व्यासभूमि चिनाउँन चलचित्र
दमौली : विश्वभरका हिन्दु संस्कृतिका अनुयायीको प्रमुख ग्रन्थ हो' चार वेद, अठार पुराण । त्यसका रचयिता हुन् महर्षि वेदव्यास । हिन्दुमात्र नभएर हिन्दु संस्कृतिमाथि रुचि राख्ने विश्वभरका मानिस यी ग्रन्थको अध्ययन गर्छन् । तर, यस्ता ग्रन्थका ग्रन्थकार महर्षि वेदव्यासको भूमिबारे भने उनीहरू बेखबरजस्तै छन् । तिनै महर्षिको जन्मस्थल दमौली व्यास गुफाको पहिचानका लागि पौराणिक तथ्यमा आधारित चलचित्र निर्माण गरिने भएको छ ।
व्यासभूमिको प्रचारप्रसारका लागि एकसय आठ फिट अग्लो मूर्ति निर्माण गरिने चर्चा चलेको आधा दशकभन्दा बढी भइसक्दा पनि ठोस काम हुन सकेको छैन । चलचित्र निर्माण गरेरै भए पनि व्यासभूमिलाई चिनाउने उद्देश्य राखिएको चलचित्रका कथाकार एवं व्यासका अध्येता काशीनाथ न्यौपाने बताउँछन् । 'यस पावन भूमिको प्रचारका लागि कि पर्यटक आउनुपर्छ हैन भने हामी नै उनीहरूमाझ पुग्नुपर्छ', उनले भने, 'हामी उनीहरूसमक्ष पुग्नका लागि चलचित्र नै उत्तम माध्यम हो भन्ने हाम्रो ठम्याइ छ ।' व्यासका बारेमा धेरै अध्ययन गरेर ग्रन्थसमेत तयार पारेका न्यौपानेकै पहलमा तयार पार्न लागिएको पौराणिक चलचित्रलाई वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले निर्देशन गर्ने छन् ।
चलचित्र निर्माणका लागि भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले आर्थिक स्रोत जुटाउने आश्वासन दिएका छन् । चलचित्र तयार पार्न व्यास क्षेत्र विकास कोष नामक संस्थाले सरोकारवाला विद्वान्हरूसँग छलफल चलाएको छ । 'चलचित्रलाई उत्कृष्ट र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सहयोग लिएका छौं', कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले भने ।
चलचित्रको स्क्रिप्टका लागि वरिष्ठ चलचित्र निर्देशक खरेलसहित व्यासका अध्येता न्यौपाने, युवा पण्डित गौतम, व्यास पराशर अन्न क्षेत्रका संरक्षक दामोदर बाबा, विद्वान्हरू मुकुन्दशरण उपाध्याय, डा. देवीप्रसाद सुवेदी, डा. जनार्दन उपाध्याय, प्राध्यापक नवराज कट्टेल, सम्पा उपाध्यायलगायत संलग्न टोली तयार पारिएको छ ।
करिब एक करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको चलचित्रका लागि आवश्यक लागत राष्ट्रिय परोपकार महासंघ नामक संस्थाले बेहोर्ने महासंघका अध्यक्ष एवं युवा पण्डित कमलनयन गौतमले बताए । चलचित्र निर्माणका सल्लाहकारमध्येका एक पूर्व प्रमुख निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलले व्यासभूमिको परिचयका लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।