०१६ अमेरिकामा भएको थियो । न्युयोर्कम बसेर पढेकी स्टेफनी त्यहाँको समाज बुझेको थियो ।
-समूह भन्नाले ?
सहभागीहरूलाई ग्रुमिङका लागि सजिलो होस् भनेर ह्वाइट, ब्लु र रेड गरी तीन समूहमा छुट्ट्याएको थियो । स्टेफनी म एउटै समूहमा परेका थियौं ।
-अहिले सम्झिँदा आफ्नो प्रस्तुतिमा सुधार गर्ने ठाउँ थियो ?
थुप्रै पोइन्टमा रियलाइज हुन्छ । मेरो विचारमा नेपालमा ग्रुमिङको कल्चर नै स्थापित हुन सकेको छैन । विश्वको धेरै मुलुकमा सौन्दर्य प्रतियोगितालाई उच्च महत्व दिन्छ । यस्ता प्रतियोगितालाई अर्थतन्त्रसँग जोडेर हेर्छ । चीनकै कुरा गरौं यस्ता प्रतियोगिताबाट कति लाभ लिएको छ ।
-त्यसो भए त्यहाँ जाने नेपाली प्रतिनिधिलाई हीनताबोध हुन्छ?
सत्य कुराभन्दा केही हदसम्म त्यस्तो अनुभूति हुन्छ । हुन त देशलाई आरोप लगाउन मिल्दैन । तर विश्वस्तरमा हामी पनि पुग्न सक्छौं भन्ने चाहिँ लाग्छ ।
-आयोजकको सम्झौताका कारण मिस नेपाल विजेता बन्धनमा पर्छन्, चाहे जति काम गर्न सक्दैनन् भनिन्छ नि ?
नियममा बस्नु भनेको ताजको सम्मान गर्नु हो । नयाँ मिस नेपाल जन्माउने आयोजकले नै हो । जिम्मेवारी र भूमिका निर्वाह गर्न विजेताले आयोजकमार्फत नै काम गर्नुपर्छ । मलाई त त्यसले झन् सजिलो बनाएजस्तो लाग्यो ।
-सुरुमा यो क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
सानैदेखि मिस नेपाल बन्ने लक्ष्य थियो। प्रतियोगितामा भाग लिनुअघि मोडलिङलाई ब्रिचका रूपमा प्रयोग गरेँ । मेरो चाहना र लक्ष्यमा पुग्न सफल भएँ।
-अब तपाईंका लागि सौन्दर्य प्रतियोगिताको अध्याय सकियो ?
नेपालमा अब यहाँभन्दा माथि जाने ठाउँ छैन । अन्तर्राष्ट्रियस्तरका अन्य सौन्दर्य प्रतियोगितामा जान त सकिएता तर त्यो चाहना छैन ।
-अबको योजना ?
मिस नेपाल विजेताका रूपमा गर्नुपर्ने जिम्मेवारी र अवसरलाई सदुपयोग गर्नैपर्छ । साथै मिस नेपाल भएकाले गर्न नसकिएका कतिपय योजना अब गर्छु।
-भविष्यको लक्ष्य ?
मेरो पृष्ठभूमि बीबीएस भएकाले कर्पोरेट सेक्टरमा लाग्ने हो ।
-विवाहका लागि बाटो पनि खुल्न लाग्यो ?
विवाह त मेरो जीवनको सबभन्दा अन्तिम प्राथमिकता हो । मिस नेपाल भए पनि, नभएको भए पनि विवाह योजनामा थिएन र छैन ।
-अभिभावकमा त हुर्केकी छोरी विवाह गरेर सेटल होस् भन्ने चाहना हुन्छ नि ?
त्यो त हो तर मेरो दिदीकै विवाह हुन बाँकी छ । मेरो पालो आउन समय लाग्छ । म आफूलाई सानै सम्झन्छु ।