लिगको तयारीमा जुट्यो एन्फा

लिगको तयारीमा जुट्यो एन्फा

काठमाडौं : तीन वर्षदेखि अवरुद्ध बन्दै आएको 'ए' डिभिजन लिग आगामी वैशाख १५ गतेदेखि हुने भएको छ । लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीव्र गतिमा तयारी थालेको एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले बताए । 'विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१८ सम्म क्लब लाइसनिङ सिस्टम लागू गरेको तथा लिग फुटबललाई सुचारु गर्न फिफा र एएफसीले समेत ताकेता गरिरहेकोले नेपालमा घरेलु लिग सञ्चालन गर्नुको विकल्प छैन ।

एन्फाले एकदुई दिनमा 'ए' डिभिजन लिगका लागि प्रायोजकको तय गर्नेछ । एन्फाले यस वर्ष काठमाडौंका १२ वटा क्लबलाई समेटेर सहिद स्मारक 'ए' डिभिजन लिग सुचारु गर्नेछ', तुलाधरले भने ।


लिग सञ्चालनका लागि आर्थिक पक्ष पनि बलियो बनाउनुपर्ने भएकोले लिगको पुरस्कार राशि र क्लबहरूलाई प्रदान गरिने आर्थिक अनुदान तथा सेवाका विषयमा छलफल गरिने पनि तुलाधरले बताए । उनका अनुसार विगतमा भन्दा लिगको पुरस्कार घटाउने र क्लबको तयारी खर्च बढाउन एन्फा लागेको छ । लिगका लागि वैशाख १ गतेदेखि खेलाडी अनुबन्धनको प्रक्रिया पनि सुरु हुनेछ ।

यसपटक सहभागी क्लबलाई रेलिगेसनको मापदण्ड नराखिने पनि तुलाधरले बताए । नेपालले सन् २०१८ बाट एएएफसी क्लब लाइसनिङलाई अनिवार्य रूपमा लागू गर्ने भएकाले अर्को वर्षदेखि लाइसेन्सका लागि प्रक्रिया पुर्याउने सबै जिल्ला, क्षेत्र र क्लबहरूलाई लिगमा समावेश गरिने र रेलिगेसनको मापदण्ड पनि त्यसैबेला राखिनेछ । पुरानो संरचनाअनुसार सहिद स्मारक लिग सञ्चालन गर्न लागिएकोले यस पटक 'बी' बाट 'ए' डिभिजनमा प्रवेश गरेको एनआरटी र च्यासलले भाग लिन पाउने छैन ।

एन्फाले विभिन्न समयमा लिगलाई आआफ्नै ढंगले सञ्चालन गर्दा लिगको एकरूपतामा समेत अन्योल देखिएको थियो । हालै फिफा, एएफसी, एन्फा र 'ए' डिभिजन क्लबका पदाधिकारी सम्मिलित बैठकले पनि वैशाखमा 'ए' डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो । हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिङि शेर्पा एन्फाले पटकपटक लिग सञ्चालन गर्ने कुरा गरिरहे पनि क्लबहरू अझै लिग हुन्छ भनेर विश्वस्त बन्न नसकेको बताउँछन् । 'लिग हुन्न भनेर एन्फाले कहिल्यै भनेको छैन तर, लिग गर्ने हो भने अब ढिला गर्नु हुन्न । लिग नहुँदा पुराना खेलाडी पलायन हुँदै गएका छन । नयाँ खेलाडी आउने बाटो पनि ठप्प भएको छ । विभिन्न जिल्लामा हुने गोल्डकप र एउटै खेलाडीको सहभागिताले फुटबलको स्तर माथि नजाने कुरालाई एन्फा नेतृत्वले बुझ्नु आवश्यक छ,' शेर्पाले भने ।

