जहाँ स्वास्नीको शासन चल्छ
कठोर शिला खोपेर भुवाझैं चल्छ जीवन । मध्य एसियाको उष्ण उपत्यकामा चल्मलाइरहेछ जीवन । तिब्बतको पठारमा पुगेर लडीबुडी खेल्ने मन छ । हिमराशमा जीवन सेकाएर नवजीवनको मजा लिने मन छ । हिमालहरू चम्किला आँखाहरू बिछ्याउँदैछन् परपरदेखि । हिमवायुले चुमिरहेछ शिरदेखि पाइलासम्म । हिमजलको स्पर्श छ पँधेराहरूमा, कुलाहरूमा र नदीहरूमा । हिउँकै लेदोमा ब्यूँतिएर बुर्कुसी मार्दैछ अलि पर कालीगण्डकी ।
'छु... छुस्... छु... छुस्...' गोठालाहरू भेडा धपाउँदैछन् । हामी लोमान्थाङ बसपार्क अघिल्तिरको ठुलो ढुंगामा बसिरहेछौं । जमिन नै थर्थराउँदै हिँडेझैं देखिँदैछ चलायमान भेडाका बथानहरूको । हूल हूल घोडाहरू निस्किँदैछन् लोमान्थाङ सहरबाट । खच्चडका ताँती धुलो उडाउँदै बस्तीबाट निस्किन्छन् र चर्दैचर्दै चरनतिर फैलिन्छन् ।
गाउँदैछन् गोठाला गोठाल्नीहरू । गोठालाको एक हातमा लट्ठी र अर्को हातमा मुगामाला छ । उनीहरू पशुहरूलाई हकार्छन्, पिट्छन् र जप्न थाल्छन्, 'ओम मणि पद्मे हुँ ।''एक हातमा बुद्ध, अर्को हातमा बम', देख्दैछु उनीहरूको चालामालामा ।
मिर्मिरे उज्यालोलाई अझ धूमिल बनाउन खोज्दैछ कुहिराले । भुसभुसे पानीले ताजा पार्दैछ शरीरलाई ।
'ए... ए ... ए... लौ न, मार्यो', ढुंगाबाट ब्वांग हामफाल्नु र पाँच याक हुर्दुरिँदै त्यहाँ पुग्नु एकैपटक परेछ । झन्डै आन्द्राभुँडी छिल्लबिल्ल पारिदिएका पड्केहरूले । मेरो डर, डर नै थियो । ती सुधा याकहरूले फुँसम्म गरेनन् । 'ए छाम् छाम् तेरो मुटु कहाँ होला र ज्यानमा, खस्यो होला त्यतैतिर ।
जाबो याकदेखि त्यस्तो आत्तिने ! म त अहिल्यै पाँच याक र पाँच घोडा पुक्लुक पुक्लुक ढालिदिन्छु', भीडमा उभिएको एकजना दाइले जिस्क्याए । पूर्वउत्तर न्यानोलतिरको डाँडोबाट घाम ओर्लनेबित्तिकै लोमान्थाङ पर्खालबाहिर बस बिसौनीमा टुप्लुक्क झुल्कियो जिप । हामीले प्रतिव्यक्ति पन्ध्र सय रुपियाँ दरमा चैलेसम्म टिकट किनिसकेका थियौं । टिकट काटे पनि समितिका मान्छेले जुनमा भने त्यही सिटमा बस्नुपर्ने रहेछ । घचेटाघचेट गर्दा हिमरस बगेको कुलोमा गाडिए मेरा खुट्टा । पिइहालूँझैं कञ्चन थियो पानी तर चिसोले कुटुकुटु टोकिरह्यो ।
