आलिया सेटल हुने मुडमा
बलिउडमा चुलबुले नायिकाका रूपमा चिनिने आलिया भट्ट करिना कपुरकी फ्यान हुन् । उनी बारम्बार खुलेर करिनाको प्रशंसा गर्छिन् । उनी अन्य कलाकारजस्तो आफ्नो प्रेम प्रसंगमा कुरा लुकाउँदिनन् । करिनाको ठूलो फ्यान बताउने आलिया अनस्क्रिन होस् कि अफस्क्रिन, जहाँ पनि आफ्नो प्रेमका बारे खुलेरै कुरा गर्छिन् ।
उनले एक अंग्रेजी अखबारलाई अन्तर्वार्ता दिँदै भनेकी छन्, ‘म बेबोजस्तै चाँडोभन्दा चाँडो सेटल हुन चाहन्छु ।' उनी आफूले सानै उमेरमा करिअर सुरु गरेको ठान्छिन् । चाँडै सेटल भएर पुनः करिअरलाई अगाडि बढाउन चाहेको उनले बताएकी छन् । भन्छिन्, ‘पहिला पहिलामात्रै विवाह गर्दा करिअर बर्बाद हुन्छ भन्ने लाग्थ्यो तर त्यस्तो होइन रहेछ ।
करिनालाई नै हेरौं न, उनले विवाहपछि पनि कामलाई निरन्तरता दिइन् र गर्भवती हुँदा पनि जारी राखिन् ।' स्टुडेन्ट अफ दी इयरबाट बलिउडमा डेब्यु गरेकी आलिया पहिले विवाह ३२ वर्षमा गर्दा उचित हुने धारणा राख्थिन् । तर अहिले चौबीस वर्षको उमेरमै उनी विवाहको मुडमा पुगेकी छन् ।