विनोद चौधरीको सम्पत्ति २० अर्ब थपियो

विनोद चौधरीको सम्पत्ति २० अर्ब थपियो

काठमाडौः नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ थपिएको छ । उनको सम्पत्ति १.३ बिलियन अमेरिकी डलर (एक खर्ब ३० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१७ का विश्वका अर्बपतिको सूचीमा उनी १० स्थान माथि उक्लिएर १५६७ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी एक अर्ब १० करोड डलर सम्पत्तिसहित १५७७ औं स्थानमा थिए ।

विनोद चौधरी चर्चित व्यावसायिक घराना चौधरी समूहका अध्यक्ष हुन् । चौधरी परिवार सन् २०१३ देखि फोब्र्सको अर्बपति सूचीमा पर्दै आएको छ । नेपालबाट अर्बपतिको सूचीमा पर्ने चौधरी एकमात्र व्यवसायी हुन् । माइक्रोसफ्ट कम्पनीका अध्यक्ष बिल गेट्स लगातार चौथो वर्ष विश्वकै धनाढ्य बन्न सफल भएका छन् । उनी ८६ अर्ब डलर सम्पत्तिसहित विश्वकै धनाढ्य बनेका हुन् । अघिल्लो वर्ष उनको सम्पत्ति ७५ अर्ब डलर थियो ।
यो वर्ष फोब्र्स पत्रिकाको सूचीमा धनाढ्य १३ प्रतिशतले बढेर दुई हजार ४३ पुगेका छन् । यसमध्ये एक सय ९५ नवधनाढ्य अनुहार हुन् । चीनबाट सबैभन्दा बढी ७६ जना र अमेरिकाबाट २५ जना नवधनाढ्य फोब्र्सको सूचीमा परेका छन् । विश्वभरका अर्बपतिको कुल सम्पत्ति ७.६७ ट्रिलियन डलर पुगेको फोब्र्सले जनाएको छ ।

डलर अर्बपति चौधरीको बैंक, फुड, इलेक्ट्रोनिक, बियर, होटेल, सिमेन्ट, हाइड्रो, शिक्षा लगायतका क्षेत्रमा लगानी छ । उनको नबिल बैंकबाटै वर्षमा डेढ अर्बभन्दा बढी रुपैयाँ आम्दानी हुन्छ । चौधरीले सबैभन्दा बढी सफलता पाएको वाइवाइ चाउचाउ र हस्पिटालिटी बिजनेसमा हो । उनी वाइवाइ र होटेलको विश्वव्यापी विस्तारमा लागेका छन् । वाइवाइ र होटेलको विश्वव्यापी विस्तारले नै उनलाई फोब्र्सको अर्बपत्ति सूचीमा उभ्याएको हो ।

फोब्र्सले २० अर्ब सम्पत्ति बढेको सूची सार्वजनिक गर्दा चौधरी बिजनेस एक्स्पान्सनमा विदेश दौडाहामा छन् । निकट भविष्यमै युरोपेली मुलुक सर्बियाबाट वाइवाइ उत्पादन सुरु हुँदैछ । युरोपबाट उत्पादन सुरु गर्ने वाइवाइ सम्भवतः पहिलो नेपाली ब्रान्ड हो । नेपाल र भारतमा बजार पिटिरहेको वाइवाइ विश्वका तीन दर्जन मुलुकमा पुग्छ । निकट भविष्यमा साउदी अरेबिया र बंगलादेशमा पनि वाइवाइ उत्पादन हुँदैछ । एसिया, मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट खोलेर वाइवाइ संसारभर फैलाउने अभियानमा चौधरी छन् । सन् २०२० सम्म वाइवाइको उत्पादन वार्षिक पाँच अर्ब प्याकेट पुत्वयाएर विश्व चाउचाउ बजारमा पाँच प्रतिशत हिस्सा पुत्वयाउने अभियान छ । अहिले वाइवाइको विश्वमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ ।

हस्पिटालिटी बिजनेसमा पनि उत्तिकै चम्किएका छन् । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, चीन, अफ्रिका लगायतका मुलुकमा उनका दर्जनौं लक्जरी होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । गत वर्षमात्र नेपालको चितवनस्थित मेघौलीमा लक्जरी सफारी रिसोर्ट मेघौली सेराइ सञ्चालनमा आएको छ । यसको व्यवस्थापन भारतको प्रख्यात होटेल÷रिसोर्ट ब्रान्ड ताजले सम्हालेको छ । ताज समूहअन्र्तगतको ताज सफारी ब्रान्डमा चौधरी ५० प्रतिशत हिस्सेदार छन् । उनका धेरै लक्जरी होटेल सञ्चालनको तयारीमा छन् । वाइवाइ र होटेललाई विश्वभर विस्तार गर्ने उनको अभियान छ ।

