शुक्लाफाँटामा बाह्र सिंहेको रोमाञ्चक बथान (फोटो फिचर)
हिरापुर: हालै आरक्षबाट राष्ट्रिय निकुञ्ज घोषणा भएको शुक्लाफाँटामा बाह्र सिंहेको घर मानिन्छ। वि.सं. २०२६ सालमा शिकार आरक्षको रूपमा स्थापना शुक्लाफाँटामा हजारौको संख्यामा बाह्र सिंहे पाइन्छ।
पश्चिम नेपालको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर छेऊमै छ। तराई भूपरिधिको मध्यबिन्दुमा पर्ने यो आरक्षले नेपाल र भारतका गरी ११ वटा संरक्षितलाई जोड्ने काम गरेको छ। शुक्लाफाँटा बाघका लागि मात्र होइन, बाह्रसिंगाको बथान हेर्न पनि आन्तरिक र बाह्य पर्यटक आउने गरेको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए।
उनले भने, 'तराईका संरक्षित क्षेत्रहरूमा पाइने घाँसे मैदान मध्य शुक्लाफाँटामा सबैभन्दा ठूलो घाँसे मैदान हो।यहाँ विश्वकै सबैभन्दा ठूलो बाह्रसिंगाको बथानले विचरण गर्ने गरेको छ।११८ परिवारका ६६५ प्रजातिका वनस्पति, २० प्रजातिका उभयचर, १२ प्रजातिका घस्रने जन्तु, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा पाइन्छ।'
उनका अनुसार शुक्लाफाँटा बाघका लागि मात्र होइन, बाह्रसिंगाका लागि त विश्वकै ठूलो बासस्थान मानिन्छ। किनकी वि.सं. २०३२ सालमा आएर थप केही भूभाग समेटेर आरक्षको रूपमा विकसित गरिएको थियो। वन्यजन्तुको बासस्थानका लागि निकै उपयोगी भूगोल भएकाले वि.सं. २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किलोमिटर जग्गासमेत बिस्तार गरियो। हाल राष्ट्रिय निकुञ्जमा घोषणा भएपछि यसको कुल क्षेत्रफल ३०५ वर्गकिलोमिटरमा फैलिएको छ।