छक्का पञ्चाबाट ‘हिट’ बर्षा राउत भन्छिन् : हिरोइन त रुप र बैंस छउञ्जेलमात्रै हो
हिजोआज के गर्दै हुनुहुन्छ ?
रोज राणाको चलचित्र ‘मेरो पैसा खोइ' भर्खर सकियो । नयाँ चलचित्रका लागि कुरा भइरहेको छ ।
तपाईंका तीनवटै चलचित्र सुपरहिट भए, कस्तो लाग्छ ?
आफूले गरेको काम दर्शकले मन पराइदिँदा खुसी लाग्छ । मैले अभिनय गरेका नाइँ नभन्नु ल ४, छक्का पञ्जा र जात्रा रिलिज भए । तीनवटै चलचित्रबाट दर्शकको माया पाएँ ।
पहिलो पटक आफूलाई काँचको पर्दामा देख्दा कस्तो लाग्यो ?
रमाइलो लागेको थियो । अहिलेसम्म एक सयभन्दा बढी भिडियोमा मोडलिङ गरे । रिलिज भएको पहिलो भिडियो सिर्जना कार्कीले गाएको रोजेको मैले भन्ने हो ।
भिडियोमा काम सुरु गर्दा नायिका हुँला भन्ने लागेको थियो ?
त्यस्तो सोचेको थिइनँ । घरपरिवारबाट अनुमति थिएन । भिडियो त लुकीलुकी गर्नुपथ्र्यो ।
अहिले चाहिँ के भन्नुहुन्छ ?
अहिले त परिवारमा सबैले गौरव गर्नुहुन्छ । परिवारको साथले म जति खुसी छु काम गर्न त्यत्तिकै सजिलो छ ।
धेरै कलाकार घरपरिवारको साथ नभए पनि यो क्षेत्रमा आएर सफल भएका छन, तपाईंलाई त्यो वातावरण र आँट कसरी मिल्यो ?
म सानैदेखि अलि नक्कलझक्कल गर्नुपर्ने । ऐना अगाडि नाच्नु पर्ने । स्कुलमा हुने नृत्य प्रतियोगितामा सधैं जित्थेँ । साथीभाइ, सरहरूले तिमी त हिरोइन बन्छौं भन्थे । त्यो सुन्दा प्रयास गरौं कि जस्तो लाग्थ्यो । तर आधार केही थिएन । घरदेखि स्कुल, स्कुलदेखि घरमात्र गर्ने मान्छे हिरोइन बन्ने कल्पना कसरी गर्न सक्थेँ र ।
मोडलिङ, अभिनयसम्बन्धी औपचारिक प्रशिक्षण ?
छैन । सानैदेखि ऐना अगाडि नाच्ने, प्रतियोगितामा भाग लिनेमात्रै हो ।
चलचित्र र भिडियोमा के फरक लाग्छ ?
म्युजिक भिडियोबाट चलचित्र जाँदा त खासै केही लागेन, रमाइलै हुन्छ । तर चलचित्रबाट भिडियो सुटिङमा जाँदा अलि ‘एटिच्युड' आउँदो रहेछ ।
कस्तो एटिच्युड ?
चलचित्रमा मुख्य कलाकार भनेपछि घरमा लिन आउने, पुर्याउने, छाता ओढाउने, कुर्सी राखिदिने, के खाने खोध्ने गर्छन् । तर भिडियोमा त्यस्तो हुँदैन । कतिखेर काम सक्ने भन्ने धपेडीमात्रै हुन्छ ।
कलाकारलाई चित्तबुझ्दो पारि श्रमिक दिँदैनन् नि ?
म जुनस्तरमा छु त्योअनुसार पाएकी छु । मलाई पुग्दो छ ।
अभिनय गरेकामध्ये सन्तुष्टि मिलेको चलचित्र ?
सन्तुष्टिभन्दा पनि असन्तुष्ट भएको चलचित्र चाहिँ छक्का पञ्जा हो । छायांकन सकिएपछि मैले दीपकराज गिरी दाइलाई पनि भनेकी थिएँ । सकभर चलचित्र रिलिज नभए हुन्थ्यो जस्तो लागेको थियो ।
किन नि ?
दोस्रो चलचित्रमै त्यस्तो नेगेटिभ रोल गर्ने मन थिएन । अर्को त्यति धेरै चलेका कलाकारमा म नोटिस हुन सक्दिनँ भन्ने लागेको थियो ।
मनपर्ने नायिका ?
प्रियंका कार्की । म कक्षा ५ मा पढ्दा प्रियंका दिदीको भिडियो हेरेकी हुँ । त्यसपछि म उहाँबाट प्रभावित भएँ ।
प्रियंकाको मनपर्ने पक्ष ?
जस्तो भूमिका छ त्यहीअनुसारको एक्सप्रेसन दिन सक्ने खुबी । पहिलो चलचित्रमै उहाँसँग काम गर्ने मौका पाएँ ।
पर्दामा देखेको र सँगै काम गर्दाको प्रियंकामा के फरक लाग्यो ?
एटिच्युड प्रोब्लम होला कि भन्ने लागेको थियो तर त्यस्तो पाइनँ । त्यसपछि उहाँप्रतिको प्रभाव झन् बढ्यो । तर छायांकनमा मलाई गाली गरेर रुवाउनु भएकाले अलि चित्त दुखेको थियो ।
गाली किन ?
चलचित्र नाइँ नभल्नु ल ४ मा सजिलो सिनमा मैले धेरै टेक बिगारेँ । सायद इरिटेड भएकाले होला दिदीले गाली गर्नुभयो । म छिट्टै रोइहाल्छु । पछि उहाँले फकाउनुभयो ।
ग्ल्यामरस छवि भएका नायिकाको क्रेज बढी छ नि ?
मलाई चाहिँ ग्ल्यामरस छविको लोभ छैन ।
फिट एन्ड फाइन रहन के गर्नुहुन्छ ?
बिहान बेलुकी दौडने, खानपानमा अलि ध्यान दिन थालेको छु ।
फ्यानहरूबाट प्रेम प्रस्ताव कति आउँछ ?
फेसबुक एसएमएसमा धेरै आउँछ तर अगाडि आएर कसैले भन्न सकेका छैनन् ।
कतिपयको प्रस्ताव त लोभलाग्दो हुन्छ होला है ?
त्यस्तो हुन्छ । मेरो फोटो बनाएर, स्केज कोरेर विभिन्न सायरीसँग पठाउँछन् । खुसी लाग्छ । धन्यवाद भनिदिन्छु ।
काम गर्न सहज लाग्ने भिडियो निर्देशक ?
निकेश खड्का, विशाल भण्डारी, सहेन्द्र श्रेष्ठ ।
चलचित्रमा काम गर्न चाहेको निर्देशक ?
रामबाबु गुरुङ र निश्चल बस्नेत ।
आफ्नो सुधार गर्नुपर्ने पक्ष के लाग्छ ?
अलि मोटी भएकाले मेन्टेन गर्दैछु । अर्को मेरो डाइलग डेलिभरि पनि कमजोरजस्तो लाग्छ ।
चलचित्र क्षेत्रमा लागेर जीवन बिताउन सकिन्छ जस्तो लाग्छ ?
हिरोइन भएर त रूप र बैंस भइन्जेलमात्रै हो । अभिनेत्रीका रूपमा काम गर्ने हो भने चाहिँ लामो समय काम गर्न सकिन्छ ।