पाताल संस्मरण : डलरको दक्षिणा

पाताल संस्मरण : डलरको दक्षिणा

हामी दम्पतीका लागि अमेरिकाको पहिलो सूर्योदय । दिन र रातको परिर्वतनले गर्दा निद्रा राम्रोसित लागेन । झ्यालबाट हेर्दा उस्तै सूर्य उदायो, उस्तै आकाश उज्यालियो, उस्तै सेता बादलहरू क्षितिजमा थुप्रिए । तर, पृथ्वीको गोलाकारले गर्दा परिवर्तित समयलाई हामीमा निहित जैविक घडी एक फन्को घुमाएर मिलाउनुपर्ने भयो ।

manu_bujrakiझ्यालबाट हेरेँ, घरको फ्रन्टयार्ड अर्थात् सडकछेउको आँगनमा, घाँसेचौरको आँगनमा, दुईतिर दुईवटा मझौला खालका रूखहरू ठडिएका रहेछन् । किताबमा पढेअनुसार, एउटालाई चिनेँ- मेपल । यहाँको गर्मीयाममा राताराता पातहरूले ढकमक्क ढाकिएको रहेछ । जाडोयाममा त पात झरेका बोटबिरुवादेखि बाटोघाटो, घर-आँगन यत्रतत्र, सर्वत्र हिउँले ढाकिएर सेताम्ये हुन्छ ।

तर, २००९ मे १२ तारिखको बिहानी चारैतिर हरियो-परियो छ । आफ्नोलगायत वरिपरिका घरका आँगनमा, पिँढी र करेसाहरू रंगीचंगी फूलहरूले ढकमक्क ढाकिएका छन् । प्रत्येक घरसित आफ्नो फ्रन्टयार्ड र ब्याकयार्ड अर्थात् आँगन र करेसाबारी छ । घरअगाडिको आँगन अथवा फ्रन्टयार्डमा घाँसेचौर वरिपरि ढकमक्क फूल र दुईतीनवटा मझौला बोटहरू मात्र हुन्थे भने ब्याकयार्ड अर्थात् घरपछाडिको करेसाबारीमा पनि बीचमा ठूलो घाँसेचौर र छेउछाउ ढकमक्क फूलका पोथ्रे बोटहरू र दुईतीनवटा मझौले बोटहरूमात्र देखिन्थे ।

पछाडिपट्टिको करेसाबारीमा तरकारी लगाउने चलन रहेनछ यहाँ । घरअगाडि र पछाडिका दुवै घाँसेचौरलाई प्रत्येक साता काटिरहनुपर्ने आकर्षक, सुन्दर र हरियो लन बनाउनका लागि । यस्तै रहिराखोस् भनेर मलखाद र पानी पनि हालिराख्नुपर्ने । सिँचाइका लागि पानी हाल्ने तरिका राम्रो रहेछ । अगाडि-पछाडि दुवैतिरको लन अर्थात् घाँसेचौरमा पानीका भूमिगत पाइप ओच्छ्याइएका हुन्थे, जसबाट बाहिर निस्केको टुटीले (स्प्रिङ्कल) फोहराझैं पानी छर्थे । यस्ता स्प्रिङ्कलहरू लनको क्षेत्रफलअनुसार, चार-पाँचवटादेखि आठ-दसवटासम्म हुन्थे ।

यति दुःख गरेर हुर्काएको घाँसेचौरलाई प्रत्येक साता नकाट्ने हो भने आँगन र करेसाबारी जंगलमा परिणत हुन बेर लाग्दैनथ्यो, त्यो पनि महिनादिनभित्रै । आधुनिक हँसिया अर्थात् लनमवर छँदैछ, मात्र आफूले जाँगर चलाउनुपर्यो, अर्थात् तृणकर्तन यन्त्रको पछि-पछि हिँड्नुपर्यो । विज्ञान र प्रविधिले पुर्याइदिएको सुविधा प्राप्त गर्न स्विच थिच्ने कष्ट त आफैंले गर्नुपर्यो ।

