कबड्डी निर्वाचनमा अदालतको कारण देखाऊ आदेश
काठमाडौं : नेपाल कबड्डी संघको आजका लागि तय गरिएको निर्वाचनका सम्बन्धमा पाटन उच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्लाई कारण देखाऊ आदेश जारी गरेको छ । संघका अध्यक्ष लालकुमार लामाले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोगले गत फागुन २५ गते युवा तथा खेलकुद मन्त्रालयको नाममा परिषद् तथा त्यस मातहतका निकायमा निर्वाचन नगर्न पत्राचार गरेको थियो । सोही निर्देशन अनुरूप परिषद्को कर्मचारी संघको निर्वाचन रोकिएको थियो । तर परिषदन्तर्गतकै कबड्डी संघको चुनाव गर्न भने परिषद्ले स्वीकृति दिएको थियो ।
परिषद्ले गत साउन १३ गते तदर्थ समितिको अध्यक्ष बनाइएकी तुलसा थापालाई नै भावी अध्यक्ष बनाउन निर्वाचनको नाटक रचिएको लामाले बताए । 'आधिकारिक अध्यक्ष मैं हुँ । २५ जिल्लाका प्रतिनिधि मेरो पक्षमा छन् ।
उनीहरूले फर्जी प्रतिनिधि बनाएर निर्वाचन नाटक गरेका छन्' लामाले अन्नपूर्ण पोस्ट्सँग भने । लामाले विवादित ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको इसारामा निर्वाचन आचारसंहित लागेपछि चुनावको नाटक रचिएको बताए ।