तल्लो मोदी–२ जलविद्युत आयोजना निर्माणको काम शुरु
कुश्माः मोदी खोलामा पुनः अर्को जलविद्युत आयोजनाले काम शुरु गरेको छ । विगत चार वर्षदेखि दश मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजना संचालनमा ल्याएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले फेरि अर्को आयोजनाको काम शुरु गरेको हो।
अहिले सञ्चालनमा रहेको तल्लो मोदी–१ को पावर हाउस भन्दा नजिकै केही तल तल्लो मोदी–२ को निर्माण कार्य शुरु भएको छ। पहिलो चरण अन्तर्गत आयोजनाको प्रभावित क्षेत्रभित्र आवश्यक पर्ने जग्गाको अधिकरण प्रक्रिया शुरुवात भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए।
कुश्मा नगरपालिकास्थित मोदीखोलामा निर्माण गर्न लागिएको उक्त आयोजनाको चुवा हुँदै वारी क्षेत्रबाट निर्माण गर्ने गरी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको जग्गा अधिकरणको कार्य शुरु गरिएको हो। कुश्मा बजार रहेका जग्गा धनीहरु जग्गा प्रदान गर्न सहमत नभएमा ज्ञादी क्षेत्रमा आयोजना रहने गरी पारीबाट आयोजना सुरुवात गरिने निर्देशक गौतमले जानकारी दिए ।
उक्त आयोजनाका लागि झण्डै ७० देखि ८० रोपनी जग्गा आवश्यक पर्ने र सोही बमोजिमका जग्गाका धनीहरुसंँग सम्बाद चलिरहेको उनले जानकारी दिए। रन अफ दी रिभर मोडलमा निर्माण गर्न लागिएको उक्त आयोजनाबाट १० दशमलब ५ मेगावाट विद्युत उत्पादनको क्षमता रहनेछ।
आयोजनाले सरकारबाट केहीभित्रै उत्पादन अनुमति पत्र प्राप्त गरेपछि औपचारिक रुपमा आयोजनाको निर्माण कार्य अगाडि बढने गौतमले जानकारी दिए।