हामी दम्पती अमेरिका आएको भोलिपल्ट हो अथवा पर्सिपल्ट हो मलाई भेट्न भनि दुई-तीनजना आउनुभयो । यो मेरा लागि सुखद आश्चर्य थियो । यति टाढा, सात समुद्र पारि, पनि मलाई एउटा साहित्यकारका रूपमा चिनेर भेट गर्न आउनु भनेको मप्रतिको आकर्षण र सम्मानको कुरा मात्र नभएर समस्त नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अमेरिकावासी नेपालीहरूको स्नेह, सद्भाव र संचेतनाको अनुपम उदाहरण थियो यो । संस्कृतिचेत र बन्धुत्वको भावनाले म अभिभूत भएँ ।

यसरी मसित भेट्न आउनुहुने महानुभाव हुनुहुन्थ्यो श्रीयुत् ज्ञानेन्द्र गदाल, तत्कालीन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोलोराडो च्याप्टरका अध्यक्ष । अहिले उहाँ नै, अर्थात् आज यो लेख लेखुन्जेलसम्म ई. सन् २०११ नेभेम्बर २१ तारिखमा, अनेसासको (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) केन्द्रीय अध्यक्ष पनि भइसक्नुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् 'अनेसास'को स्थापना यति टाढा भूगोलको अर्को पाटोमा अवस्थित विश्वको सर्वाधिक विकसित र सम्पन्न देशमा हुनु हामी सबै नेपालीका लागि गर्व गर्न लायक उपलब्धि भएको छ । यसका लागि अमेरिकावासी समस्त सुधी नेपालीजन मुरीमुरी धन्यवादका पात्र त छँदैछन् साथै नेपाली भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट आफ्नो परिचय स्थापित गर्ने, अमेरिकाभरि छरिएका नेपालीलगायत विश्वभरि नै छरिएका नेपाली मनहरू र जीवनहरूलाई जोर्ने यस महत्कार्यका संस्थापक र उहाँका समस्त सक्रिय सहयोगीहरू झनै बढी धन्यवादका पात्र छन् । विश्वभरि छरिएका नेपाली मनलाई सांस्कृतिकरूपले जोर्न स्थापना गरिएको 'अनेसास' जस्तो महत्वपूर्ण विश्व संस्थाका संस्थापक हुन्- श्रीयुत् होमनाथ सुवेदी ।

ज्ञानेन्द्र गदालको यस भेटबाट मैले के पनि थाहा पाएँ भने 'अनेसास'कै सक्रियताबाट कोलोराडोको डेनवरवरपरका उपनगरीय क्षेत्रहरूमा प्रत्येक महिनाको अन्तिम शनिबार अथवा आइतबार (छुट्टीको दिन पारेर) साहित्य गोष्ठी गरिँदोरहेछ। यसपटकको साहित्य गोष्ठी सुदेश आचार्यज्यूको घरमा, मे ३० तारिखका दिन निश्चित गरिएको हुँदा मलाई सपत्नीक आमन्त्रण गर्न भनेर पनि ज्ञानेन्द्र आउनुभएको रहेछ।

उसो त नेपाल छँदा असाहित्यिक त के साहित्यिक सभा-गोष्ठीहरूमा जान नरुचाउने म यहाँ अमेरिकाको प्रवासमा ज्ञानेन्द्रज्यूको आमन्त्रणलाई हर्षविभोर भएर स्वीकार गरेँ । यसरी प्रत्येक महिना भिन्नभिन्न नेपालीको घरमा स्वेच्छिक रूपले साहित्यिक कार्यक्रम गर्दा भेला भएका साहित्यकार तथा साहित्यप्रेमी श्रोताहरूसमेतलाई आ-आफ्नो इच्छा र सक्यताअनुसार, जलपान र भोजनको व्यवस्था मिलाइएको हुन्थ्यो । यसले गर्दा दुई कुराको सहयोग आयोजक संस्था अनेसासलाई हुन्थ्यो ।

के अमेरिका साँच्चै 'पाताल' हो त ? के पाताल, जसलाई धार्मिक मान्यताअनुसार 'नर्क' पनि भनिन्छ, यस्तै हुन्छ ? के आकाशमाथि र पाताल तल हुन्छ ? के आकाश भनिने स्वर्ग हो जहाँ, 'ईश्वर' भनाउँदो ढलिमली गरेर बस्छ ?

