पशुपतिनाथ : हिन्दु-गैरहिन्दुका साझा देव
हिन्दुहरूले आराध्यदेव मानेका पशुपतिनाथ नेपाल राष्ट्र, नेपाली राष्ट्रियता र सर्वधर्मसमभावका प्रतीक मान्न सकिन्छ । शास्त्रहरूमा भगवान् शिवले दु:खजति आफूले पचाएर सुखजति जगत्को कल्याणमा लगाएको पढ्न पाइन्छ । यो नै शिवको महानता, आदर्श र मर्यादा हो ।
सांख्य दर्शनअनुसार प्रकृति र पुरुषको संयोजनबाट यस चराचर जगत्को सृष्टि भएको छ । (शर्मा, १९८४ : ५२७) । यसैगरी श्रीदेव्याथर्वशीर्षले 'प्रकृतिपुरुषात्मकं जगत्' भनेको छ (शास्त्री, २०५७ : ४४) । 'प्रकृति पुरुषात्मकं जगत्' यस दार्शनिक सिद्धान्तलाई शैव संस्कृतिले शिवलिंग र योनीको प्रतिकृतिबाट मूर्तरूप दिएको छ । लिंग पुंतत्व अर्थात् पोजिसन र योनीचाहिँ स्त्रीतत्व अर्थात् निगेसन हो ।
आधुनिक विज्ञानले पनि इलेक्ट्रोन, प्रोटोन र न्युट्रन, यी तीन तत्वको संयोजनबाट यस जगत्को संरचना भएको मानेको छ । अत: लिंगपूजा र योनीपूजाको परम्परा ज्यादै पुरातन एवं आदिम छ ।लिंगपूजाको प्राचीनतालाई खोज्दै जाँदा सैन्धव सभ्यता र संस्कृतिमा पुग्छौं । सिन्धुघाँटीमा प्राप्त पद्मासनमा बसिरहेको, उन्नत खालको उध्र्वलिंग भएको, टाउकोमा राँगाको बडेमानको सिङ जडेको र वरिपरि विभिन्न पशुहरूले घेरिरहेको पुरुष मूर्तिलाई पशुपतिको मूर्ति मानिएको छ ।
लिंगपूजा र योनीपूजा सैन्धव संस्कृतिको प्रमुख विशेषता हो । प्रारम्भमा लिंगपूजाप्रति वैदिक आर्यहरूको सकारात्मक मान्यता रहेको देखिँदैन । ऋग्वेदको 'मा शिश्नदेवा अपि गुर्ऋतं न:' अर्थात् लिंगमा पूजा गरिने देवताबाट पनि हाम्रो कल्याण हुँदैन भन्ने उक्ति यस सन्दर्भमा स्मरणीय छ । यसैगरी शुक्लयजुर्वेदको शतरुद्रीय स्तोत्रमा आएर मात्र शिवको उल्लेख पाइन्छ । अत: सैन्धव सभ्यता र संस्कृतिलाई प्राग्वैदिक एवं आर्येतर सभ्यता र संस्कृति मानिएको छ (मजुम्दार, रायचौधरी र दत्त, १९६७ : २०-२३; त्रिपाठी, १९७१ : १८) । आर.जी. भण्डारकरका अनुसार महाभारतकालमा आएपछि आर्यहरूले रुद्र-शिवको लिंगपूजालाई राम्ररी अपनाएका थिए (भण्डारकर, १९८३ : १६०-१६४) ।
शैवमतमा विस्तृत अध्ययन गरेका डा. यदुवंशीका अनुसार ऋग्वेदको रचनाकालपछि यजुर्वेदको रचनाकालभन्दा अघिको समयमा हिमालयको निम्न पर्वत श्रेणीको उपत्यकामा बसोबास गर्ने किरातहरूका देवतासँग वैदिक रुद्र देवताको समन्वय भयो र त्यसको परवर्ती विकसित रूप नै शैवमत हो (यदुवंशी, २०४५ : १५, ३०-३१) ।
अहिले सैन्धव सभ्यता र संस्कृति खण्डहर भइसकेको छ । पुरातात्िवक अध्ययनको एउटा विषयको रूपमा मात्र त्यसको अवशेष बाँकी छ । तर, नेपालमा भने अहिलेसम्म पनि लिंगपूजा र योनीपूजा जीवन्त अवस्थामा रहिरहेको छ । पशुपतिनाथमा लिंगपूजा र गुह्येश्वरीमा योनीपूजाको राम्रो नमुना देख्न पाइन्छ ।