जिप रोकिएको केही बेरमै मान्छेको ताँती थुप्रिन थाल्यो लोमान्थाङ बसपार्कमा । दिनमा एउटा मात्र जिप चल्ने लोमान्थाङमा त्यति धेरै मान्छे किन जम्मा भए होलान्— बेलायती नागरिक डानियल स्टुरिज र म दुवै चकित भयौं । पन्ध्रसोह्र वर्षकी युवती उभिएकी छन् बैंसको रूखछेउ । हजारौं संख्याका मान्छेले खादा ओढाइरहेछन् । आशीर्वाद दिइरहेछन् । 'ओहो, जीवित देवी भनेको यिनै हुन् कि कसो ? के विधि सम्मान, के विधि दक्षिणा !' चकित छन् डानियल ।सँगै बसेकी छाक्पा छोम्जुङ दिदीसँग सोधेँ मैले ।
'यिनी मुस्ताङे राजा जिग्मे परवल विष्टकी नातिनी साइनो पर्छिन् क्या । यसपालि एसएलसी पास गरेकी, क्याम्पस पढ्न काठमाडौं जान लागेकीले सबैले बिदाइ गरेको ।' लोमान्थाङवासी आफूलाई एउटै परिवारको मान्दा रहेछन् ।सबैको बिदाइ बोकेर सोनाम बहिनी गाडीभित्र छिरिन् । खरखरी गनिन् नोट ।'बहिनी, कति भएछ ? ' नसोधेको भए पनि हुन्थ्यो; सोधेँ ।'तीन लाख छत्तीस हजार', नढाँटी जवाफ दिइन् बहिनीले ।
दिने मामलामा मनकारी रहेछन् लोमान्थाङवासी । गाडी गुड्यो लोमान्थाङ बजारबाट ।लामो यात्रामा गाडी पनि एउटा घरजस्तो बन्छ । त्यसभित्रका यात्रुहरू एकै परिवारजस्तो ।हामी चढेको गाडीमा दुई विदेशी र दस नेपाली छौं । अब विस्तारै परिचय सुरु हुन्छ । आत्मीयता बढ्छ । मार्चुङ नदीलाई बायाँ पारेर कुद्दैछ हामीलाई बोकेको गाडी । लोमान्थाङभन्दा धेरै माथि उत्तरतिरबाट झर्दो रहेछ मार्चुङ नदी ।
पछि दामोदर कुण्डबाट झरेको नदी कालीगण्डकीमा मिल्ने भएकाले स्थानीय परिस्थिति नबुझ्नेहरूले माथितिर पनि कालीगण्डकी नै भनिदिँदा रहेछन् । मार्चुङको अर्थ 'माउ नदी' हो । त्यसमा सयौं नदी मिसिँदै कालीगण्डकी बन्ने रहेछ । मार्चुङ कविताका लहरहरू फिजाउँदै निरन्तर बगिरहेछ ।
गाडी हिँड्नुअघि नै लोमान्थाङमा किनेको पोलिथिन झोला खोले टासी बहिनी र कुंगा भाइले ।
'किन खोल्नुभएको झोलाको मुख ? ' मैले सोधेँ ।
'बान्ता आउला भनेर', दुवैको जवाफ आयो एकैपटक । 'म भएको ठाउँमा बान्ता आउँदैन, ढुक्क हुनुहोस्', पक्का जसरी बोलेँ म ।चराङ, ढाङ्मर, घमी, स्याङ्मोचेन हुँदै चैले पुग्दा पनि दुवैलाई बान्ता आएन ।
'सर तपाईं झाँक्री हो कि क्या हो ? हाम्रो ठूलो रोग निको पारिदिनुभयो', चकित भए भाइ ।'यो जादु, टुना केही होइन । डर झिकेर फालिदिनुहोस्, सबै ठीक हुन्छ', मैले बताएँ ।
