एक वर्षपछि कांग्रेसको कार्यसम्पादन समिति गठन, शेखर कोइराला परेनन्
काठमाडौंः सभापतिमा निर्वाचित भएको एक वर्षपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन्। विधान अनुसार दुई महिनाभित्र गठन गर्नु पर्ने केन्द्रीय कार्यसम्पादन समिति सभापति देउवाले एक वर्षपछि गठन गरेका हुन्।
सभापति देउवाले विधानअनुसार सात पदाधिकारी र वरिष्ठताका आधारमा सात २२ केन्द्रीय सदस्य गरी २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन्। कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अबस्थामा पार्टीको महत्वपूर्ण निर्णय लिन सक्ने व्यवस्था विधानले गरेको छ।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का र चित्रलेखा यादव रहेका छन्।
यसैगरी केन्द्रीय सदस्यहरु पूर्णबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू र एनपी साउद पनि कार्यसम्पादन समितिमा परेका छन्।
सभापति देउवाले उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनित गर्न बाँकी छ। यी तीन पदमा मनोनित हुने नेताहरु स्वतः कार्यसम्पादन समितिमा रहने छन् भने पार्टीको प्रवक्ता पनि कार्यसम्पादन समितिमा रहनेछन्।
कार्यसम्पादन समितिमा शेखर परेनन्
सभापति देउवाले बनाएको २९ सदस्यीय कार्य सम्पादन समितिमा नेता डा. शेखर कोइरालालाई भने समावेश गरिएको छैन। वरिष्ठताका आधारमा २२ जनलाई कार्यसम्पादन समितिमा राख्दा कोइराला अटाउन सकेनन्। केन्द्रीय समितिमा गरिने माइनटमा वरियता नमिलाइएको भन्दै केही केन्द्रीय सदस्यहरुले अहिलेसम्म हस्ताक्षर गरेका छैनन्। हस्ताक्षर नगर्नेमा नेतामा कोइराला पनि एक हुन्।
वरिष्ठताका आधारमा मिलाइनु पर्ने वरियता नमिलाइएको भन्दै कोइरालाले आपत्ति जनाउँदै आएका छन्। आइतबारको केन्द्रीय समितिको बैठकमा बोल्दै कोइरालाले वरियताको मापदण्ड के हो? के आधारमा वरियता कायम गरिएको हो? भन्ने प्रश्न सभापति देउवालाई गरेका छन्। कोइराला पार्टीको अघिल्लो वर्ष फागुनमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका केन्द्रीय सदस्य हुन्।