पहिलो, कार्यक्रम स्थलको खोजी गर्नु नपर्ने, उसै पनि, यहाँ क्लब अथवा विद्यालयको हल भाडामा लिनुपर्दा निकै महँगो पर्थ्यो । तापनि कुनै विशेष अवसर पर्दा र भानुजयन्ती तथा देवकोटा जयन्तीका बेला भने संस्थाले भाडा तिरेरै पनि हलको व्यवस्था गर्नुपर्थ्यो । दोस्रो, श्रोता र साहित्यकारहरूको जलपान एवं खानपानको व्यवस्थासमेत घर धनी आतिथेयले बेहोरिदिने हुँदा संस्थालाई निकै होलो हुन्थ्यो ।

तेस्रो, महत्वपूर्ण के कुरा मैले परिलक्षित गरेँ भने अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उद्देश्य पूरा भएको मात्र होइन फस्टाएको पनि देख्न पाइने । यो कुरा झलमल्ल घामझैं देखिन्थ्यो आतिथेय घरधनीको सेवा तत्परतामा र अझै बढी मुहारमा । अमेरिकावासी अझ भनुँ प्रवासी नेपालीहरूको मन-मस्तिष्क र हार्दिक संवेदनामा नेपाल र नेपाली संस्कृति कति ढकमक्क ढाकिएर बसेको रहेछ ।

प्रवासी नेपालीहरूको नेपाल र नेपाली संस्कृतिप्रतिको यस्तो 'कोमलकुना' (सफ्ट कर्नर) मा यतैका केही दूध चोर्ने संस्थागत र व्यक्तिगत 'बिराला'हरू तथा नेपालबाट, घुम्न-डुल्न, प्रवचन दिन र निहित स्वार्थपूर्ति गर्न झिकाइएका 'ढाडेबिराला'हरू लुकेर बसेका छन् जसको छ्यानब्यान र अनुसन्धान समयले गर्ने नै छ । यसका साथै अमेरिकावासी नेपालीहरूको यसै 'कोमलकुना'मा, परम्परा जोगाउने नाममा, धार्मिक अन्धविश्वासका स्वदेशीवाहक पण्डा, पुजारी, ज्योतिषी, तान्त्रिक-मान्त्रिक र कथावाचकहरूको डलर खेती पनि फस्टाउन थालेको रहेछ । अमेरिकावासी नेपालीहरूको यहीँ जन्मेर हुर्किएको पुस्ता र अझै आगामी पुस्तौंपुस्तालाई जजमान, हनुमान र परम्परावादी बनाएर डलर खेती गर्ने यस्तो धार्मिक धन्दा भविष्यमा फस्टाएर जाला कि नजाला यसको छ्यानब्यान पनि समयले नै गर्नेछ ।

यस प्रकार अमेरिकाको साहित्य गोष्ठीमा सपत्नीक सामेल भइयो । सुदेश शर्मा आचार्यकहाँ उहाँका माता-पितासँग पनि भेट भयो । साथै नेपाली साहित्यको काव्य विधामा सोत्साह कलम चलाउनेहरू तथा नेपाली भाषा, साहित्य एवं संस्कृतिप्रति स्नेह- श्रद्धा प्रकट गर्दै श्रोताका रूपमा त्यहाँ भेला हुने २५-३० जनाहरूसित पनि काव्यात्मक रमझमका साथ मैत्रीपूर्ण भेटघाट भयो । त्यस भेलामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित 'अन्तर्दृष्टि' त्रैमासिकका सम्पादकका रूपमा र गीतकारका रूपमा पूर्वपरिचित (देखादेखी यहीँ आएर भएको) ज्ञानेन्द्र गदाल हुनुहुन्थ्यो भने अर्की पूर्वपरिचित लेखिका तथा कवयित्री (देखादेख यहीँ भएको) आचार्य प्रभा हुनुहुन्थ्यो । अन्य सहभागीहरू पूर्वपरिचित नभए तापनि नेपालदेखि यति टाढाको नेपालीत्व अत्यन्त न्यानो र अपनत्वजन्य थियो । प्रमिला शर्माले कविता सुनाएको सम्झिन्छु र सम्झिन्छु भूपेन्द्र महतको मीठो गजल । झनै सम्झिन्छु, गोष्ठीको प्रारम्भमै कसैले भनेको 'नेपालबाट पााल्नुभएका साहित्यकार मनु ब्राजाकीलाई यो पातालमा हार्दिक स्वागत छ ।'

