केराखेतीबाट लाखाैं आम्दानी
प्युठानः सरुमारानी गाउँपालिका बांगेसालका कुमाल दम्पतिले आफ्नै बारीमा केराखेती गरेर लाखौं रुपैयाँ कमाएका छन् । केरा बेचेर आएको आम्दानीले उनीहरू लाखौंका मालिक बनेका हुन् ।
३१ वर्षीया बीमाकुमारी कुमाल र उनका ४६ वर्षीय श्रीमान् धनबहादुर कुमालले विगत सात वर्षदेखि व्यावसायिक केराखेती गरिरहेका छन् । ‘वर्षमा करिब साढे तीन लाख रुपैयाँ कमाइ हुन्छ', बीमाले भनिन्, ‘यसैको कमाइले पक्की घर पनि बनाएका छौं ।' घरखर्च चलाउन विदेश पुगेका श्रीमान् फर्केर आफूलाई सघाएको उनी बताउँछिन् । ‘सुरुमा एक रोपनी क्षेत्रफलमा खेती थालेका हौं', उनले भनिन्, ‘अहिले बढाएर दुई विघामा पुर्याएका छौं । अझै बढाउने योजना छ।'
प्युठान-दाङ-भालुवाङ सडक खण्डअन्तर्गत बाटो छेउँमै उनको पक्की घर छ । घर नजिकै केरा बेच्नका लागि खोका (ढ्याब्री) राखेकी छन् उनले । ‘बिक्रीको चिन्ता छैन', कुमाल भन्छिन्, ‘बसमा यात्रा गर्नेले नै खरिद गर्छन् ।' श्रीमान् विदेशमा गएपछि केराखेती गर्न थालेको उनी बताउँछिन् । दैनिक दुई हजारभन्दा बढी रुपैयाँ जम्मा हुने गरेको उनले सुनाइन् ।
‘मालुवा जातको केरा लगाएका छौं', धनबहादुरले भने, ‘ग्राहकले पनि धेरै मन पराउँछन् ।' अन्यको तुलनामा यस जातको केरा धेरै रसिलो हुने उनले दाबी गरे । ‘विदेशको तुलनामा घरमै दोब्बर कमाइ भइरहेको छ', खुसी व्यक्त गर्दै उनले भने, ‘ख्यालख्यालमै चार वर्ष विदेशमा बिताइयो । गर्न सके घरमै राम्रै आम्दानी गर्न सकिँदो रहेछ ।' काठमाडौंमा पनि घडेरी किनेको उनले सुनाए ।
केरा बिक्रीबाट दैनिक दुई हजारभन्दा बढी आम्दानी हुन्छ ।
केराखेती थालेपछि श्रीमतीले घरमा बोलाएको उनी सम्झन्छन् । ‘सँगै मिलेर केराखेती गरौंला भनेर बोलाइन्', कुमालले भने, ‘परिवारसँगै बसेर आम्दानी गर्न पाइएको छ ।' केराखेतीलाई नै विस्तार गरी बढाउँदै लैजाने सोच बनाएको उनले बताए । ‘दुईतले पक्की घर बनाउन यसैको आम्दानीले सम्भव भएको हो', उनी भन्छन्, ‘गाउँकै एक जना युवालाई पनि रोजगारी दिएका छौं ।' केही वर्ष सुख्खायाममा सिँचाइ समस्या भए पनि हिजोआज राप्ती नदीबाट लिफ्टमार्फत पानी ल्याइएको उनले जानकारी गराए । ‘कैयौं वर्ष बाँझो बारी यतिकै खेर गयो', उनले भने, ‘हिजोआज घरमै आएर धेरैले राम्रो गरेका छौं भनेर स्यावासी दिन्छन् ।'
जिल्लामै धेरै जग्गा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्ने किसान कुमाल दम्पत्ति रहेको जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ । कृषि कार्यालयले सुरुमा चितवनबाट केराको बेर्ना लिएर दिएपछि बीमाले खेती थालेकी हुन् । ‘हावाहुरीले केरामा क्षति पुर्याएपछि नगद ८० हजार रुपैयाँ राहत दिएका छौं', वरिष्ठ कृषि विकास अधिकृत मधुसूदन घिमिरेले भने, ‘बेलाबेला उपयूक्त प्रविधिसमेत प्रदान गर्छौं ।'
जिल्लाको बांगेसाल नै व्यावसायिक केर खेतीका लागि उपयुक्त स्थान रहेको कार्यालयका बागवानी विकास अधिकृत टोपनारायण खनालले जानकारी गराए । दुर्गममा बसी सफल उद्यमी बनेर उदाहरणीय काम गरेको मूल्यांकन गर्दै गत वर्ष युवा तथा खेलकुद मन्त्रालयले बीमालाई युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ ।