युटीएलको वार्षिक घाटा ७३ करोड
काठमाडौः युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को वार्षिक घाटा ७३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । भारतीय लगानीको यो कम्पनी सञ्चालमा आएको १५ वर्षमा १३ वर्ष घाटैघाटामा सञ्चालन भएको छ । आर्थिक वर्ष २०७२/७३ को घाटा ७३ करोड ३५ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०६५/६६ मा एक वर्षको घाटा नै करिब एक अर्ब थियो । नेपाल दूरसञ्चार प्राधिकरणमा यूटीएलले बुझाएको तथ्यांकअनुसार १५ वर्षको अवधिमा जम्मा दुईवटा आर्थिक वर्ष मात्रै नाफा भएको छ । वार्षिक चार करोडदेखि ९७ करोडसम्म घाटा देखाइएको छ ।
दुई आर्थिक वर्ष २०६६/६७ मा सात करोड र २०६७/६८ मा नौ करोड ७६ लाख नाफा भएको छ । कम्पनीको सेवा प्रभावकारी नभएको, ग्राहक संख्या बढ्न नसकेको, लाइसेन्स ओगटेर मात्रै बसेको तथा नाफामा लैजाने कुनै सुनिश्चित आधार तय नगरेकाले पनि बर्सेनि घाटामा गएको प्राधिकरणको भनाइ छ । यो कम्पनीले गत भदौ २० गते दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) लिएको भए पनि अहिलेसम्म सेवा सञ्चालनको आधार तय गरेको छैन । प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार यूटीएलले गत वर्षको भदौ २० गते युनिफाइड लाइसेन्स लिएको छ । यो लाइसेन्स लिएपछि कम्पनीले जीएसम मोबाइल सेवा दिने भने पनि अहिलेसम्म सुनिश्चित आधार भने पेस गर्न सकेको छैन ।
यसले लाइसेन्स लिँदा सेवा र क्षमता विस्तार गर्ने रोलआउट प्लान दिएकामा त्यसअनुसार काम गर्न सकेको छैन । प्राधिकरणले यो कम्पनीसँग पुनःप्रगति प्रतिवेदन माग गरेको छ । यो कम्पनीको पछिल्लो अवस्थाको जानकारीका निम्ति यो प्रतिवेदन माग गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
यूटीएलले आठ महिना अगाडि युनिफाइड लाइसेन्स लिँदा एक वर्ष भित्रमै ४४ जिल्लामा सेवा विस्तार गर्ने योजना प्राधिरकणमा दिएको छ । दोस्रो वर्ष थप १० जिल्लामा र बाँकी २१ जिल्लामा तेस्रो वर्ष सेवा विस्तार गर्ने योजना पेस गरेको भए पनि अहिलेसम्म यसको सुनिश्चित आधार तय भएको छैन ।
यूटीएलले जीएसमएम मोबाइल विस्तार गर्ने र सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राधिकरणसमक्ष चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोर जी) सेवाको पनि अनुमति मागेको छ । यसेले नौ सय र १८ सय मेगाहर्जमा प्राधिकरणबाट फ्रिक्वेन्सी पाएको छ । यसले १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा फोर जीको सेवा सञ्चालनको माग गरेको छ । प्राधिकरणले भने प्रविधि तटस्थताका आधारमा बोलकबोलबाट जसले बढी कबोल गर्छ उसैलाई थप फ्रिक्वेन्सीमा अनुमति दिने जानकारी दिएको छ ।
१५ वर्षको अवधिमा जम्मा दुईवटा आर्थिक वर्ष मात्रै नाफा भएको छ । अरु १३ वर्ष लगातार घाटामा गएको छ । वार्षिक चार करोडदेखि ९७ करोडसम्म घाटा देखाइएको छ ।
