अनुशासनमा ध्यान दिन सदस्यसचिवको सुझाव
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूसँग मंगलबार भेट गरेका छन् । सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेटी सदस्यसचिव विष्टले तालिमका विषयमा जानकारी लिएका थिए ।
सो अवसरमा सदस्यसचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन सुझाव दिँदै खेल सामग्रीको गुणस्तरमा राखेपले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । 'खेलाडीले अनुशासनमा विशेष ध्यान दिन जरुरी छ । खेलाडीले त्यसमा ध्यान नदिएको पाइएमा प्रशिक्षकलाई पनि कारबाही हुनेछ', सदस्यसचिव विष्टले भने, 'प्रशिक्षणमा खेलाडीलाई कस्तो सामग्री खाँचो पर्छ । प्रशिक्षकहरूले विवरण बुझाउनुस्, सामग्रीमा कुनै कम्प्रोमाइस गरिनेछैन ।'
विष्टले खेलाडीलाई आआफ्नो असन्तुष्टि अन्यत्र नभई सम्बन्धित निकायमा आएर भन्न आग्रह गर्दै सीमित साधनस्रोतका कारण चाहेर पनि खेलाडीलाई भनेजस्तो सुविधा दिन नसकिएको बताए । उनले सुविधाले मात्र नतिजा हासिल गर्न नसकिने बताउँदै त्यसका लागि इच्छाशक्ति पनि आवश्यक रहने धारणा व्यक्त गरे । उनले खेलाडीलाई संघको विवादमा ध्यान नदिई आफ्नो प्रशिक्षणमा केन्द्रित गर्न सुझाव दिँदै दशरथ रंगशालाको भीआईपी प्यारापिट भत्काउने प्रक्रियामा रहेकाले खेलाडीको प्रशिक्षणका लागि अन्यत्र उपयुक्त स्थान खोजिने बताए ।
फागुन २६ देखि सुरु राष्ट्रिय टिम तयारीमा हाल विभिन्न ११ खेलका ८३ पुरुष र ७० महिला खेलाडी प्रशिक्षणमा सहभागी छन् । राष्ट्रिय टिम तयारीमा समावेश खेलमा उसु, तेक्वान्दो, कराँते, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबुलटेनिस, सुटिङ, ब्याडमिन्टन, आर्चरी र जुडो रहेका छन् । 'सबै खेलको तयारी हाल उपत्यका केन्द्रित छ', राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले भने, 'कुस्तीको हकमा सबै खेलाडी तराईकै भएकाले कुस्तीको प्रशिक्षण तराईमै गर्ने सोचमा छौं । त्यसैले कुस्तीको प्रशिक्षण सुरु गरेका छैनौं ।'
कुस्तीमा आठ पुरुष र आठजना महिला खेलाडीलाई तयारीमा राखिनेछ । रानाभाटले पौडी र ट्रायथलनको प्रशिक्षण पनि चाँडै सुरु गरिने बताउँदै खेलाडी संख्या पनि थप हुनसक्ने जानकारी दिए । सातौं राष्ट्रिय खेलकुद र १२औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनका आधारमा खेलाडीलाई राष्ट्रिय टिम तयारीमा सामेल गरिएको हो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी २०६९ साल साउनदेखि राष्ट्रिय टिम तयारी थालिएको थियो । पछिल्लोपटक भारतमा भएको १२औं सागमा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षणपछि राष्ट्रिय टिम तयारी रोकिएको थियो ।