बिस्तारै लोमान्थाङ सहर टाढिँदैछ हामीबाट । छोर्तेन, चैत्य, गुम्बा र बौद्ध मन्त्र लेखिएका ध्वजापताकायुक्त लुङ्दरहरूको फरफराहट पनि टाढिँदैछ । सहरका कुनाकानी र वरपरका पहाडी थुम्काहरूसम्म टाँगिएका बौसूत्रका रंगीबिरंगी गति टाढिँदैछ । ढुंगाका गाह्राहरू, माटाका छानाहरू, छानामाथि चौकुना ढाकेर चट्टा बनाइएका दाउराका चाङहरूले निम्त्याएका नवीन बस्तीचित्रहरू टाढिँदैछन् । गुम्बा, दरबार, घर, चैत्य सबै माटाले कलात्मक रूपमा निर्मित छन् लोमान्थाङमा । त्यो पवित्र माटाको सुन्दर सहर बिदा भयो हामीबाट, हाम्रै मुटुमा सजिएर ।
तिब्बती संस्कार, संस्कृति, भूगोल र परिस्थितिको उपस्थिति त्यो सानो तिब्बतसँग टाढिँदैछौं हामी ।
अघिल्तिर मुस्कुराइरहेका छन्- तृणहीन नीलिम पहाडहरू । नीलिम आकाशमुनि नीलिम पहाडहरू आफैंमा मोतीका पहाडझैं चम्केका छन् । घाम निर्लज्ज लडिरहेछ त्यही नांगा पहाडहरूमा ।
उच्च हिमाली मरुभूमिको स्वाद चाख्नेहरूका लागि गन्तव्य हो— माथिल्लो मुस्ताङ । घाम, छाया, बादल र पहाडका कुमारी दृश्यहरूसँगै चराहरूका नुपूर आवाज र खोलाखोल्सीको अनन्त मूच्र्छना ब्यूँझिइरहने ठाउँ पनि हो माथिल्लो मुस्ताङ । आँखाले निल्छु म उनलाई, मनले चाट्छु म उनलाई, हातपाउले लिन खोज्छु उनका स्वाद । 'यतातिर सबै तिब्बती रहनसहन छ ।
लोमान्थाङमा तीन लजालु लोग्नेहरू देखेपछि मैले तराई र पहाडका लजालु बुहारीलाई सम्झिएँ । तिनै भाइकी साझा पत्नी अन्दाजी पचास वर्षजतिकी पेमाढोमा भकुर्दैछिन् आफ्नो कान्छो लोग्नेलाई । कान्छो लोग्नेले माफी मागेर एक वर्ष व्यापार गरेर कमाएको तीन लाख पचास हजार रुपैयाँ पेमालाई चढायो । बल्ल पेमा केही मत्थर बनिन् । जेठो र माहिलो लोग्ने लुगलुग कामेर बसिरहे ढुंगामाथि ।
बौद्ध बोन-पो तथा ताओ धर्मको फैलावट क्षेत्र हो लोमान्थाङ । तिब्बती चलनमा थरलाई त्यति महत्व दिइँदैन । तिब्बती मूलका लोवा जातिको बाहुल्य छ यहाँ । सरकारले नागरिकता बाँड्दा हामी सबैको थर 'गुरुङ' भनिदियो । संस्कारविरुद्धको चलन चलाएर हाम्रो संस्कृति बिगार्न खोज्दैछ सरकार ।' अक्रोश आयो भाइबाट । राजा जिग्मेका भान्जा सुरेन्द्र विष्टको पनि सहमति देखियो आंगेल भाइको कुरामा ।
संस्कार भत्काइदिनु नश्ल नै निमिट्यान्न पार्न खोज्नु हो ।स्याङ्मोचेन पुग्न लाग्दा जाँगर फक्रेको देखिन थाल्यो मान्छेको । ग्लास हाउसमा फलेका देखिन्छन् काउली, बन्दा, साग र गोलभेडा । नांगा पहाडहरूमा सल्बलाउँदै चरिरहेछन् बाख्राहरू र हिनहिनाउँदै उफ्रिरहेछन् घोडाहरू । संसार ढाकिएको छ बालुवाले । जतासुकै तृषित छ जमिन । जाँगर जागेको छ । ग्रिन हाउस सुरुङमा तरकारी फलाइरहेछन् । खाडी मुलुकहरू कतार, साउदी अरेबिया, जोर्डनतिर देखेथेँ मैले । हेर्दा लोमान्थाङ त्यस्तै लाग्छ, भोग्दा त्यस्तो होइन । शीतल छ । भर्खर सफा पानीले नुहाएर ताजा बसेजस्तो छ । यहाँ उमार्नसक्ने धेरै छन्, उचाल्न सक्ने धेरै छन् ।
