नेपाली क्रिकेट टोली बंगलादेश प्रस्थान
काठमाडौं : एसीसी इमर्जिङ कपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशमा सञ्चालन हुने च्याम्पियनसिपमा नेपाल समूह 'बी'मा छ । समूहमा नेपालसहित बंगलादेश, पाकिस्तान र हङकङ छन् । नेपालले आफ्नो पहिलो खेल सोमबार पाकिस्तानसँग खेल्नेछ । नेपालले मंगलबार बंगलादेश र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
नियमित कप्तान पारस खड्काको अनुपस्थिति तथा सियिनर खेलाडीहरू वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामीजस्ता सिनियर खेलाडीलाई आराम दिइँदा नेपाली टोलीमा यसपटक युवा खेलाडीले स्थान पाएका छन् । टेलीका प्रशिक्षक जगत टमाटाले यसपटक नेपाली टोलीमा युवा खेलाडीले स्थान पाएकाले नयाँ अनुभव हुने बताए । 'युवालाई मौका दिएका छौं, खेलाडीमा जुन क्षमता छ त्यहीअनुसार नै खेल्नेमा म आशावादी छु । सिनियर खेलाडीलाई आराम दिएका कारण नयाँले गोल्डेन अवसर पाएका छन् । राम्रो टोली खेल्न पाउँदा सबैले आफूलाई प्रमाणित गरेर देखाउने अवसर छ', टमटाले भने ।
कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मि श्रण रहेकाले प्रदर्शन राम्रो हुने बताए । उनले बंगलादेशमा पाएको अवसरलाई सदुपयोग गर्दै राम्रो नतिजा ल्याउने पनि दाबी गरे । “हामीले पाकिस्तान, बंगलादेशजस्ता बलिया टोलीसँग खेल्न पाउनु खुसीको कुरा हो । यसलाई सबै खेलाडीले सकभर सुदुपयोग गर्नेछौं”, मल्लले भने ।
मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक तीन नयाँ खेलाडी छन् । चार खेलाडीले डेब्यु गर्न बाँकी छ । यसैगरी टोलीको उपकप्तानमा शरद भेषावकर, विनोद भण्डारी, सागर पुन, अभिनास कर्ण, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, मेहबुब आलम, आरिफ सेख, भुवन कार्की, सुशन भारी, आसिफ सेख, दिलीप नाथ, दिपेश श्रेष्ठ छन् । टोलीको सहायक प्रशिक्षकमा महेश रिजाल, अफिसियलमा रमन शिवाकोटी र सुरज शाक्य तथा फिजियोमा दिनेश भट्ट छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरे ।