सारीमा सुनिता आकर्षण
नेपाली लोकदोहोरीमा लोभलाग्दो उचाइ बनाएकी गायिका सुनिता दुलाल यतिखेर युनिलिभरको प्रस्तुति ‘सुपरस्टर धमाका' कार्यक्रमका लागि मध्यपश्चिम र सुदुरपश्चिम दौडाहामा छिन् । स्वदेशमा एवं विदेशमा उत्तिकै लोकप्रिय उनका गीतमात्रै होइन, पहिरन र स्टेज प्रस्तुतिले पनि दर्शकको ध्यान तान्ने गर्छ । सुनिता र सारी एकअर्काका परिपुरकजस्तै मानिन्छ । स्टेजमा पनि उनी प्राय सारीमा पुग्छिन् । सारीकी सोखिन सुनितासँग रामकला खड्काले गरेको कुराकानीको मुख्य अंशः
हिजोआजको दैनिकी ?
म अहिले युनिलिभर लिमिटेडद्धारा आयोजित सुपरस्टार धमाका कार्यक्रमका लागि मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा व्यस्त छु । गीत, नृत्य, नाटकमार्फत गाउँगाउँमा विभिन्न उत्पादन प्रयोगको बारेमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं । आफूले प्रयोग गर्ने सामग्रीमा लेबल टाँसेको छ कि छैन, कपाल नुहाउन साबुन होइन स्याम्पु प्रयोग गर्नुपर्छ, खानेकुराको म्याद मिति जाँच गर्नुपर्छ भन्ने कुरा कार्यक्रममार्फत सिकाउँदै छौं । पश्चिमपछि पूर्व जाने तालिका छ ।
कस्तो पहिरनमा आफूलाई सहज लाग्छ ?
मलाई सारी र ब्लाउज लगाउँदा मलाई सहज महसुस हुन्छ । दर्शकले पनि मलाई सारी मै मन पराउने हुनाले स्टेज कार्यक्रममा जाँदा प्रायः सारी लगाउने गर्छु । नेपाली लोकगीत गाउँदा सांस्कृतिक झल्को दिन सारी लगाउँछु । तीजका गीतमा पनि सकेसम्म सारीमा पनि डाँफे, लालीगुँरास राखेर बनाउँछु भने ब्लाउजमा चन्द्र सूर्य लगायतका चिह्न राखेर पोसाकमार्फत राष्ट्रियता झल्काउने कोसिस गर्छु ।
अनलाइन बुटिक व्यावसाय पनि गर्नुहुन्छ रे ?
हो, मेरा फ्यानका लागि अनलाइन बुटिक सञ्चालन गरेको छु । अमेरिका, क्यानडा, जापान, अस्टे«लिया, दुबई, हङकङलगायतका देशबाट मेरा प्रशंसकले सारीको अर्डर दिने गरेका छन् । पाँच वर्ष अगाडिदेखि मेरो फ्यान पेजमार्फत आउने सारीका अर्डर पूरा गर्ने गरेकी छु ।
विदेशमा रहेका फ्यानले कस्ता सारी मन पराउँछन् ?
मैले लगाएका हरेक सारी र ब्लाउज मन पराउँछन् । मैले बनारसी लगाए बनारसी नै चाहियो भन्छन्, अन्य कपडाको लगाए त्यस्तै बनाइदिन आग्रह गर्छन् । कतिपयले तपाईंले लगाएजस्तै सारी र ब्लाउज चाहियो भन्छन् । म त्यही अनुसार सामान बनाएर पठाइदिन्छु । कतिपयले दुलहीका लागि ब्राइडल सेट र दुलाहाको कोट पाइन्ट पनि मगाउने गर्छन् ।
तपाईंले डिजाइनिङको कोर्स गर्नुभएको छ कि ?
लिएको त छैन तर बुटिक खोल्नुअगाडि तालिम लिने सोच बनाएकी छु । अहिले मैले साथीसँग पार्टनरसिपमा काम गरिरहेको छु । भविष्यमा काठमाडौंमा बुटिक खोल्ने सोच बनाएको छु । कहिले आफूले विभिन्न अनलाइनबाट मन परेको डिजाइन हेर्यो, कहिले विभिन्न डिजाइनरको सल्लाहअनुसार सारी बनाउन दिने गरेकी छु । कहिलेकाहीँ बुटिकमा बनाएर राखेका सारीहरू हेरेर पनि डिजाइन दिने गरेकी छु ।
तपाइँलाई चाहिँ कस्तो सारी मन पर्छ ?
मलाई हल्का बोर्डर भएका, भरेका सारी मन पर्छ । धोती सारीहरू पनि मैले लगाउने गरेकी छु । प्रायः सिफन नै लगाउँछु । बनारसी पनि मन पर्छ । तर यसले अलि मोटो देखाउँछ । सिल्क जर्जेटदेखि सबै खाले कपडाका सारी मन पर्छ । ब्लाउज भने नेटको र धेरै भरेकै रोज्ने गरेको छु ।
तपाईंले बिक्री गर्ने र लगाउने सारीका रेन्ज कति छन् ?
मैले अनलाइनमार्फत १० देखि ७५ हजार रुपैयाँ पर्नेसम्म सारी बित्री गर्ने गरेकी छु । महँगो सारीमा ब्राइडलको पूरा सेट नै हुन्छ । कतिपयमा त गोल्ड प्लेटेड गहना पनि पर्छ । मैले दस बाह्र हजारदेखि अठार बीस हजारसम्मको सारी लगाउने गरेको छु । कहिलेकाहीँ हजार रुपैयाँको सादा एवं चार पाँच हजारको धोती सारी पनि लगाउँछु । यस्तो बेलामा ३५ सयदेखि पाँच हजारसम्मको ब्लाउज बनाउँछु । अनि सस्तो ब्लाउज छ भने महँगो सारी लगाउँछु । त्यसैले सारीको मूल्यभन्दा पनि त्यो लगाउँदा आफूलाई कत्तिको सहज हुन्छ र कत्तिको सुहाउँछ भन्ने कुरा महत्ववपूर्ण हुन्छ ।
विदेशमा कार्यक्रममा सारी लैजानुहुन्छ ?
लन्डनमा एउटा कार्यक्रममा जाँदा एउटै दर्शक सात ठाउँमा आउनुभएको थियो । त्यसैले म कार्यक्रममा सकेसम्म दोहोर्याएर एउटै लुगा लगाउन नपरोस् भनेर सुटकेसभरि लुगा लिएर जान्छु ।
अहिले सारीको ट्रेन्ड कस्तो छ ?
अहिले विशेषगरी ढाकाका सारीहरू बेचिरहेको छु । भर्खर कलेज पढिरहेका बहिनीहरू पनि ढाका बुनिरहेका छन् । त्यसैले नेपाली उत्पादनलाई विदेशमा प्रवद्र्धन गर्न मैले ढाकाको सारी बनाउन थालेकी हुँ । कहिले सारीमा ढाकाको बोर्डर हाल्ने, ढाकाको ब्लाउज बनाउने त कहिले पूरै सारी ढाकाको बनाउने गरेको छु । ढाकाको एउटै सारी बनाउन दुई महिनाजति लाग्छ । जति धेरै र गाह्रो बुट्टा हुन्छ, मूल्य पनि त्यति नै बढी हुन्छ ।