अलि माथितिर हामीलाई नै एकोहोरो हेरिरहेछन् हिमशृंखलाहरूले ।'हेर्नुहोस् त संसारका सबै घटना देखिन्छन् यी जलकलाहरूमा', अलल्ले उर्लेका छालहरू देखाउँछु म ।'सहर पसेपछि मान्छे लोभी, पापी, धूर्त र स्वार्थी बन्छ, त्यसैले म सहर पस्दिनँ । पसिहाले पनि बस्दिनँ', भाइको निचोड हो त्यो ।
धुवासँगै सल्बलाएको देखियो भञ्ज्याङबाट स्याङ्मोचेन गाउँ ।दक्षिणतिर देखाछिन् टासी बहिनीले दामोदर हिमाललाई । हिमरोशनीले नयाँ रङ थप्दैछ सूर्यको किरणलाई । त्यतैबाट झर्दैछन् श्वेत धाराका असंख्य धर्साहरू । चुचुरालाई चुम्दै टाढिँदै, टाढिँदै चुम्दै गर्दैछ एक भुल्का कुहिराले । सदाबहार श्वेत सौन्दर्य कदापि नथाक्ने हिमयाम बनेर उभिएको छ । शब्दमा बयान गर्न गाह्रो छ, त्यो नीलिम नभ र श्वेत संसारको समुन्नतिलाई । त्यही देखेर लेखे होलान् हाम्रा पुर्खाले तिब्बततिर स्वर्ग छ भनेर । मैले आँखा गाढेर हेरेँ । ती लजाइन् र ओढिन् एउटा रंगीन बर्को ।
दामोदर हिमशृंखलाले पनि हेरिरह्यो मलाई । म हेरेर अघाइनँ । 'शुष्कमा पनि छ सुन्दर जीवन', सुसाउँदै भनिरह्यो वायुले ।'माटामा जत्तिको ओजिलो रङ अन्त कहाँ पाइन्छ र ? 'नांगै लमतन्न सुतिरहेका पहाडहरूले जुलुसकै आवाजमा बोले । दायाँतिर सुनौला पहाडहरू लामबद्ध छन्, बायाँतिर रक्तिम पहाडहरू र अलि पर पूर्वतिर टल्किरहेछन् चाँदीजस्ता पहाडहरू ।
मरुभूमि रङमा सपनाहरू सुगन्धित बनाउने तागत मिल्छ मलाई । लोमान्थाङ ! म तिमीलाई तन दिइरहेछु, मन दिइरहेछु र दिइरहेछु मेरो सर्वस्व । मरुभूमि होस् वा मरुद्यान, शिखर होस् वा खोँच, परिधानयुक्त होऊ वा परिधानविहीन, आँखाबाट हर्षका वा पिरका पउल बगाइरहेकी होऊ वा घाम जूनको रोशनीभन्दा अझ चम्किरहेको अनुहार— म मक्ख बनिरहेछु तिमीसँगको यात्रामा । मेरो उपस्थितिमा तिमी लजायौ, लजाइरह्यौ । 'ओ ! भ्रागौम्जिन, भ्रागौम्जिन', गाडीबाट नै फाल हालूँला जस्तो गरी उफ्रिए रोय हड्सन । 'लुक लुक' अलि पर ढुंगामाथि मुन्टो ठड्याउँदै चल्मलाइरहेका मुसाहरू देखिए ।
'हाम्रो लिँडे मुसालाई भ्रागौम्जिन भन्दा रहेछन् यिनीहरू', बोले कर्मा लामा । त्यति चिसो हिमालमा बाँच्न सक्नु भ्रागौम्जिनहरूको साहस मान्नैपर्छ । 'ती मुसाहरूले पालैपालो तिखो स्वरमा चिर्रर आवाज निकाल्दा त्यो शान्त वातावरणमा अरू सुन्दरता थपिँदो रहेछ । 'यो त हिमाली बुद्ध नै हो । एक्लै बस्छ । असारदेखि असोजसम्म घाँस बटुलेर दुलोमा राख्छ । हिउँदमा आफू खान्छ र अरू साना कीरा फट्याङ्ग्रालाई पनि खान दिन्छ । हिउँचितुवा, न्याउरी मुसा, चिल, गिद्ध, फ्याउराहरूले यसलाई नै खाइदिन्छन् ।
यो त साँच्चै हिमाली भिक्षु हो । आफू दुःख सहेर अरूलाई हँसाउने, आफू मरेर अरूलाई बचाउने । पहिलेपहिले त असाध्यै देखिन्थे यस्ता मुसाहरू, अचेल सारै कम देख्न पाइन्छ । हिमालमा तातो बढेकाले यिनीहरू मर्न थाले भन्छन् । यिनीहरू मर्न थाले भने हामी पनि कसरी बाँचौंला ख्वै हिमालमा ? ' दुलोमा छिर्दै, ढुंगामा खुरुर्र दौडिँदै, रमाइरहेथे तीनीहरू । जीउमा रहेका पहेँला र खरानी रङका भुत्लाहरू, चम्किला आँखा, चुच्चे मुख र आकर्षक कानहरूले जोसुकैलाई नलोभ्याउने कुरै थिएन । 'हामी पैदल आउनुपथ्र्यो, बेकारमा गाडीमा आयौं', थकथकाए डानियल । पैदल हिँड्नु समयका प्रत्येक कित्ता नजिकबाट छाम्नु पनि हो । गाडीको आवाजले दुलो छिरेका भ्रागौम्जिनहरू हामी पर पुगेको थाहा पाएपछि फेरि ढुंगामा लजालु पाराले सल्बलाए ।
'हेर्नुहोस् त उ, बुद्धहरूको फेरि सम्मेलन सुरु भयो', मैले कोट्याएँ कर्मालाई । रोय र डानियलले सयौं तस्बिर खिचे र रमाए । अमेरिकाको उचिता पहाडमा प्रेरी माउस देख्दा म पनि उनीहरूजस्तै रमाएको थिएँ । 'ए भाइ, गाडी रोक गाडी, मान्छे नै मार्न दिनुभएन नि', बाहिरको हृदयविदारक दृश्यले क्वारक्वारी कोपर्यो हामीलाई । गाडी रोकिएपछि झटपट ओर्लियौं हामी ।
पिडौंलाको मासु च्यातिएको छ । पिठ्युँमा प्वाल परेको छ । पाखुरा दुवैमा दाँत गाडिएका खोपिल्टाहरू छन् । पेटमा गहिरा डामहरू छन् । साउने पखेरोबाट पानी झरेझैं बगिरहेछ जीउभरिबाट रगतको भेल । बाटाको बीचमा रहेको मेन्दोङ (माने लेखिएको पर्खाल) को छेका लाग्दै सर्पले निल्न आँटेको भ्यागुताझैं बुद्रुक बुद्रुक उफ्रिन्छ र जहाँको तहीँ लड्छ मिङ्मा ।
'तों बाँच्नुभन्दा ता मारेकै बेस् । कास्तो दिन बिहे गरेछु मोइले तोंसँग', टाउकादेखि गोलिगाँठासम्म लठ्ठीले सुम्ठ्याएको सुम्ठ्याइछिन् धावाले । घरि ढुंगाले घरि लात्ताले भकुर्ने क्रम जारी छ । 'ए बहिनी, त्यतिसारो नपिट्नू नि मान्छे मर्यो भने', बोलेँ म ।
