रियल मड्रिडले रोनाल्डोलाई चिनियाँ क्लबलाई बेच्ने!
काठमाडौंः क्रिष्टियानो रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडसँग आबद्ध भएका रोनाल्डोले रियलका लागि ३८२ खेलमा ३९० गोल गरिसकेका छन्। राम्रो लयमा रहेका रोनाल्डोले यो सिजन क्लबका लागि २६ गोल गरिसकेका छन् र क्लब ला लिगाको शीर्ष स्थानमा छ।
तर, क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज भने यो सिजन रोनाल्डोको प्रदर्शनबाट असन्तुष्ट रहेको दाबी स्पेनिस मिडियाहरुले गरेका छन्। स्पेनिश आउटलेट डन बालोनले रियल मड्रिडले रोनाल्डोलाई सन् २०१८ को अन्तिममा चिनियाँ क्लबलाई बेच्ने योजना बनाएको दाबी गरेको छ। ३२ वर्षीय रोनाल्डोले गत नोभेम्बरमात्रै क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन्। उनको सम्झौता सन् २०२१ मा सकिन्छ।
रियलले मोटो रकम पाए रोनाल्डोलाई चिनियाँ क्लबसँग बेच्ने र रोनाल्डोबिनाको नयाँ टिम बनाउनेबारे योजना बनाइरहेको पत्रिकाले दाबी गरेको छ। रोनाल्डोलाई बेचेर मोनाकोका केलिएन माबाप्पेलाई क्लबमा भित्र्याउनेबारे रियल मड्रिडले छलफल गरिरहेको पत्रिकाको दाबी छ।
रोनाल्डोको स्थानमा युभेन्टसका अर्जेन्टिनी खेलाडी पाउलो डाबेलालाई पनि भित्र्याउन सक्ने बताइएको छ। मोनाकोका केलिएनलाई म्यानचेस्टर युनाइटेडले पनि क्लबमा भित्र्याउने प्रयास गरिरहेको छ।