'नेपाल आमा' हेरेर भावुक भए दर्शक
दमक : झापाको दमकस्थित ट्राफिकचोक वरिपरि गोलो घेरामा मानिस जम्मा भएका थिए । आधा घन्टापछि सबैको ध्यान घेराबीचका कलाकारतर्फ तानियो । समाजमा शान्ति स्थापना गर्न जनचेतना जगाउने उद्देश्यले स्थानीय शान्ति समिति झापाले आयोजना गरेको कचहरी नाटक 'नेपाल आमा'ले दर्शकको ध्यान मात्र तानेन उनीहरूसँग समस्याको समाधानसमेत माग्यो ।
नाटकमा उनका आफ्ना धेरै सन्तान मिलेर बसेका हुन्छन् । जब उनीहरूले राजनीतिक आवरण प्राप्त गर्छन् त्यसपछि सम्पत्तिको निहुँमा आफ्नै आमाविरुद्ध खनिन्छन् । आमाको कुरालाई लत्याउँदै दाजुभाइ आपसमा झगडा गर्छन् । यस्तै पृष्ठभूमिका साथ नाटकले अधिकार खोज्ने नाममा देशमा अशान्ति मच्चिरहेको झल्को दिन्छ । नाटकमा पारिवारिक द्वन्द्वलाई देशमा भएको द्वन्द्वसँग चित्रण गर्दा दर्शक गम्भीर देखिन्थे ।
द्वन्द्वपीडितहरू अहिले पनि समाजमा स्थापित नभएको भन्दै नाटकको माध्यमबाट उनीहरूमा जनचेतना जगाई समाजमा स्थापित गराउन नाटक प्रदर्शन गरिएको शान्ति समिति झापाका अध्यक्ष जयबहादुर श्रेष्ठले बताए । नाटकमा अधिकार खोज्ने नाममा देशमा अशान्ति मच्चिरहेको भाव झल्काउन खोजेको परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । 'पछिल्ला दिनहरूमा सबैले आफ्नो अधिकार पाउने नाममा कर्तव्य बिर्सेका छन्, यसले गर्दा देश विकासमा नराम्रो असर परेको छ', उनले भनिन्, 'यस विषयलाई नाटकमा समावेश गरेका छौं ।'
कविता नेपालको लेखन तथा निर्देशनमा मञ्चन गरिएको नाटकमा गणेश बस्नेत, कविता नेपाल, विमला चिमरिया, सुस्मिता पोखरेल, सम्झना सुब्बा, लोमस पौड्याल, लीला विष्ट तथा मेघराज खड्काको अभिनय रहेको छ । परिवर्तन थिएटर काँकडभिट्टाको सहकार्यमा शान्ति समितिले जिल्लाको विभिन्न स्थानमा यतिबेला कचहरी नाटक 'नेपाल आमा' मञ्चन गरिरहेको छ ।
समितिले दमक, पाडाजुंगी र सुरुंगामा सडकनाटक मञ्चन गरिसकेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा सोमबार काँकडभिट्टामा नाटकको मञ्चन गरिएको निर्देशक नेपालले बताइन् । थिएटरले झापामा अन्य सन्देशमूलक कचहरी नाटक पनि प्रदर्शन गर्दै आएको छ ।