'मारे मारोस्, यो मारे अर्कोसँग बिहे गर्छु मो', मुख र मुड्की असिनाझैं बर्सिरहेछन् धावाका ।अघिल्लो दिन घोडा चराउन डाँडापछाडि गएको रहेछ मिङ्मा । घोडा छोडेर रातभर चराङका साथीहरूसित मातेछ ऊ । बिहान घोडा पनि छैन, दोचा किन्न लगेको पैसा पनि छैन । अनि पो धावाले भालुकाँडे लट्ठी बजारेकी रहिछन् ।
'आबो यस्तो गार्दैन, माफ देऊ', हात जोड्दै छारेरोगले लर्खराएझैं गर्दैछ मिङ्मा । हामी देखेर सहाराको महसुस गर्दैछ तर लजाएको छ बेस्सरी ।सुरेन्द्र विष्टले सम्झाएपछि बल्ल रोकिइन् धावा । हामी नपुगेको भए एउटा मान्छे मृत्युको मुखमा जाकिन्थ्यो बिचरा ।
मान्छेले मान्छेलाई भकुरेको पहिलोपटक देखेका रहेछन् डानियल र रोयले । उनीहरू पो भूकम्पले हल्लाएको लिंगोझैं हल्लिइरहे र जिब्रो काढिरहे निकै बेरसम्म ।'पहाड र तराईतिर भए जति गल्ती गरे पनि लोग्नेले स्वास्नीलाई भकुर्छ', गाडी गुडेपछि मैले भनेँ । 'यहाँ त महिला सर्वेसर्वा हो । घरको कमाइ सबै महिलाको हातमा, लोग्ने, छोराछोरी महिलाकै इशारामा, महिलालाई भने प्रश्न गर्न पाइन्न कसैले पनि', आंगेल भाइको स्पष्टोक्तिले बल्ल खुल्यो मिङ्माले चुटाइ खान परेको रहस्य ।
'हिमालकी केटी र तराईको केटा बिहे गरिदिनुपर्ने रहेछ । त्यसो भयो भने बल्ल कोहीसँग कोही दब्न नपर्ने रहेछ हगि', मैले भनेँ । हो मा हो मिलाए टासी र आंगेलले ।नीलगिरि होटल, स्याङ्मोचेन लेखेको घरभन्दा अघिल्तिर हाम्रो गाडी रोकियो । साथीहरूले लोमान्थाङबाट हिँड्नुअघि नै फोनबाट खानाको अर्डर गरिसकेका रहेछन् हाम्रा लागि ।
मुलाको पुरानो अचार, लेकाली कालो दाल, लेकाली आलुको भुजुरी, चौंरीको घिउ र जौको ढिँडो- भोकको माझमा परेपछि खुर्मुरिँदै झरे पेटको भँड्खारोतिर ।'लौ अब कुनचाहिँ मारिने भो, कसको हातखुट्टा भाँचिने भो !' होटलमा काम गर्ने दुई भाइ माझ्दैका भाँडा छोडेर कुलेलम ठोके बाहिरतिर होटलका साहूसाहुनी, भात खाने ग्राहक र भरियाहरू सबै खुर्मुरिए होटलबाहिर । डानियल र रोय पनि हामीसँगै होटलबाहिर निस्किए ।
अन्दाजी पैंतालीस र चालीस वर्षजतिका दुई दाजुभाइ टुक्रुक्क बसेका छन् छेउको ढुंगामाथि । उनीहरूसँगै छेउमा बसेका छन् अन्दाजी बाइस, अठार र पन्ध्र वर्षजतिका तीन बच्चाहरू । आँगनमा लम्पसार लडेको छ कान्छो भाइ अन्दाजी तीस वर्षजतिको । ती तीनै भाइकी साझा पत्नी अन्दाजी पचास वर्षजतिकी पेमाढोमाले भकुर्दैछिन् त्यही कान्छो लोग्नेलाई । भाषा बुझिँदैन तर गाली बर्सिएको छ ।