नेपालको पशुपति, आर्यघाटमा हरिणेश्वरको प्रस्तरमूर्ति अवस्थित छ । हरिणेश्वरको यो मूर्ति केवल नेपालको मात्र नभएर विश्वकै प्रस्तरमूर्तिको विकाशको पहिलो उन्मेष हो । अत: पशु आकृति (थेरियोमोर्फिक फर्म)को यो प्रस्तरमूर्ति नै पशुपतिको आद्य मूर्ति हो । पशुपतिपुराणमा बाग्मतीको किनारामा पशुपतिनाथको चार शिरवाला मूर्ति देखेपछि म्लेच्छ भक्तहरूले त्यस मूर्तिको राम्ररी पूजा गर्ने छन् भनिएको छ । यस सन्दर्भमा म्लेच्छ भन्नाले किरात भन्ने बुझिन्छ (रिसाल, २०२९ : १२४-१२५) ।
भाषा वंशावलीमा निमिष्टांकर नामक लिच्छवि राजाले किरातहरूलाई जितेर शास्त्रोक्त वाक्य अर्थात् वैदिक विधिले पशुपतिनाथको पूजा गराएको उल्लेख छ (पौडेल, २०२० : ५२) । पशुपतिमा बाग्मतीको पूर्वी किनारामा अवस्थित भगवान् वज्रेश्वरको पूजा विधान उल्लेख भएको अभिलेख पाइएको छ (वज्राचार्य, २०३० : ४८१-४८४) । त्यस अभिलेखको आधारमा लिच्छविकालमा गरिने भगवान् श्री पशुपतिनाथको पूजा विधानबारे केही अनुमान लगाउन सकिन्छ । त्यस बेला पाशुपतहरूले तान्त्रिक विधि र ब्राह्मणहरूले वैदिक विधिद्वारा भगवान् श्री पशुपतिनाथको पूजा गरेको बुझिन्छ । मल्लकालको अन्तसम्म सन्न्यासीहरू पशुपतिनाथका पुजारी थिए । जगज्जय मल्लको समयदेखि दाक्षिणात्य भट्ट ब्राह्मणहरू पशुपतिनाथका पुजारी भए (नेपाल, २०४३ : ३३) ।
अब यसको तात्िवक अर्थ के हो ? त्यो बुझ्न आवश्यक छ । शिव उपासनाका गौड, काश्मीरी र केरल यी तीन पद्धति छन् । गौड (बंगाल) पद्धति बौद्ध पद्धति हो । काश्मीरी पद्धति जैन पद्धति र केरल पद्धतिचाहिँ वैदिक पद्धति हो (वंशी, २०२४ : २३६) । केरल पद्धतिको केन्द्र श्रृंगेरी मठ हो । अत: केरल अर्थात् वैदिक पद्धतिअनुसार पशुपतिनाथको पूजाअर्चना गर्नका लागि दाक्षिणात्य भट्ट ब्राह्मणहरूलाई पुजारी राखिएको हो । केरल पद्धतिबाट पूजा गरिए पनि पशुपतिनाथमा पाशुपतमतको प्राधान्य रहेको छ । अत: पाशुपतदीक्षा लिएपछि मात्र भट्ट र भण्डारीहरू पशुपतिनाथको मन्दिरभित्र पस्न पाउँछन् ।
अंशुवर्माको समयदेखि लिच्छविकालीन शासकहरूले 'भगवत्पशुपतिभट्टारकपादानुग्रिहीतो प्रशस्ति' धारण गर्न थाले (वज्राचार्य, २०३०:२९०-२९१) । मल्लराजाहरू ' श्रीमत्पशुपतिचरणकमलधूलीधूसरितशिरोरूह' प्रशस्ति धारण गर्दथे । केशर पुस्तकालयमा पाइएको संक्षिप्त गोपाल वंशावलीमा राघवदेवको सन्दर्भमा चर्चा गर्दा 'तेन पशुपतिभट्टारकेणसंवत्सरप्रवृत्तिकृत:' भन्ने उल्लेख पाइन्छ । यसबाट पूर्वमध्यकालमा राघवदेवको समयमा शंखधर साख्वाले भगवान् श्री पशुपतिनाथको नामबाट नेपाल संवत् प्रवर्तन गरेको बुझिन्छ ।