गोष्ठी त सकियो 'भरत मिलाप' उत्सवका झैं आत्मीयतापूर्ण वातावरणमा । तर, मेरो मनमा र मस्तिष्कमा खुलदुली र खलबली मच्चाइरहेको थियो गोष्ठीको प्रारम्भमै कसैले स्वागतार्थ भनेको उही वाक्यांश- 'पातालमा हार्दिक स्वागत छ ।' भन्नेले त आफ्नो स्वागत् मन्तव्यलाई रोचक र कलात्मक पार्न यसो भन्नुभयो होला, तर के अमेरिका साँच्चै नै 'पाताल' हो त ? के पाताल, जसलाई धार्मिक मान्यताअनुसार 'नर्क' पनि भनिन्छ, यस्तै हुन्छ ? के आकाशमाथि र पाताल तल हुन्छ ? के आकाश भनिने स्वर्ग हो जहाँ, 'ईश्वर' भनाउँदो ढलिमली गरेर बस्छ ?

धार्मिक अन्धविश्वासका यस्ता काल्पनिक र अमानवीय संस्कारले आफूलाई आकाश, माथि, स्वर्ग र अझै ईश्वर नै ठान्दोरहेछ अनि अरूलाई चाहिँ पाताल, तल, नर्क र दानवै मान्दोरहेछ । म आफूभित्र मडारिएको यस्तो तर्क-वितर्कले अवाक् भएर आफूसामुको अमेरिकालाई हेर्दैछु- के यही हो पाताल (? ) जहाँ सफा, स्वच्छ र सुन्दर वातावरण छ; विधिको शासनयुक्त व्यवस्था छ, सबै स्तर र प्रकारका व्यक्तिप्रति समान शिष्टाचारयुक्त समाज छ; सबैलाई शिक्षा र चेतनाको विकास वृद्धिका लागि समान अवसर प्राप्त छ; आवास भोजनलगायतका प्राथमिक कुरा सबैलाई उपलब्ध छ ।

मेरो तर्क-वितर्कको तुलनात्मक चेतनाले अर्को पाटोतिर अवाक् भएर घेर्न थाल्छ- के त्यही थियो स्वर्ग (!), आफूले छोडेर आएको नेपाल र छिमेकी भारत (आफूले देखेको, भोगेको र हन्डर खाएको देश) जहाँ चारैतिर फोहोर, दुर्गन्ध र कुरूप वातावरण छ; विधिको शासन नेताजीको ठाडो तोकआदेश र हबलदार सापको गोजीमा छ; शिष्टाचार भनेको मौसुफ, हजुर, तपाईं, तिमी र तँमा आधारित छ; शिक्षा र चेतना हुने-खानेसँगमात्रै छ; आवासका लागि आकाश (स्वर्ग) र भोजनका लागि 'भोक' छ ।

के यस्तो अमेरिकालाई मैले पाताल, तल र नर्क भनेर अपमानित गर्न मिल्छ ? के मैले आफ्नो समाजका सामन्ती संस्कारले ओतप्रोत धर्माधिकारीहरूको पुराणपन्थी, अन्धविश्वासनी, अवैज्ञानिक र आत्मश्लाघायुक्त अहंकारलाई गति, प्रगति, उन्नति र स्वर्गतिरको बाटो ठान्न मिल्छ ? मिल्छ भन्ने जिद्दी हामीले गर्यौं भने हामी गतिहीन, तरंगविहीन कुपजलको मण्डुक ठहरिनेछौं । स्वाभाविक हो, कुवाको ब्यांकका लागि कुवा नै 'स्वर्ग' हो र बाँकी सारा संसार- 'नर्क' ।

अणु-परमाणुदेखि यो विश्व-ब्रह्माण्ड गोलाकार छ र यिनीहरूको परिभ्रमण क्षेत्र पनि वृत्ताकार छ । अतः यहाँ न त कोही व्यक्ति, न त केही कुरा तल छ, न त माथि छ । न त यहाँ पूर्व-पश्चिम छ, न त उत्तर-दक्षिण छ ।


अहिलेसम्म अन्वेषणकै क्रममा हुनाले र सम्भवतः वृत्ताकारसमेत हुनाले ब्रह्माण्डको न त आदिको पत्तो छ न त अन्त्यको पत्तो छ । वृत्तमा बिन्दु र रेखाको नैरन्तर्य आदि-अन्त्यहीन हुन्छ ।