कुटाइ यति निर्मम छ कि त्यो विचराको पनि ज्यान तग्लाजस्तो छैन । हेर्ने दर्शकहरू त बीस पच्चीसजना नै छन् तर सम्हाल्ने कोही छैन । लात्तीले हानेर लडाउँछिन् । बिरालाले मुसो उचालेझैं कपाल समातेर उचाल्छिन् र मुड्की चखाएर ढालिदिन्छिन् । विचरो कान्छो लोग्ने हायल कायल भयो । पेमाढोमाका तीन लोग्नेमध्ये कान्छालाई एक वर्षअघि व्यापार गर्न बौद्ध पठाएकी रहिछन् । त्यहीँ उसले अर्की केटी बिहे गरेछ । त्यसैबापत भकुराइमा परेछ ऊ ।
पेमाढोमाका भाषालाई नेपालीमा अथ्याईदिए मलाई पेमा रिन्जिन भाइले र त्यही अथ्र्याइरहेँ मैले रोय र डानियललाई । त्यो परिवार रहेछ लोमान्थाङको सबैभन्दा विकट चाम्जुङ गाउँको ।'तँ अब लोमान्थाङ काटेर बाहिर जान पाउनेछैनस् । त्यो केटीको नाममात्र उच्चारण गरिस् भने छोसेर खोलामा हालेर मारिदिन्छु । तँ अब तीन वर्षसम्म डाँडापछाडि बाख्रा, घोडा र खच्चर चराएर गोठालो बस् ।
तीन वर्षसम्म घर पनि आउन पाउन्नस् । ऊ त्यो कान्छो छोरा तेरो हो, मसँग छोरा पाउने, बिहे अर्कोसँग गर्ने, तँलाई अहिले नै यो ढुंगाले हानेर मारौं ? ', रौद्र रूप देखियो पेमाढोमाको । हिन्दु साहित्यमा वर्णित श्वेतभैरवी तिनै हुन् कि झैं लाग्यो मलाई । लुगलुग कामिरहेको रगतपच्छे शरीर बचाउने त्राण बोकेर ढुंगामाथि उक्लियो ऊ । त्यतै बजारिन् पेमाले बडेमाको ढुंगा । धन्न एक रौंले लागेन र पो । नत्र हेर्दाहेर्दै जीवन चट् उसको ।
हामीले पेमालाई सम्झायौं । उनको कान्छो लोग्नेले माफी माग्यो । उनले भनेभन्दा फरक केही नगर्ने कसम खायो । एक वर्ष व्यापार गरेर कमाएको तीन लाख पचास हजार पेमालाई चढायो । पेमा केही मत्थर बनिन् । उनको जेठो र माहिलो लोग्नेले एक शब्द निकाल्न सकेनन् । लुगलुग कामेर बसिरहे ढुंगामाथि । बच्चाहरू पनि बाजको अघिल्तिरको परेवाजस्तो सशंकित बनिरहे । बोल्यो भने कुनै पनि बेला आइपुग्नेछ आमाको झापु आफ्नै गालामाथि भन्ने उनीहरूलाई राम्ररी थाहा रहेछ ।
तीन लजालु लोग्नेहरू देखेपछि सम्झिएँ मैले तराई र पहाडका लजालु बुहारीहरूलाई ।बिस्तारै बादलको बर्को ओढ्यो स्याङमोचेनले । बिस्तारै जालोमा छोपिएको बत्ती बन्यो समय दर्शाउने डुलुवा । अलि पर बारीमा लजाउँदै झुलिरहे फापरका राता डाँठ र हिउँजस्तै सेता फूलहरू । लजाउने र खुल्ने क्रम जारी छ लोमान्थाङको ।