एन्फाले नियमिति लिग सञ्चालन गर्न नसक्दा पछिल्लो तीन वर्षमा सयौं खेलाडी पलायन हुने अवस्था आएको शेर्पाले बताए । 'लिग नहुँदा क्लब फुटबल र खेलाडीको अवस्था धराशायी बन्दै गएको छ । अहिले विभागीय टोलीबाहेकका क्लबलाई खेलाडी जुटाउन नै समस्या भएको छ । नियमित लिग नहुँदा खेलाडीमात्र होइन प्रशिक्षक र रेफ्रीको रोजीरोटीसमेत गुम्दै गएको छ । राम्रा खेलाडीसमेत जुन भेटिन्छ त्यही प्रतियोगिता खेल्न बाध्य छन्,' शेर्पा भन्छन् ।

नेपालमा २०११ सालदेखि सञ्चालन हुन थालेको सहिद स्मारक लिग विभिन्न समयमा आआफ्नै कारण रोकिँदै आएको छ । बर्सेनि हुनुपर्ने लिगले हालसम्म ४२औं संस्करण पार गरेको छ । फुटबल खेलको विकासमा लिगलाई नियमित गराउने उद्देश्यले नेपाल सरकारले मात्र एन्फालाई अहिले बर्सेनि ६० लाख रुपैयाँ सहयोग पनि गर्दै आएको छ । यसअघि लिगका लागि सानमिगेल बियर, रेडबुलजस्ता कर्पोरेट हाउसले प्रायोजन गरेका थिए । पछिल्लो समय लिगले नियमितता नपाउँदा प्रायोजक पनि हराउँदै गएको अवस्था छ ।

यसअघि २०६७ सालसम्म सहिद स्कारक 'ए' डिभिजन लिगको रूपमा सञ्चालन हुँदै आएको लिगलाई २०६८ सालमा राष्ट्रिय लिगको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि बीचमा पुन: सहिद स्मारक 'ए' डिभिजनकै नाममा लिग गरेको एन्फाले पछिल्लो पटक २०७०/७१ सालमा मोफसलको केही टोलीलाई समेटेर होम एन्ड अवेका आधारमा राष्ट्रिय लिग खेलाएको थियो । एन्फाले २०७०/७१ सालमा आएर काठमाडौं बाहिरका झापा, मोरङ, रूपन्देही र सुदूरपश्चिमको कैलालीलाई समावेश गरी राष्ट्रिय लिग सञ्चालन गरेको थियो ।

पहिलो पटक होम एन्ड अवेको आधारमा खेलाइएको राष्ट्रिय लिगमा जिल्लाका चारसहित काठमाडौंको थ्रीस्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय लिगको उपाधि थ्रीस्टारले जितेको थियो । एन्फा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका कारण 'ए' डिभिजन क्लब फ्रेन्ड्स, सरस्वती, मच्छिन्द्र र हिमालयन शेर्पा क्लबलाई भने कारबाही गर्दै सहभागिताबाट वञ्चित गरिएको थियो । अर्को 'ए' डिभिजन क्लब संकटाले आर्थिक कारण देखाउँदै राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको थियो ।

हालसम्मका लिगका विजेता

मनाङ मस्र्याङ्दी क्लब : २०४२-२०४३, २०४३-२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० साल
आरसीटी क्लब : २०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१ साल

पुलिस फोर्स (नेपाल पुलिस क्लब) : २०१२, २०१३, २०६३, २०६६-२०६७ र २०६८ साल

थ्रीस्टार क्लब : २०५४, २०५५, २०६१, २०६९ र २०७१ साल

एनआरटी क्लब : २०१७, २०१९, २०३५ र २०५२ साल

महावीर क्लब : २०११, २०२३ र २०२६ साल

संकटा क्लब : २०३७, २०४० र २०४२ साल

अन्नपूर्ण क्लब : २०३४ र २०३९ साल

देउराली क्लब : २०२५ र २०२७ साल

आर्मी ११ : २०१४ साल

विद्याब्यायाम : २०२० साल

फ्रेन्ड्स युनियन : २०२४ साल

ब्वाइज युनियन क्लब : २०३२ साल

सुनाखरी एथलेटिक्स क्लब : २०३३ साल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.