तन्त्रको विकास भएपछि एकातिर शैवतन्त्र र बौद्धतन्त्रमा नजिकको समन्वय कायम भयो भने अर्को तिर पशुपतिनाथको पूजामा तन्त्रले प्रभाव पार्यो । यसअनुसार पशुपतिनाथको उध्र्वमुखमा श्रीयन्त्र लेखेर त्यसमा परम भट्टारिका राजराजेश्वरीको पूजा गर्ने परम्परा विकास भयो । श्रीयन्त्रमा बौद्ध दर्शन र चार्वाक दर्शनको समेत पूजा गरिन्छ (भट्टराई, १९६८ : १६) । तन्त्रशास्त्रका षट् अम्नाय मध्ये अधर अम्नायका चक्रनायिका तारा र भैरवचाहिँ अक्षोभ्य हुन् । यही अधर अम्नायबाट बौद्धतन्त्रको विकास भएको हो (भट्टराई, त्यही : ४१६) । अत: बौद्धतन्त्र पाशुपततन्त्रभन्दा भिन्न छैन । नेपालका बौद्धहरू भगवान् श्री पशुपतिनाथको दक्षिण मुख अघोरलाई वज्रपाणि बोधिसत्व मान्दछन् । वज्रयानी बौद्ध मतअनुसार वज्रपाणि बोधिसत्व नागकुलका नाथ हुन् । नाग पशुपतिनाथको गहना हो । पाताललोकलाई नागलोक मानिएको छ । पाताललोक दक्षिण दिशामा अवस्थित मानिएको छ । अत: नेपालका बौद्धहरूले पशुपतिनाथको दक्षिणमुख अघोरलाई पातालवासी नागकुलका नाथ वज्रपाणि बोधिसत्व मानेका हुन् ।
सिन्धुघाँटीमा प्राप्त पद्मासनमा बसिरहेको, उन्नत खालको उध्र्वलिंग भएको, टाउकोमा राँगाको बडेमानको सिङ जडेको र वरिपरि विभिन्न पशुहरूले घेरिरहेको पुरुष मूर्तिलाई पशुपतिको मूर्ति मानिएको छ ।
रुद्रयामलतन्त्रमा भगवान् शंकरले महाचीनमा बुद्धरूप लिएको वर्णन छ (ज.व.रा., २०२० : ११६-१२२) । अत: रुद्रमामलतन्त्रको त्यस विधान अनुसार वर्षमा एकपटक पशुपतिनाथलाई बुद्धरूपी शंकरको रूपमा वन्दना गर्ने परम्परा छ । नेपालका बौद्धहरू कार्तिकशुक्लअष्टमीलाई मुखअष्टमी भन्दछन् । नेपालभाषामा मुखको अर्थ मुकुट हो । अत: त्यस दिन पशुपतिनाथलाई बुद्धको मुकुट पहिर्याएर भगवान् बुद्धको रूपमा पूजा गरिन्छ भन्ने बौद्धहरूको मान्यता रहेको छ (शाक्य, १०९८ : ८५) तर आजकल कार्तिकशुक्लअष्टमीका दिन पशुपतिनाथ मन्दिरमा त्यस्तो कुनै विधि संस्कार गरेको देखिँदैन ।
माघशुक्लचतुर्दशीका दिन छायादर्शनको अवसरमा भगवान् श्री पशुपतिनाथलाई पञ्चरंगी कपडा र पञ्चरंगी धागोले तयार पारिएको मुकुट पहिर्याइन्छ । आजकल त्यस मुकुटलाई कैलाश कुसुम भनिन्छ । त्यस दिन पशुपतिनाथलाई भगवान् बुद्धको रूपमा पूजा आराधना गर्न बौद्ध धर्मावलम्बीहरू पशुपतिनाथ मन्दिरमा जान्छन् (टण्डन, २०५३ : १४८-१४९) ।
शिवदेव द्वितीयको गोरखाको गोरखनाथ गुफास्थित संवत् १२२ को अभिलेखमा पञ्चरंग चित्रकर्मद्वारा वज्रभैरव भट्टारकको कारण पूजा गरिने विधानको उल्लेख छ (वज्राचार्य, २०३० : ५२३-५२५) । पञ्चध्यायनी बुद्धसँग पञ्चरंगको सम्बन्ध रहेको छ । पञ्चध्यानी बुद्ध रूपादि पञ्चस्कन्ध र पञ्चतत्वका प्रतीक हुन् । यसैगरी भगवान् शिवका पञ्चवक्त्र पनि पञ्चतत्वका प्रतीक हुन् । अत: पञ्चरंगसँग पञ्चवक्त्र शिवको सम्बन्ध रहेको छ । यसरी पञ्चवक्त्र शिव र पञ्चध्यानी बुद्धका बीच तात्िवक अन्तरसम्बन्ध रहेको छ । यस सन्दर्भमा बुद्ध मुकुट भन्नाले पञ्चध्यानी बुद्धको मुकुट भन्ने बुझ्नुपर्छ । अत: छायादर्शनको अवसरमा भगवान् श्री पशुपतिनाथलाई पहिर्याइने पञ्चरंगी कपडा र पञ्चरंगी धागोबाट बनाइएको मुकुटलाई बौद्धहरूले बुद्धको मुकुटको रूपमा मानेको बुझिन्छ ।
