फेरि होर्डिङ बोर्डजस्तै विज्ञापन सामग्री
काठमाडौं : काठमाडौं महानगरपालिकाले पाँच वर्षअघि महानगर क्षेत्रमा होर्डिङ बोर्ड राख्न नदिने निर्णय गरे पनि विभिन्न चोकमा पुनः यस्तै विज्ञापन सामग्री देखिन थालेका छन् । सहरी सौन्दर्य कुरुप र सर्वसाधारणलाई सुरक्षाका दृष्टिले जोखिम भएको भन्दै महानगरपालिकाले डिजिटलाइजेसन गर्ने निर्णय गरेको थियो । निर्णय भए पनि पाँच वर्षको अवधिमा जम्मा ३ वटा मात्र डिजिटल बोर्ड राखेको पाइएको छ । अत्यन्तै महँगो पर्ने हुँदा डिजिटलको काम कागजमा सीमित भएको छ ।
चाबहिल चोकबाट बौद्धतर्फ जाँदा र नयाँबानेश्वर चोकबाट शंखमूलतर्फ जाँदा जिओनीको विज्ञापन, जमलबाट असनतर्फ सामसुङ, जमलकै विश्वज्योति मल र त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा कोकाकोलाको विज्ञापनजस्ता सामग्री विभिन्न चोकमा देखिएका छन् ।
माइतीघर मण्डलामा होर्डिङ बोर्ड खाली अवस्थामा छ । विज्ञापन पाए प्रयोगमा आउन सक्ने उक्त खाली बोर्ड पनि महानगरपालिकाको नियमविपरीत राखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा ६८ सालमा महानगरभित्रका सबै होर्डिङ हटाउने निर्णय गरिएको थियो ।
त्यसपछि झन्डै दुई वर्ष लगाएर हजारभन्दा बढी होर्डिङ बोर्ड हटाइएका थिए । महानगरपालिकामा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले भने, '७० सालमा विज्ञापन प्रचारप्रसार नियमन नीति ल्याएर होर्डिङ बोर्डको सट्टा डिजिटल बोर्ड राख्ने व्यवस्था गरिएको छ ।'
साइनेज एसोसिएसन नेपालका अध्यक्ष सूर्यबहादुर कार्कीले महानगरपालिकाले विभिन्न कन्सल्ट्यान्सी, पसललगायत व्यापारी प्रयोजनमा प्रयोग गरिएका बोर्डलाई व्यवस्थित गर्न नसकेको बताए । उनले भने, 'फ्लेक्स जथाभावी छन् । डिजिटलाइज्ड बोर्डको प्रयोग आवश्यकताअनुसार हुन सकेको छैन ।' उनले होर्डिङ बोर्ड हटाउने निर्णय गरेपछि महानगरपालिकाले घरको छतमा कुरुप हुनेगरी राख्न नदिएको र सुरक्षा अपनाएको बताए । तर, महानगरका एक व्यवसायीले भने डिजिटल बोर्ड राख्न महँगो भएको र महानगरपालिकाले कर बढी लगाएकाले व्यापारीलाई मार परेको बताए । उनले भने, 'आम्दानीको नाममा महानगरपालिकाका कर्मचारी ठूला व्यापारीसँग मिलेर बोर्ड राख्ने कुरामा सम्झौता गरिरहेका छन् ।'
७० सालमा होर्डिङ बोर्डको सट्टा डिजिटल बोर्ड राख्ने व्यवस्था गरिएको हो ।
महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख ध्रुव काफ्लेले बानेश्वर, चाबहिल, त्रिपुरेश्वरलगायत स्थानमा राखिएको बोर्ड होर्डिङ नभएको बताए । उनले स्टिकरका रूपमा त्यस्ता बोर्ड राख्न दिएको जानकारी दिए । उनका अनुसार एउटा डिजिटल बोर्ड राख्न सरदर १ करोड र सोभन्दा बढी लाग्ने भएकाले महानगरमा काठमाडौं मल, सिटिसी मल र कोटेश्वरको भाटभटेनीमा मात्र डिजिटल बोर्ड राखिएका छन् ।
यस्ता बोर्डमा भने एकभन्दा बढी विज्ञापन सामग्री प्रयोग गर्न पाइन्छ । डिजिटल बोर्डको तौल धेरै हुने र घरको छत, भित्तामा राख्न नसकिने भएकाले स्टिकर प्रयोग गरेको काफ्लेको भनाइ छ । उनले भने, 'घरको गाह्रो चार वा नौ इन्चको हुने तर बोर्डको भारवहन क्षमता थेग्न नसक्ने भएकाले जमिनमाथि मात्र राख्ने स्वीकृति दिन्छौं । अन्यत्र नियमविपरीत विज्ञापन सामग्री राखिएका छैनन् ।' माइतीघरमा राखिएको खाली होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको उनको भनाइ छ ।