नेप्से परिसूचक १६ सय माथि
काठमाडौंः नेप्से परिसूचक मंगलबार ७६.७९ अंकले बढेको छ । मंगलबार बजार खुल्दा १५३३.८३ अंक रहेको धितोपत्र बजार सवा दुई घन्टामा तीनपटक सर्किट ब्रेक लागेर १६१०.६२ अंकमा बन्द भएको छ । नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेलले चुनावी माहोल, ठूला लगानीकर्ताको पुनःबजार प्रवेश र नयाँ लगानीकर्ताको रुचि बढेका कारण सेयर कारोबार बढेको जानकारी दिए । नेप्से परिसूचक बढेसँगै कम्पनीहरूको सेयर भाउ पनि माथि उक्लन थालेको छ । यसले लामो समयसम्म बजार घट्दा निराश बनेका लगानीकर्तामा उत्साह थपेको छ । यसअघि एक हजार दुई सयको हाराहारीमा नेप्से परिसूचक ओर्लिएको थियो ।
त्यतिबेला लगानी कर्ताले बैंकबाट कजाए नपाउनुका साथै हकप्रद र बोसन सेयरको चाप लगानीकर्तामा थियो । दुई सय प्रतिशतसम्म हकप्रद र बोनस सेयर जारी भएको थियो । लोनमा मार्जिन कलको भार, बैंक रित्तिँदै गएपछि लगानीकर्ताले साँवा र ब्याज तिर्नुपर्ने दबाबका कारण बजार घट्दै गएको थियो । त्यतिबेला लगानीकर्ता घरजग्गाको कारोबारमा लागेका थिए ।
तर, अहिले बजारले सकारात्मक बाटालाई पछ्याउँदैछ । अहिले सबै बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर जारी भइसकेको छ । एनआईसी एसिया र स्टान्डर्ड चार्टड बैंकको फर्दर पब्लिक अफरिङ (एपपीओ) मा आकर्षण देखिएको थियो । अब सेयर बजारका अन्यन्त्र तथा अन्य क्षेत्रमा आकर्षित भएका लगानीकर्ता पुनः फर्किएका छन् । बैंकहरूले मार्जिन लेन्डिङ कर्जा चलाउन दिएपछि सेयर बजार बढ्न थालेको छ ।
‘तरलता अभाव सहज बन्दै गएको, बैंक तथा वित्तीय संस्थामा कर्जायोग्य लगानी सहज हुन थालेको, चुनावी चहलपहलका कारण खर्च बढ्न थालेका कारण बजार बढेको हो’, पौडेलले भने । नेप्सेले ब्रोकरलाई काठमाडौं बाहिर पनि शाखा खोल्न अनुमति दिएसँगै लगानी कर्ता पुनः सेयर बजारप्रति हौसिएका छन् । बजारमा लगानीकर्ताको मनोविज्ञान बढेको हो । सोही कारण दैनिक ४०÷५० करोडको कारोबारमा सीमित रहेको सेयर बजार मंगलबार एक अर्ब ३९ करोडमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्तसम्म चुक्ता पुँजी वृद्धि गरी आठ अर्ब पुर्याउनुपर्ने व्यवस्थाका कारण बजारमा अझ पुँजी थपिन सक्नेछ । यी सबै कारणले बजार हालसम्मकै उच्च विन्दुभन्दा माथि जान पनि सक्छ । तर, अहिले बजार छोटो अवधिमै माथि पुगेको छ, साताको दुई दिन कारोबारनै हुन बाँकी छ । दुई दिन पनि बढ्ने क्रम रोकिएन भने बजार माथि जान सक्छ नत्र घट्न पनि सक्छ । थपघट हुनु सेयर बजारको प्रकृति नै हो ।
एउटा निश्चित बिन्दुमा पुगेपछि बजार ओर्लन्छ पनि, जसरी साउन १२ पछि बजार ओरोलो लाग्न थाल्यो । त्यस समयमा सेयर भाउ पनि निकै माथि पुगेको थियो । तर त्यसपछि लगातार बजारमा मन्दी आयो र सेयर भाउमा पनि गिरावट आउँदै गयो । हल्लै हल्लामा चल्ने सेयर बजारलाई साना घट्ना तथा परिघटनाले समेत प्रभाव पार्ने देखिएको छ । डेरिभेटिभ मार्केटमा यस्तो ट्रेन नेपालमा मात्र नभएर विश्व भरिनै हुने विज्ञहरूको भनाइ छ ।
एउटा निश्चित बिन्दुमा पुगेपछि बजार ओर्लन्छ पनि, जसरी साउन १२ पछि बजार ओरोलो लाग्न थाल्यो ।
एक वर्षअघि पनि नेप्से सूचक १३५० को हाराहारीमा थियो । त्यसपछि लगातार बढेको बजार साउन १२ गते बुधबार हालसम्मकै उच्च विन्दु १८८१.४५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लाग्दै आएको बजार चैत लागेपछि माथि उक्लन थालेको हो । चैत १ गते नेप्से परिसूचक १३४७.०९ अंकमा थियो । त्यसयता निरन्तर २६३.५३ अंकले बढेर १६१०.६२ अंकमा उक्लिएको हो ।
मंगलबार बजार ५.०१ प्रतिशतले बढेर बजार बन्द भएको छ । नेप्सेको नियम अनुसार नेप्से ५ प्रतिशतले बढेपछि कारोबार बन्द गरिनुपर्छ । तीनपटक सर्किट ब्रेकर लागेपछि एक घन्टा अगावै बजार बन्द भएको हो । मंगलबार चार घन्टाको कारोबार समयमा जम्मा दुई घन्टा १५ मिनेट मात्र बजार खुल्यो।
कारोबार सुरु भएको एक घन्टाभित्र तीन प्रतिशत घटे वा बढे १५ मिनेट, कारोबार सुरु भएको दोस्रो घन्टा भित्र चार प्रतिशत घटे वा बढे आधा घन्टा र कारोबार समय अबधिभर कुनै पनि बेला पाँच प्रतिशत घटे वा बढे त्यो दिनको सम्पूर्ण सेयर कारोबार रोकिने व्यवस्था छ ।
बजार खुल्दाको समयसम्म एक सय ४४ कम्पनीका एक अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढि नेपाल बंगलादेश बैंकको नौ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा सानिमा बैंक दोस्रो भएको छ ।
आठ समूहमध्ये मंगलाबार बिमा कम्पनी समूहको सबैभन्दा कारोबार सबैभन्दा बढेको छ । बिमा ५०३.११ अंकको बढोत्तरी भएको छ । जलविद्युत् १०६.५१, विकास बैंक ८२.९७, बैंकिङ ७५.०९, होटेल ७१.०९, फाइनान्स ३८.९४ र अन्य १०.१२ अंकले बढोत्तरी भएको छ ।