लिच्छवि राजा नरेन्द्रदेवले पशुपतिमा आफूले बनाएको ठूलो धाराको हेरचाह गर्ने जिम्मा शिवदेव महाविहारका चातुर्दिक आर्यभिक्षुसंघलाई दिएका थिए (वज्राचार्य, २०३० : ४९९, ५०१) । जयदेव द्वितीयले पशुपतिनाथलाई चाँदीको अष्टपुष्पिका चढाएर आफ्नो वंशावलीसहित पशुपतिनाथ मन्दिरमा अभिलेख राखेका थिए । पद्यमय त्यस अभिलेखका रचयिता बौद्ध धर्मावलम्बी बुद्धकीर्ति थिए (वज्राचार्य, २०३० : ५५२, ५६१) । यसरी भगवान् श्री पशुपतिनाथ र पाशुपतक्षेत्रको संरक्षण, संवद्र्धन र विकाशमा बौद्ध धर्मावलम्बीहरूको सकारात्मक भावना र सहयोग रहेको स्पष्ट हुन्छ ।
पशुपतिनाथको महास्नानमा मैथिली झा ब्राह्मणहरूको अग्रसरता रहेको हुन्छ । पशुपतिनाथलाई महास्नानको महाभोग अर्पण गर्दा पशुपतिनाथ मन्दिरको दक्षिणढोकाको सामुन्ने रहेको धर्मशिलामाथि कुसुले नाइकेले जटा नरिवलभित्र राखिएको नन्दीको सुनको प्रतिमा राख्दछ र त्यसै प्रतिमामाथि महाभोगको भुजा थुपारेर राखिन्छ । नन्दीको उक्त सुनको प्रतिमा कुसुले नाइकेकै जिम्मामा रहेको हुन्छ । महाभोगको भुजा पनि कुसुलेहरूले नै ग्रहण गर्छन् । पर्वपर्विणीहरूमा यी कुसुलेहरूले भगवान् श्री पशुपतिनाथको मन्दिरमा बाजा बजाउँछन् (टण्डन, २०५३ : १५४-१५५) ।
यी कुसुलेहरू प्राचीन पाशुपतमतका अनुयायीहरू हुन् । डा. गोविन्द टण्डनका अनुसार पाशुपत क्षेत्रमा आयोजना गरिने देशोद्धारपूजामा राजोपाध्यायदेखि लिएर वैद्य, राजभण्डारी, शाक्य, डंगोल (ज्यापू), मानन्धर र संगत (धोबी) पर्यन्तको पूर्ण सहभागिता हुन्छ (टण्डन, २०५३ : ५२५) । तर हालैको क्षेत्रगत अध्ययनबाट देशोद्धारपूजामा राजोपाध्याय, वैद्य, राजभण्डारी, डंगोल (ज्यापू) तथा खड्गीको सहभागिता रहने र खड्गीको हातबाट राजोपाध्याय, वैद्य, राजभण्डारी एवम् डंगोल (ज्यापू) ले राँगाको टाउकाको सिउ (शिरोभाग) ग्रहण गर्ने परम्परा रहेको र त्यसमा कुनै जातिभेद नरहेको थाहा पाइएको छ ।
जातीय सम्मिलन नै नेपालको राष्ट्रिय एकता हो । यसरी पशुपतिनाथको विधि, व्यवहार र कर्म संस्कारमा जातीय मि श्रण एवं राष्ट्रिय एकताको भावना पाइन्छ, जुन कुरा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकासका लागि नितान्त आवश्यक छ । यस राष्ट्रिय आवश्यकताको परिपूर्ति पशुपतिनाथको विधि व्यवहार र कर्म संस्कारमा पाइने हुनाले पशुपतिनाथ नेपालका राष्ट्रदेव हुन् ।
(डा. गुरुङ इतिहास र संस्कृतिका ज्ञाता हुन् ।)