विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल विजयी
काडमाडौं : अर्जेन्टिना र चिली बीच भएको विश्वकप छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ । शुक्रबार भएको दक्षिण अमेरिकी देशको २०१८ को विश्वकपका लागि भएको छनोट खेलमा अर्जेन्टिना १-० ले विजयी भएको हो ।
खेलको १६ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरी अर्जेन्टिनाले खेलमा अग्रता बनाएको थियो । चिलीका डिफेन्डरले एन्जेलले डि मारियालाई डि बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । कप्तान मेस्सीले पेनाल्टी गोल गरेका थिए । सोही गोल नै अर्जेन्टिनाको जीतका लागि निर्णायक भयो । जितसँगै अर्जेन्टिना पाँचौ स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ ।
त्यसैगरी शुक्रबार नै भएको अर्को छनोट खेलमा ब्राजिलले उरुग्वे विरुद्ध ४-१ को जीत निकालेको छ । उरुग्वेको घरेलु मैदान मोन्टेभिडियोमा भएको खेलमा पाउलिन्होको ह्याट्रिक सहित फरराकिलो जीत निकाल्न सफल भएको हो । पाउलिन्होले १८, ५१ र ९० मिनेटमा गोल गर्दै ह्याट्रि पूरा गरेका थिए । त्यस्तै स्टार खेलाडी नेइमारले ७४ औं मिनेटमा गोल गर्दै ब्राजिलार्इ ४-१ ले विजयको हकदार बनाएका हुन् । अर्जेन्टिनाको जीतका लागि निर्णायक भयो ।
जितपछि पहिलो स्थानमा रहेको ब्राजिलको ३० अंक भएको छ भने हारपछि पनि उरुग्वे २३ अंक सहित दोस्रो स्थानमा कायम छ । पाँचौ स्थानबाट तेस्रो स्थानमा उक्लिएको अर्जेन्टिनाको २२ अंक छ ।