राजधानीमा ट्रिनालेको राैनक
काठमाडौंः सिद्धार्थ आर्ट फाउन्डेसन र म्युजियम अफ कन्टेम्पोररी आर्ट, गेन्ट बेल्जियमको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय कला मेला ‘काठमाडौं ट्रिनाले’ हुने भएको छ । तयारीको अन्तिम चरणमा पुगेको ट्रिनालेले विश्वका प्रसिद्ध कलाहरू भित्र्याउँदैछ ।
शुक्रबारदेखि सुरु हुने मेलामा ब्रायन हड्सनको पुस्तक प्रदर्शन गरिनेछ । जुन पुस्तकमा नेपालमा नभेटिएको नेपाली कलाको इतिहास समेटिएको छ । लन्डन म्युजियममा रहेको पुस्तक पहिलोपटक प्रर्शनीका लागि नेपाल ल्याइँदैछ । करिब दुई सय वर्षअगाडि जंगबहादुर राणासँग कलाकार भाजुमान राजकीय भ्रमणमा बेलायत गएका थिए ।
भाजुमानको समयदेखिको नेपाली ललितकलाको इतिहास प्रस्ट छ । त्यसअघिको इतिहासलाई ब्रायन हड्सनको पुस्तकले पुष्टि गरेको छ । हड्सनको पुस्तकमा रहेको राजमान सिंहका चित्रले यसलाई प्रस्ट्याएको छ । राजमान भाजुमानभन्दा ३७ वर्ष पुराना कलाकार हुन् । ब्रायन हड्सनको पुस्तक नेपाली कलाप्रेमीका लागि बहुप्रतीक्षित छ ।
मेलाको अर्को आकर्षण चिनियाँ कलाकार चाइको च्याङ हुन् । बारुदसँग खेलेर काम गर्ने च्याङको कलाका लागि अनुमति लिनमात्र फाउन्डेसनकी अध्यक्ष संगीता थापाले निकै दुःख गरिन् । बारुदसँगको काम भएकाले सुरक्षा अनुमति लिन नै कठिन भएको अनुभव उनले सुनाइन् । विश्वभरका चर्चित कलाकारले सहभागिता जनाउने मेलाको मुख्य आकर्षण नै समसामयिक कला हो ।
कलाकारले सहरको विषयमा केन्द्रित रहेर कला बनाउनेछन् । केही कलाकार नेपाल आएर काम सुरु गरिसकेका छन् । नेपाली कलाकारको एक समूहले कतारमा गएर त्यहाँका नेपालीको यथार्थ वस्तुस्थितिमा कला बनाएका छन् । नेपालीले आफ्नो परिवार बनाउनका लागि कसरी अरूको देश बनाइरहेका छन् भन्ने विषयमा चित्र बनाइएका छन् ।
२५ देशका ७० भन्दा बढी कलाकारको सहभागिता हुने ट्रिनाले विश्वमा आयोजित हुने महत्ववपूर्ण कला महोत्सवमध्ये एक हो । सिद्धार्थले हरेक तीन वर्षमा अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्ने गरेको थियो । यसपालि ट्रिनाले अनुमति लिएर मेला आयोजना हुन लागेको हो । मेलालाई म्युजियम फर कन्टेम्पोररी आर्ट गेन्टका कला निर्देशक फिलिप भ्यान कुटरेनले क्युरेट गर्नेछन् । पाटन संग्रहालय, सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम, आर्ट काउन्सिल लगायतका स्थानमा कला प्रदर्शन हुनेछन् । १७ दिन चल्ने मेलामा हरेक प्रदर्शनीस्थलमा फरकफरक कार्यक्रम आयोजना हुनेछन् ।