सात महिनामा १० अर्बको मोबाइल आयात
काठमाडौः पछिल्लो सात महिनाको अवधिमा नेपालमा १० अर्बको मोबाइल भित्रिएको छ । यस अवधिमा ३६ लाखभन्दा बढी मोबाइल भित्रिएका हुन् । मोबाइलको बढ्दो प्रयोग र नेपाली बजारमा भित्रिँदो नयाँ/नयाँ मोबाइल उत्पादन कम्पनीको असर यसमा परेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ को प्रथम सात महिना (साउनदेखि माघ) को अवधिमा ३६ लाख १४ हजार १७ मोबाइल भित्रिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष मोबाइल आयात ८४ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ३० लाख १४ हजार नौ सय ८५ मोबाइल भित्रिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुयस खनालले जानकारी गराए ।
उनका अनुसार यो वर्ष इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको बजार गत वर्षको तुलनामा ४७.५ प्रतिशतले वृद्धि भएको छ । ‘पछिल्लो समय नेपालमा फस्टाएको व्यवसाय भनेकै मोबाइल खरिद-बिक्री हो', हुवावे मोबाइलका बजार व्यवस्थापक सुमित प्रधानांगले भने, ‘बजारमा नयाँ/नयाँ मोबाइल कम्पनी भित्रिने क्रम बढेको छ, ग्राहक बढेका छन्, यसले पनि मोबाइलको आयातमा वृद्धि भएको हो ।' उनका अनुसार पछिल्लो केही समययता नेपालमा हरेक दुई महिनाको अवधिमा एउटा नयाँ स्मार्टफोन उत्पादक कम्पनी भित्रिएको छ । ‘एउटा कम्पनी भित्रिँदा उसले कम्तीमा दुईदेखि पाँच वटा मोडेल भित्र्याउँछ', प्रधानांगले भने, ‘एउटा मोडेलमा दुई हजार मोबाइल भित्रिएको खण्डमा दुई वटा भित्र्याउँदा चार हजार र पाँच वटा मोडेल भए १० हजार मोबाइल भित्रिन्छन् ।'
नयाँ ब्रान्डका साथै पुराना ब्रान्डले पनि नयाँ मोडेलमा आफ्नो उत्पादन भित्र्याउँछन् । बजारमा स्थापित भइसकेका मोबाइल ब्रान्ड सामसुङ, हुवावे, जिओनीलगायत ब्रान्डले एक पटकमा एउटा मोडेल भित्र्याउँदा कम्तीमा पनि १० हजार हाराहारीमा मोबाइल भित्र्याउने गरेका छन् । यसले पनि मोबाइलको आयातमा प्रत्येक वर्ष ठूलो अन्तर हुने गरेको प्रधानांग बताउँछन् ।
सात महिनाको अवधिमा नेपालमा १० अर्ब ८५ करोड ८७ लाख ६५ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।
केन्द्रको तथ्यांकअनुसार यो सात महिनाको अवधिमा नेपालमा १० अर्ब ८५ करोड ८७ लाख ६५ हजार रुपैयाँको मोबाइल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ९० करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा नौ अर्ब ९५ करोडको ३२ लाख ४८ हजार रुपैयाँको मोबाइल आयात भएको थियो ।
मोबाइल आयातको तथ्यांकलाई केलाउँदा नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएको छ । अहिले नेपालमा चीन, भारत, दक्षिण कोरिया, भियतनाम, हङकङ, स्पेनलगायत ३० भन्दा बढी देशबाट मोबाइल आयात हुँदै आएको छ । यो सात महिनाको अवधिमा चीनबाट मात्रै ८७ प्रतिशत मोबाइलको आयात भएको तथ्यांकले देखाएको छ ।
यो अवधिमा चीनबाट ३१ लाख २६ हजार तीन सय ७२ मोबाइल सेट भित्रिएको छ । त्यस्तै, दोस्रोमा भियतनाम छ । भियतनामबाट उक्त अवधिमा दुई लाख ४८ हजार ६ सय ३५ मोबाइल आयात भएको छ भने तेस्रोमा रहेको भारतबाट दुई लाख २९ हजार ६ सय ६४ मोबाइल भित्रिएको छ । गत आर्थिक वर्षमा बंगलादेश र बहराइनबाट पनि मोबाइल आयात भएको थियो । तर, यो वर्ष भने यी दुई देशबाट मोबाइलको आयात नभएको तथ्यांकले देखाएको छ।