एकै दिन दुई अर्ब ५६ करोड सेयर कारोबार
काठमाडौः सेयर बजारमा बुधबार हालसम्मकै दोस्रो उच्च कारोबार भएको छ । एक महिना अघिसम्म दैनिक ३०÷३५ करोडको कारोबार हुने गरेको धितोपत्र बजार बुधबार एकै दिन दुई अर्ब ५६ करोड कारोबार भएको छ ।
हुन त यस अघि पनि नेप्से परिसूचक उच्च बिन्दुमा पुगेका बेला अहिलेभन्दा बढी कारोबार भएको थियो । तर, करिब आठ महिनायता भने बुधबार भएको कारोबार रकम धेरै हो । बुधबार १५ हजारभन्दा बढी पटक भएको सेयर कारोबार नम्बरका आधारमा हालसम्मकै धेरै हो । यस अघि साउनमा १२ हजार पटक सेयर कारोबार भएको थियो ।
बजारमा नेप्से परिसूचकमा गिरावट आएतापनि सेयर कारोबारमा भने ‘करेक्सन' भएको छ । विगत एक सातादेखि डेढ अर्बको सेयर कारोबार हुँदै आएको थियो । नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेलले अहिले बजारमा अल्पकालीन लगानीकर्ताको बाहुल्यता देखिएको बताए । डिम्याडका कारण स्टेटमेन्ट राफसाफ छिटो हुनु, अनेत्र गएको लगानी सेयर बजारमा फर्किनु र संस्थागत तथा व्यक्तिगत लगानी बढ्दा परिसूचक घटे पनि कारोबार रकम भने बढेको हो ।
डिम्याट सुरु हुनु अघिसम्म यस्तो सेयर कारोबार राफसाफ हुन न्यूनतम एक साता लाग्ने गरेको थियो । अहिले कारोबार भएको तीन दिनमा राफसाफ हुने गरेको छ । बजार उचालिन थालेपछि आम लगानीकर्ता तथा संस्थाले समेत बैंकमा डिपोजिट गरेर राखेका रकमसमेत झिकेर सेयरमा लगानी लगानी गर्न थालेका छन् ।
पुँजी बजारको विकास र विस्तारसँगै देशका विभिन्न स्थानमा सेयर कारोबार बढ्को पौडेलले बताए । ‘कारोबार बढ्नु भनेको सकारात्मक पक्ष हो', उनले भने, ‘अनलाइन तथा इन्ट्रा ट्रेडिङ' भएमा अझ यो कारोबार बढ्छ । एकै दिन सेयर किनबेच गर्न सकिने ट्रेडिङलाई इन्ट्रा ट्रेडिङ भनिन्छ । अझ हामीसँग नेटिङ स्याटमेन्ट छैन, यो भएमा पनि बजार बढ्न अझ मद्दत पुग्ने उनले बताए । नेटिङ स्याटमेन्ट भनेको निरन्तर कारोबार अर्थात् भोलिपल्ट हिसाब मिलान गर्न पाउने सुविधा हो ।
पुँजी बजारको विकास र विस्तारसँगै देशका विभिन्न स्थानमा सेयर कारोबार बढ्को छ ।
यसका साथै सूर्य टोवाको तथा ठूला सिमेन्ट उद्योग, हस्पिटल, ट्रेडिङ सेन्टर जस्ता कम्पनी सेयर बजारमा सूचीकृत भए यो कारोबार तेब्बरले बढ्ने विज्ञको भनाइ छ । मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक २२.३३ अंकले ओरालो लागेर १५८८.२९ अंकमा झरेको छ । बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घन्टामै घटेर १५९५ अंकमा झरेको थियो । त्यसपछि कारोबारमा निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ । बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ ।
पहिले सस्तोमा सेयर किनेर बसेकाले फाइदामा बेच्न खोज्नु र किन्नेले पनि सस्तोमा किन्न चाहनुबीचको मोलतोलमा नेप्से २२ अंकले घटेको छ । बुधबार दिनभर बजार घटबद भइरहँदा नेप्सेमा ५५ अंकको फरक परेको छ । यसले सेयर मूल्यमा निकै उथलपुथल भएको पुष्टि गर्दछ ।