आफ्नो अघिल्तिरको यो देशलाई पाताल, नर्क, तल्लो स्तरको र आफूलाई आकाशी एवं स्वर्गवासी ठानेर माथिल्लो स्तरमा उक्लौंं भने एडमण्ड हिलारीले उक्लिसके, बिचरा तेन्जी नोर्गेले उक्ले पनि भारतीय नै भइहाले, अब हामी वाद बाँकी नेपालीहरू यही पातालको डीभी (डाइभर्सन भिसा) कुरेर बसिरहेका छौं- झर्ला अनि खाउँला ।

यो चिन्तनले टाउको पनि दुखायो र मन पनि कुँड्यायो, बरु एउटा सानो कथाले विरेचन दिन्छ कि ? भूस्वर्ग नेपालमा पाताल जानका लागि डीभी (डाइभर्सल भिसा) खुल्नासाथ खैलाबैला मच्चियो । स्वर्ग छाडेर नर्क जानका लागि भौतिकवादी, अध्यात्मवादी, राष्ट्रवादी, अराष्ट्रवादी, ईश्वरवादी, मानवतावादी सबै-सबै डीभी लटरी पर्ने दिवास्वप्न देख्न थाले ।

प्रा.डाले नेपाली विद्यार्थी बिर्सिए । डाक्टर साहेबले नेपाली बिरामी बिर्सिए । इन्जिनियरले नेपाली धूलेबाटो, थोत्रा घर, भत्केका पुल र बाँध बिर्सिए । नेताजीले पाताल भ्रमण गरी-गरी भूस्वर्गलाई मान्छे बस्नेलायक बनाउन बिर्सिए । सबै प्रकारका सर्वासाधारणले रुँदै-गाउँदै आफ्नो गाउँघर, इष्टमित्र र छरछिमेक बिर्सिए ।

डलर खेतीबाट मनग्ये उब्जा कुम्ल्याउने यस महाअभियानमा कट्टर धार्मिक प्रवचक, पण्डा, पुजारी र पुरोहितसमेतले गुन्टा कसेको देखेर यो मनुवाले सोध्यो-'कता हो, पुरेत बाजे ? '
'कता हुनु, त्यै अम्रिका, पाताल !''जिउँदै नर्क जानलाग्नु भयो त ? 'के गर्नु, पातालमा दक्षिणा पनि डलरमा पाइन्छ रे, नेपाल बिर्से पनि जजमान बिर्सेको छैन ।'
समाप्त ।
...
पुजारी, पण्डा, पुरेत, ज्योतिषी र डाक्टर, इन्जिनियर, बुद्धिजीवीहरू- पश्चात् सौभाग्यवश भनुँ कि अभाग्यवश मजस्ताको पालो पनि अमेरिका आउनेहरूमा पर्यो ।पालो पाएर आउन त आइयो तर पुजारी, पण्डा, पुरेत, ज्योतिषीलगायत, 'गुरु' भनाउँदाहरू सबैले आ-आफ्ना जजमानहरूलाई नबिर्सिएका हुँदा र अन्धविश्वासी जजमानले काल्पनिक र हावादारी भगवान्लाई नबिर्सिएका हुँदा उनीहरूले डलरमै 'दक्षिणा', 'चन्दा' र 'डोनेसन' कुम्ल्याउँदा रै' छन्, तर डाक्टर, इन्जिनियर र अन्य शिक्षित-अशिक्षितहरूले जे-जस्तो काम पायो त्यसैमा कम्मर कसेर तथा घुँडा धसेरमात्रै होइन घडी हेरेर खटेन भने देखि डलरको दर्शन पाउनु आकाशको फलजस्तै हुँदोरहेछ ।

आफू भने नठहरिए पनि ठहर्याइएको बुद्धिजीवी ठहरियो, अझ त्यसमा पनि साहित्यकार, अझ त्यसमाथि पनि 'पोलेको माथि फकुण्डो' भनेझैं नेपाली साहित्यकार, अर्थात् 'अनुत्पादक' पञ्चायतकालीन अन्तिम प्रधानमन्त्री मरिचमान सिंहज्यूले यो जीरायुक्त अपूर्व सम्बोधन नेपाली साहित्यकारहरूमध्ये ती साहित्यकारहरूका लागि गर्नुभएको थियो जो सरकारी जागिरे थिएनन्, पञ्चायती व्यवस्था विरोधी थिए तथा राजा र ईश्वरका भक्त थिएनन् ।

ठ्याक्कै मजस्तो साहित्यकारलाई सुहाउँदो, किनभने म सरकारी-गैरसरकारी कुनै पनि जागिरे थिइनँ, पञ्चायतको सामन्तवादी प्रजातन्त्रको समर्थक थिइनँ र राजा-ईश्वर दुवैको भजन मण्डलीमा सामेल थिइनँ । आयस्रोतका नाउँमा पत्रपत्रिकाहरूबाट प्राप्त 'पत्रम् पुष्पम्' थियो । अतः म र मजस्ताहरू नै खाँटी र सक्कली 'अनुत्पादक' थिए ।

अहिले यो संस्मरण लेखुन्जेलसम्ममा अमेरिका आएर मासिक साहित्य गोष्ठीमा आफ्ना मौलिक र अप्रकाशित-अप्रसारित झन्डै ५० वटा जति गजलहरू भट्टयाइयो होला । तर, पाँच पैसो अर्थात् पाँच सेन्टसम्म पनि 'पत्रम्-पुष्पम्'का रूपमा हात परेको होइन । नेपाली 'अनुत्पादक'को नियति अमेरिकामा झनै दारुण रहेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट निस्कने साहित्यिक पत्रिका 'अन्तर्दृष्टि'का लागि भनेर सकिनसकी एउटा कथा लेखेँ, छापियो पनि । तर, 'पत्रम् पुष्पम्'का नाउँमा 'ठन्ठन् गोपाला', अँ ! पत्रिका भने पाएँ ।

धेरै वर्ष अगाडिको कुनै भारतीय अंग्रेजी पत्रिकामा पढेको, अहिले झल्याँस्स सम्झिएँ । लेख्या थियो- 'अर्नेस्ट हेमिङवेको पुरानो र पूर्वप्रकाशित कथालाई एउटा ब्रिटिस पत्रिकाले साभार गरेर छाप्यो र पारि श्रमिकस्वरूप १४ सय पाउन्ड सादर टक्र्यायो ।'

झन्डै अर्नेस्ट हेमिङवे (१८९९- १९६१ ई. सन्) झैं समकालीन हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले त पारि श्रमिक भन्ने कुरा परै जाओस्, 'पत्रम-पुष्पम्'सम्म देख्न-सुन्न पाएनन् । म लठुवा पनि महाकविकै ड्याङको सानोतिनो मूला भइटोपलेको हुँदा आर्थिक हैसियत र हविगत उही त हो नि- घरको न घाटको । घर जाउँ भने तखतामा भगवान् भनाउँदो आँखा तरेर बसेको छ, घाटमा जाउँ भने परि जाने डुंगा छैन ।

नियति भनाउँदो आफ्नो र आफूजस्ता लेखकहरूको स्थिति-परिस्थितिको बिलौना गर्दा-नगर्दै अमेरिकामा हामीजस्ता अनुत्पादकहरूलाई अर्को लेखकीय (वस्तुतः प्रकाशकीय) 'नियति' पर्खेर बसेको रहेछ ।
यो अनौठो अमेरिकन लेखकीय 'नियति' भनुँ अथवा प्रकाशकीय 'नियति' भनुँ यस्तो रहेछ 'म पनि लेखक हुँ' भनाउन होस् अथवा 'म पनि लेखक थिएँ' जनाउन होस् लेखकले आफ्नै गोजी टक्टक्याएर पैसा झिक्नुपर्ने, छपाइको सम्पूर्ण खर्च बेहोर्न । तर, प्रकाशक बन्दोरहेछ 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।'

छोटकारीमा 'अनेसास', किनभने नेपालमा छापाखानाको चाँजोपाँजो मिलाई छपाइदिने र बिक्रीवितरण गरिदिएबापत । 'सर्वाधिकार' पैसा हाल्ने लेखककै नाउँमा भए तापनि बिक्रीपश्चात्- पैसो कसले खाने हो ? लेखकले लेखे र छपाइखर्च बेहोरेबापत लेखकस्व भनाउँदो गुलियो चाट्न पाउने कि प्रकाशक बनेबापत 'अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज'ले 'हाम्' पार्ने भन्ने कुरा रहस्यकै गर्भमा रहेछ मेरा लागि- थाहा पाए लेखौंला ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.