चीनले महावाणिज्य दूतावास बनाइदिने
काठमाडौं : चीनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवन निर्माण गरिदिने भएको छ ।स्वशासित क्षेत्र तिब्बतका प्रमुख ऊ यिङ्जीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ल्हासामा मंगलबार भएको भेटमा नेपाली महावाणिज्य दूतावास भवन निर्माण गरिदिने बताएका हुन् ।
ल्हासास्थित महावाणिज्य दूतावास भवन तथा आवासगृह जीर्ण भइसकेका छन् । चीनले महावाणिज्य दूतावास भवन निर्माण गर्न सहयोग गर्ने वचन दिएको बर्सौं बिते पनि परराष्ट्र मन्त्रालयले त्यसप्रति चासो नदिएकाले निर्माण भएको छैन । आठ वर्षअघि चीनले महावाणिज्य दूतावास भवन निर्माणका लागि नेपालको आग्रहमा दुई करोड चार लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
'तिब्बतका प्रमुखले महावाणिज्य दूतावास भवन निर्माणमा आर्थिक सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ', ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले टेलिफोनमा अन्नपूर्णसँग भने । नेपालको महावाणिज्य दूतावास नै तिब्बतस्थित एक मात्र विदेशी कूटनीतिक नियोग हो ।
भेटमा दाहालले आफूले महावाणिज्य दूतावास परिसर अवलोकन गर्दा अवस्था दयनीय पाएको र भवन निर्माणमा चीनको सहयोग महत्वपूर्ण हुने बताए । मन्त्रिपरिषद् बैठकबाट भवन निर्माणसम्बन्धी प्रस्ताव चाँडै अनुमोदन गराएपछि निर्माणप्रक्रिया अघि बढाउन बाटो खुल्ने दाहालले भेटमा बताएका थिए ।
प्रधानमन्त्री दाहालले तिब्बतमा लामो समयदेखि बस्दै आएका नेपालीलाई चीनले स्थायी अनुमतिपत्र उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । चीनसँगको हजारौं वर्ष पुरानो सम्बन्धमा तिब्बतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सडक, रेल, सीमापार विद्युतीय प्रसारण लाइन निर्माणमा तिब्बत र नेपालबीच सहकार्य हुनुपर्ने बताए ।
'चीनले अघि बढाएको वान बेल्ट वान रोड अवधारणाअनुसार नेपाल-चीनबीच सीमापार सडक, रेलसञ्जाल, विशेष आर्थिक क्षेत्र र विद्युतीय प्रसारण लाइन निर्माणमा तिब्बतको महत्वपूर्ण भूमिका हुनेछ', दाहालले भेटमा भने ।
प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको भेटमा बताए । तिब्बत प्रमुख यिङ्जीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग वृद्धि गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री दाहालले यथाशीघ्र तातोपानी नाका सञ्चालनमा ल्याउने काममा सघाउन तिब्बती अधिकारीसँग अनुरोध गरेका थिए । तिब्बती अधिकारीले भूकम्पपछि ठप्प तातोपानी नाका खुलाउन काम भइरहेको समेत बताए।
पूर्ववर्ती ओली सरकारका पालामा भएका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा भेटमा कुराकानी भएको त्यहाँस्थित महावाणिज्य दूतावासले प्रेसविज्ञप्तिमा जनाएको छ । प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । दाहालले तिब्बतको पोताला दरबार र जोखाङ मन्दिर पनि भ्रमण गरेका थिए ।
हाइनानमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा भाग लिन अनौपचारिक भ्रमणमा चीन गएका प्रधानमन्त्री दाहालले बेइजिङ पनि भ्रमण गरेका थिए । दाहाल बेइजिङबाट सोमबार सिचुवाको छेङ्दु पुगेका थिए । छेङ्दुबाट मंगलबार ल्हासा आएका दाहालसहितको प्रतिनिधिमण्डल बुधबार बिहान स्वदेश फर्किनेछ ।