उनको बुवा लुनकरणदास चौधरीले नेपालमा पहिलो पटक डिपार्टमेन्टल स्टोर खोलेको फोब्र्सले उल्लेख गरेको छ । ६१ वर्षीय उनी १८ वर्षको उमेरदेखि फेमिली बिजनेसमा संलग्न छन् । पछिल्लो समय उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छन् । उनले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राममा मोटो रकम खर्चिएर भव्य शाश्वत धाम निर्माण गरेका छन् । यसको हालैमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

डलर अर्बपति चौधरीको बैंक, फुड, इलेक्ट्रोनिक, बियर, होटेल, सिमेन्ट, हाइड्रो, शिक्षा लगायतका क्षेत्रमा लगानी छ ।

विश्वका अर्बपतिको सूचीमा सेयरका बादशाह मानिने वारने बफेट ७५.६ अर्ब डलर सम्पत्तिसहित दुई नम्बरमा परेका छन् । उनको सम्पत्ति एक वर्षमा १४.८ अर्ब डलर थपिएर दोस्रो बन्न सफल भएका हुन् । सूचीको तेस्रो नम्बरमा अमेजान डटकमका जेफ बेजोस (७२.८ अर्ब डलर) परेका छन् । उनले एक वर्षमा २७ अर्ब ६० करोड डलर सम्पत्ति थपेर विश्वमै सबैभन्दा बढी सम्पत्ति जोड्ने दहरिएका छन् । जाराका संस्थापक अमान्सीओ आर्टेगा ७१.३ अर्ब डलर सम्पत्तिसहित चौथो नम्बरमा छन् । अघिल्लो वर्ष उनी दोस्रो नम्बरमा थिए । उनको सम्पत्ति ४.३ अर्ब डलरले बढेको फोब्र्सले जनाएको छ ।

फेसबुकका संस्थापक ३२ वर्षीय मार्क जुगरबर्ग ५६ अर्ब डलर सम्पत्तिसहित पाँचौ नम्बरमा परेका छन् । यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३.५ अर्ब डलर सम्पत्तिसहित पाँच सय ४४ स्थानमा खुम्चिन पुगेका छन् । अघिल्लो वर्ष उनी सूचीको दुई सय २० स्थानमा थिए । सबैभन्दा रोचक पक्ष सूचीको पहिलो नम्बरमा रहेका बिल गेट्स विगत २३ वर्षमा धनाढ्यको सूचीमा १८ पटक पहिलो नम्बरमा पर्न सफल भएका छन् । धनाढ्यको सूचीमा एक सय एक वर्षीय डेभिड रकफेलर पनि परेका छन् । अमेरिकी रियल स्टेट व्यवसायी उनी ३.३ अर्ब डलर सम्पत्तिसहित अर्बपति सूचीमा परेका हुन् । इटालीकी ९९ वर्षीय फ्रान्सा फिसोलो २५.२ अर्ब डलर सम्पत्तिसहित सूचीको २९औं स्थानमा छिन् । उनीहरू सूचीका सबैभन्दा बढी उमेरका व्यवसायी हुन् ।

अर्बपति सूचीको सबैभन्दा कान्छो धनाढ्यमा नर्बेकी २० वर्षीय अलेसान्ड्रा एन्डेसेन परेकी छन् । उनको १.२ अर्ब डलर सम्पत्तिसहित उनी सूचीको १६७८ नम्बरमा छिन् । नर्बेकै क्याथरिना एन्ड्रेसेन (२१ वर्ष) सबैभन्दा कान्छो धनाढ्यको दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति पनि १.२ अर्ब डलर छ । उनीहरू दिदी बहिनी हुन् । सूचीमा ४० वर्षभन्दा कम उमेरका ५६ जना अर्बपतिको सूचीमा परेका छन् ।
फ्रान्सकी ९४ वर्षीय लिलियाने बुटेनकोर्ट ३९.५ अर्ब डलर सम्पत्तिसहित सबैभन्दा धनी महिला बन्न सफल भएकी छन् । उनी धनाढ्यको सूचीमा १४औं नम्बरमा छन् । दोस्रो धनी महिलामा ३३.८ अर्ब डलर सम्पत्तिसहित वाल–मार्टकी सञ्चालिका एलिस वाल्टन परेकी छन् । उनी सूचीको १७औं स्थानमा छन् ।

यो वर्ष पनि अर्बपतिको सूचीमा अमेरिकनको बर्चस्व देखिएको छ । अमेरिकाका पाँच सय ६५ जना अर्बपतीको सूचीमा परेका छन् । चीन दोस्रो नम्बरमा छ । चीनबाट तीन सय १९ जना (हङकङ ६७, मकाउ १) धनाढ्यको सूचीमा छन् । तेस्रो नम्बरमा रहेको जर्मनीबाट एक सय १४ र चौथोमा भारतबाट एक सय एक जना अर्बपतिको सूचीमा छन् । भारतबाट लगातार चार पटकसम्म सय जना अर्बपतिको सूचीमा पर्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.