नेपालले हङकङलाई ७ विकेटले हरायो
काठमाडाैं: एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्तोना जित हासिल गरेको छ। बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भएको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि ७ विकेटको जित निकालेको हो।
हङकङले दिएको २१४ रनको विजयी लक्ष्य नेपालले ४२.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रनको योगदान दिए। ८२ बलको सामना गरेका मल्लले ११ चौकाको मदतमा ७० रन जोडेका हुन्।
यस्तै दिपेन्द्र सिंह ऐरी ६० र शरद भेष्वाकर ५५ रनमा नटआउट रहे। ८३ बलको सामना गरेका ऐरीले एक छक्का र पाँच चौका प्रहार गरे भने ५१ बलको सामना गरेका भेष्वाकरले तीन छक्का र तीन चौका प्रहार गरे। यसैगरी दिलिप नाथले १२ र आसिफ शेखले ८ रन जोडे।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउँदै २१४ रनको योगफल तयार पारेको थियो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै केमरुन म्याअल्सनले ४३, वकास खानले ३०, सहीद वासिफले २२, एसान खानले १८ र वाजिद शाह मोहम्मदले १६ रन जोडेका थिए।
नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भवन कार्कीले समान दुई–दुई तथा सन्दिप लामिछाने एक विकेट लिएका थिए। समूह बीमा रहेका नेपाल र हङकङ दुवै खेलमा पाकिस्तान र बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन्।