यूटीएलको काठमाडौं उपत्यकामा पुतलीसडक, हात्तिसार, चाबहिल, बालाजु, बागडोल र भक्तपुरसहित पाँच ठाउँमा कार्यालय रहेको भए पनि पुतलिसडकको केन्द्रीय कार्यालय र बागडोलको बिलिङ सेवा मात्रै सञ्चालनमा छन् । बाँकी सबै कार्यालय बन्द छन् । कम्पनीमा प्राविधिकतर्फ २० जना र अप्राविधिकतर्फ तीन जना गरी जम्मा २३ जना मात्रै कर्मचारी छन् । दुई अर्ब १५ करोड रुपैयाँको चुक्ता पुँजीको यो कम्पनीले सेवा विस्तारलाई प्राथमिकतै नदिएका कारण वार्षिक घाटा बढेको उल्लेख छ ।
कम्पनीले २०६८/६९ मा चार करोड ८६ लाख, २०६९/७० मा ४५ करोड १८ लाख र २०७०/७१ मा ७७ करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यस्तै २०७१/७२ मा ६५ करोड १६ लाख, २०७२/७३ मा ७३ करोड ३५ लाख रुपैयाँ घाटाको प्रतिवेदन प्राधिकरणसमक्ष पेस गरेको छ ।
यूटीएलले प्राधिकरणबाट युनिफाइड लाइसेन्स लिँदा एक पटक पाँच करोड र अर्कोपटक ३५ करोड गरी ४० करोड ७५ लाख रुपैयाँ लाइसेन्स शुल्कबापत बुझाएको छ । यसले प्राधिरणसमक्ष लाइसेन्स नवीकरणबापत तिर्नुपर्ने शुल्क करिब १३ अर्ब रुपैयाँ छ । यो शुल्क यसले अगामी भदौ १९ गतेसम्म तिर्नुपर्छ । भदौ २० बाट यूटीएलको लाइसेन्सको नवीकरण सकिने भएकाले यस अगावै शुल्क तिरेर नवीकरण गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ ।
२०५८ साल असोज २४ गतेबाट सेवा सुरु गरेको यो कम्पनीले ताररहित प्रविधिबाट सेवा सञ्चालन गरेको हो । आधारभूत दूरसञ्चार सेवा अन्र्तगत भ्वाइस र डेटाको अनुमति पाएको यूटीएको सेवा सुरुका वर्ष निकै राम्रो भए पनि आन्तरिक विवादका कारण गुणस्तरीय सेवालाई टिकाइरहन सकेन । गत आर्थिक वर्ष २०७२/७३ मा नौ करोड ५९ लाख आम्दानी गरेको यो कम्पनीका सेवाग्राहीको संख्या पाँच लाख ९८ हजार आठ सय ३६ छ । यसमध्ये फिक्स लाइन ५० हजार, लिमिटेड मोबिलिटी चार लाख ७६ हजार र डाटा प्रयोगकर्ता ६३ हजार एक सय रहेको प्राधिकरणको वार्षिक प्रतिवेदन २०७२/७३ मा उल्लेख छ ।
यसमा महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया तथा टाटा कम्युनिकेसनको समान सेयर छ । यी दुवै कम्पनीको २६.६६ प्रतिशत र नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर लगानी छ । यूटीएलको सेवा र सुविधाका बारेमा जिज्ञासा राख्दा यूटीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एसपी पचौरीले मिडिया संयोजकबाट मात्रै सूचना सार्वजनिक गर्न मिल्ने बताए । उनी यूटीएलका मिडिया संयोजक सुरेश प्रधानबाट आधिकारिक सूचना लिन भन्दै सम्पर्क बिच्छेद भए ।
प्रधानसँग अन्नपूर्णले बारम्बार प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । यूटीएलका कर्मचारीमार्फत उनलाई आधिकारीक सूचना दिन आग्रह गर्दा पनि प्रधानले कुनै प्रतिक्रिया दिएनन् । स्रोतका अनुसार यूटीएलले लाइसेन्स होल्ड गरेर मात्रै राखेको छ । यसले उपयुक्त लगानीकर्ता भिœयाएर कम्पनी बिक्री गर्न मात्रै युनिफाइड लाइसेन्स ओगटेको उल्लेख छ ।