गुञ्जिँदैछ टुँडिखेल
काठमाडौंको टुँडिखेलमा चर्चित कलाकारका साथ लाइभ कन्सर्ट हुने भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा शनिबार हुन लागेको कन्सर्टमा योगेश्वर अमात्य, रेखा शाह, प्रमोद खरेल एवं हेमन्त शर्माले आआफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् । प्रवेश निःशुल्क भएकाले हजारौं संगीतप्रेमी दर्शक कन्सर्टमा सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा अन्नपूर्ण पोस्ट्ले एक वर्ष अगाडिदेखि सञ्चालन गरेको ‘अन्नपूर्ण ओएमजी क्याम्पेन'अन्तर्गत एकजना भाग्यशाली ग्राहकले सम्पूर्ण रूपमा तयारी बंगला वा एक करोड २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । बम्पर उपहारको घोषणा गोलाप्रथाद्वारा गरिनेछ । दिउँसो २ बजेदेखि सुरु हुने कन्सर्टको तयारीका बारेमा विनीता मरहट्टासँग कलाकारले कुराकानी गरेका छन्ः
साथीभाइसँग गाउन मन पर्छ
योगेश्वर अमात्य
म प्रचारप्रसारको मामलामा लोभी छैन । त्यति धेरै मन पनि पराउँदिनँ । माछाको एक्वेरियममा बसेर गाएजस्तो सबैले आफूलाई हेरिरहेका हुन्छन् । यसरी गीत गाउन त्यति मन पर्दैन । मलाई साथीहरूसँग बसेर गाउन औधि मन पर्छ । कन्सर्टमा गीत गाउने भनेपछि एक हप्तादेखि मनमा तनाव सुरु हुन्छ । अन्नपूर्ण पोस्ट्को कार्यक्रम भएकाले स्वीकारेर यसपालि सहभागी हुन लागेको हुँ । पाँच वर्षपछि टुँडिखेलमा गीत गाउँदैछु । उत्साह त हुने नै भयो । कार्यक्रममा श्रोताले मन पराएको ‘जब सन्ध्या हुन्छ' बोलको गीत गाउँछु ।
धेरै दर्शक हुँदा उत्साह हुन्छ
हेमन्त शर्मा
कार्यक्रमको ढाँचा र दर्शकको चाहनाअनुसार हेरेर गीत गाउँछु । ‘माया त यस्तो होस्', ‘थाप न थाप हातैमा', ‘मूल हौ भने रसाइदेऊ', ‘जमिनमुनि बदाम फल्यो' लगायतका गीत प्रस्तुत गर्ने तयारीमा छु । एक महिनाअघिमात्र शिवरात्रिमा सोही स्थानमा गीत गाएको थिएँ । फेरि मौका पाउँदैछु । टुँडिखेल काठमाडौंको मुटु हो । दर्शक श्रोता कार्यक्रमस्थलमा नआए पनि वरिपरिबाट बाटोमा यात्रा गरिरहेका श्रोताले पनि सुन्छन् । धेरै अडियन्स पाउँदा बेग्लै उत्साह हुन्छ । यसपालि अलि फरक आयोजकसँग काम गर्ने मौका पाएको छु । मिडियाले सधैं हाम्रा कृतिका बारेमा लेख्छन्, त्यही मिडियाको आयोजनामा हुन लागेको कन्सर्टमा गाउन पाउँदा निकै खुसी लागेको छ ।
राम्रो व्यवस्थापनको अपेक्षा गरेको छु
प्रमोद खरेल
कार्यक्रममा म श्रोताले बढी रुचाएका गीतहरू नै गाउँछु । ‘झुम्कावाली', ‘मबिना कसैकसैलाई'जस्ता श्रोताको मन पर्ने गीत गाउने सोचमा छु । शुक्रबार ‘लाइदेऊ न मायाले' भन्ने नयाँ गीत रिलिज हुँदैछ । त्यो गीत पनि गाउँछु । हिजोआज काठमाडौंमा कमैमात्र ठूला कन्सर्ट हुन्छन् । भए पनि यसरी खुला ठाउँमा हुँदैनन्, कोठाभित्र हुन्छ । एक वर्षपछि टुँडिखेलमा गीत गाउँदैछु । आयोजक ठूलो मिडिया हाउस भएकाले म निकै उत्साहित छु । अन्नपूर्ण पोस्ट्सँग पहिलोपटक यति ठूलो कार्यक्रममा सहभागी हुँदैछु । ठूलो मिडियाको व्यवस्थापन पनि राम्रो होला भन्ने अपेक्षा गरेको छु । सायद फरक अनुभव हुन्छ ।
टुँडिखेलमा पहिलोपटक
रेखा शाह
म धेरै स्टेज कार्यक्रम गर्ने गायिका होइन तर अन्नपूर्ण पोस्ट्को प्रायः कार्यक्रममा सहभागी हुँदै आएकी छु । यसपालि यति ठूलो लाइभ कन्सर्टमा सहभागी हुने मौका पाउँदा खुसी लागेको छ । निकै समयको अन्तरालपछि म यति ठूलो र खुला मैदानमा हुन लागेको कन्सर्टमा गीत गाउँदैछु । टुँडिखेलमा पहिलोपटक गीत गाउँदैछु । यो ठाउँ दर्शक श्रोताका लागि केन्द्र हो । ममा बेग्लै किसिमको उत्साह छाएको छ । आफ्नो तर्फबाट भरपूर तयारी गरिरहेकी छु । सूचनाको संवाहकसँगको अनुभव अवश्य पनि राम्रो हुनेछ भन्ने विश्वास छ ।