महिलावादका भँगाला
मैले पढ्ने पत्रिकामध्ये सबैभन्दा मनपर्ने अन्नपूर्ण पोस्ट्को शनिबारीय परिशिष्टांक 'फुर्सद' हो । नाम नै फुर्सद भएकाले म पनि फुर्सदै भएर पढ्ने गर्छु । शनिबार बिहान किनेको पत्रिका अर्को आइतबार बेलुकासम्म पनि पढिरहेको हुन्छु । अहिले भने खल्तीमा बोकी बोकी पढ्ने फुर्सदभित्रका हतार विषयहरू माथि केही लेख्न मन लाग्यो ।
पछिल्ला केही अंकमा 'फुर्सद'का अंकहरूमा महिलाका विषयले नियमितजसो प्राथमिकता पाइरहेका छन् । महिला र महिलावादबारे विभिन्न कोणबाट गरिएका बहसले लैंगिक विभेदमुक्त र समानतायुक्त समाजको चाहना राख्ने जो कोहीलाई प्रभावित गरिहाल्छ । हुन त म पूर्ण महिलावादी नभएर पीडितवादी रहेछु भन्ने भर्खरभर्खर मात्रै थाहा पाउँदैछु । महिलावादको म समर्थक हुँ तर महिलाप्रति समाजमा निर्माण भएको विश्वासकै हत्या गरेर स्वार्थी बन्ने महिलाको पक्षमा भने म छैन । म त्यो स्वार्थी प्रवृत्ति राख्ने महिलाको विरोध गर्छु । यदि कसैले त्यसलाई महिलावादको जामा लगाएर पुष्टि गर्न खोज्छ भने त्यो सिद्धान्तकै विकृत रूप हो जसको म खण्डन गर्छु । त्यसैले पनि म म महिलाभन्दा बढी आइमाई भन्न रुचाउँछु किनकि महिला शब्दमा आइमाई शब्दमा जस्तो प्राकृतिकता पाइँदैन ।
आइमाई शब्दमा आमाको गुण मिसिएर आउँछ । आमा हुनु सृष्टिकै महत्वपूर्ण सौभाग्य हो । यद्यपि त्यो शब्दको विरोध गरियो । कानुनी रूपमा रोक लगाइयो । आइमाई किन पनि मनपर्छ भने, उनले आफ्नो बलिदान दिएर भए पनि व्यक्तिमा हुनुपर्ने विश्वास जोगाइरहेकी हुन्छिन् । परिवारिक सम्बन्धलाई बलियो बनाउँछिन्, सामाजिक सम्बन्धलाई निरन्तरता दिन्छिन् । त्यसैले मैले आस्था राख्ने महिलावाद महिलाको निरपेक्ष इच्छाहरूसँग मात्र सम्बन्धित छैन । यसले त महिलाको सामाजिक, पारिवारिक र व्यक्तिगत भूमिका सबैलाई सगोलमा हेर्छ । सामाजिक संरचनाका सीमाहरूबाट एक्लै भागेर वैयक्तिक स्वतन्त्रताको खोजी मेरो दृष्टिमा भ्रम हो, घोर व्यक्तिवाद हो । त्यसैले जवाफ दिएको थिएँ एक युवतीलाई जसले मलाई मोबाइल टेक्स्ट गरेकी थिइन्- 'तपाईंजस्तो महिलावादीसँग मलाई लाज लाग्छ ।' मैले जवाफ दिएको थिएँ -'मानिस सामाजिक हुनुपर्छ । समाजको कुरामा विश्वास गर्नुपर्छ ।' उनको उत्तर थियो 'म जे छु आफैंमा ठीक छु । मलाई कसैको कुरा सुन्नु छैन ।'
आज महिलावादले यही स्पष्ट पार्नुपर्ने भएको छ- महिला हुँदैमा सबै महिलावादी हुँदैनन् । हाम्रोजस्तो पारिवारिक-सामाजिक संरचनामा महिला सम्बन्धको सूत्र, सद्भावको प्रसारक, सम्मानको सूचक हुन् । भत्किरहेको परिवारलाई जोडेर, विभाजित भइरहेको समाजलाई गाँसेर प्रगति पथमा महिलाले नै दौडाएको प्रमाण खोज्न महिला प्रधानाध्यापक भएका विद्यालय वा महिला प्रमुख भएका वनसमूह वा महिलाले चलाएको आमा समूह हेरेपुग्छ । युद्धैयुद्धको शृंखलाले पारिवारिक र सामाजिक स्वरूप नै नष्ट भइसकेको युरोपेली समाजमा जन्मेको वैयक्तिक नारीवादलाई आफ्नै विशिष्टतायुक्त नेपाली समाजमा हुबहु स्थापित गर्न अलि नमिल्ला कि ? हाम्रो सन्दर्भमा महिला त्यो हो जो आफू हारेर अरुको भलाई सोच्छ । महिलाले संसारलाई प्रेमले बाँधिराख्छिन् । प्रेम र ममताले भरिपूर्ण हुनु नै महिला हुनु हो, आइमाई हुनु हो ।
मलाई टेक्स्ट गर्ने ती युवतीजस्ता सयौं महिलाले महिलामाथि सामाजले राखेको विश्वासको आडमा समाजलाई आत्मघात गरिरहेछन् । यी महिलाहरू महिलावादको कुनै पनि क्षेत्रभित्र पर्दैनन् । हिजोसम्म महिला भन्ने वित्तिक्कै एउटा अटल पहाडजस्तो विश्वास-दृढता अगाडि उभिन्थ्यो, आज त्यो मान्यता चर्किसकेको छ । यही कारणले महिला भनिसकेपछि पनि केही शंकालु दृष्टिले एकचोटि हेर्नुपर्ने भएको छ।
महिलात्वको आडमा लागूपदार्थ ओसारपसार गर्ने, बाँच्ने बहानामा देह व्यापार गर्ने, आर्थिक सामाजिक ठगी गर्ने महिलालाई महिलावादको एक विकृत समूहमा राख्न सकिन्छ । यो विकृति महिलावाद भित्र पर्दैन ।
समाजको एउटा तप्काले महिलावादको चर्को विरोध गर्नुको कारण एउटा यो पनि हो किनभने महिलावादका केही व्याख्याले यो विकृतिलाई पनि तर्क दिन्छ ।
महिलावाद स्थापित हुनुको जस कम्युनिस्ट आन्दोलनलाई जान्छ । समान ज्यालादेखि राज्य संरचनामा महिलाको समान भूमिकासम्मको नारा कम्युनिस्ट आन्दोलनले नै स्थापित गरेको हो । परिवार संरचनाले महिलालाई गरेको विभेदको आन्द्राभुँडी केलाउने काम पनि कम्युनिस्ट सिद्धान्तले गरेको हो । यद्यपि कम्युनिस्ट सिद्धान्त परिवारको उन्मूलनको परिकल्पना गर्ने सिद्धान्त होइन । परिवार र समाजमा महिलाको समान अधिकार स्थापित गर्ने मान्यता हो ।
ब्रेकर प्रत्येक व्यक्तिमा आफ्ना नैसर्गिक अधिकार प्रयोग गर्न पाउने प्रावधान छ । यद्यपि महिलाले सामाजिक जिम्मेवारीलाई आदर गर्ने हो भने-आइमाईत्वलाई आदर गर्ने हो भने केही अधिकारलाई तिलाञ्जली दिनैपर्छ ।
हो, आज महिलावाद विस्फोटक रूपमा देखिएको छ । हिजोसम्म गुमनाम 'सहनशीला सुशीला' मानिएका महिलाको आक्रोश आज विस्फोट भएको छ । महिलाको सहनशीला सुशीलात्व भंग गर्ने यही समाजको उपद्रो हो । तिनै उपद्र्याईको विरुद्धमा महिला खडा भएकाले नै महिलावाद नेपाली सन्दर्भमा स्थापित भएको हो । तर, निरपेक्ष वैयक्तिक स्वार्थ अनुकूल गरिने व्याख्याले महिलात्वको गुण ममतामयीबाट फेरिएर खतरापूर्ण हुन गएको छ । अहिले यो प्रवृत्ति बढ्दै गएर दुनियाँ नै माताविहीन बन्ने स्थिति आइसकेको छ । यो भयानक चिन्ताको विषय बन्न पुगेको छ ।
काँकडभिट्टाको 'कला साहित्य उत्सव- २०७३' मा उठाइएका केही प्रश्न र उत्तरले गिजोलेकोले पनि यो लेखोट तयार पार्न बाध्य भएकी हुँ । कार्यक्रममा एक वक्ताले भनेकी थिइन् -'मैले सासू नभएको लोग्ने छानेरै बिहा गरेकी हुँ' । उनको भनाइले समाजमा एक अराजक आवाज फैलियो । यो राजा भएको देशमा एक नागरिकले 'राजतन्त्र मान्दिनँ' भन्नु जत्तिकै अराजक शैली हो । यो अराजकतामाथि सामान्य मानिसहरूले पनि प्रश्न उठाउन सक्छन्- प्रत्येक महिला एक आमा हुन्, सासू पनि हुन् । सासू नभऐ श्रीमान् कसरी हुन सक्छ ?
महिलावादभित्रको भँगालो यहाँनेर आएर फेरि छुटिन्छ । एकातिर महिलालाई सुशील, प्रेमिल र दयावान् बनोस् भन्ने चाहना राखिन्छ । अर्कोतिर महिला अराजक, स्वतन्त्र र कसैको दबाबविहीन हुने क्रान्तिकारिता राख्छिन् । यो क्रान्तिकारिताले नयाँ बाटो बनाउँछ र नयाँ भँगालो पनि छुट्टाउँछ । जस्तैः आह्वान समूह छ जसले महिलाको आवाज कुनै पुरुषले बोल्नु पर्दैन भन्ने घोषणा गरेका छन् । त्यसैगरी सरस्वती प्रतीक्षा लेख्छिन्, 'अक्षम लोग्नेलाई विस्थापित गरेर एक सक्षम पुरुषलाई साथी बनाउन सकिन्छ । अनि उनले आफ्नो जीवनमा पनि यो कुरालाई लागू गरेकी छिन् ।'
जसरी राजतन्त्र भएको देशमा बन्द हडताल हुँदैन, नारा जुलुस हुँदैन, देखावटी शान्ति छाउँछ तथापि प्रजाले स्वनिर्णयको अधिकार भने गुमाइरहेको हुन्छ । त्यसैगरी समाजमा सासूको सामुन्ने एक बुहारी प्रजा बनिरहेकी हुन्छे । कुनै राजाले प्रजालाई आफ्नो नियन्त्रणभित्र राखेर माया गर्नु र सासूले पनि बुहारीलाई नियन्त्रणभित्रै राखेर माया गर्नु एउटै प्रवृत्तिको माया हो । यसलाई नियन्त्रण र माया दुवै मान्न सकिन्छ । एक महिलाले पतिको घरमा कुनै कम्पनीको कर्मचारी स्तै जीवन भोगिरहेककी हुन्छिन् । सासू शासक र बुहारी शासितको अवस्था हाम्रो समाजमा यत्रतत्र देख्न पाइन्छ । नेपाली जनताले राजतन्त्र फालेर बन्द हडतालको बीचमा पनि जसरी स्वतन्त्रता अनुभूत गरिरहेका छन् त्यस्तै ती वक्ताको स्वतन्त्रतालाई लिन सकिन्छ ।
महिलावादभित्रको एक समूहलाई आफ्नो स्वतन्त्रताभन्दा अरूको मतलव नै छैन । अर्को समूहले भने प्रकृतिले जस्तै हरेक प्राणीमा माया गर्नुपर्छ, शान्ति फैलाउनुपर्छ भन्ने धारणा राख्छ । यसरी महिला सुशील हुनु र क्रान्तिकारी हुनु विपरीत भँगालाहरू हुन् । त्यसैले महिलावादको मुहान एउटै भए तापनि बग्दै गएर दुई भँगालाहरूमा छुट्टिएको छ । यी भँगाला थाहा नभएकाले पनि महिला स्वयंमा कस्तो महिला बन्ने भन्ने अलमल छ । प्रत्येक व्यक्तिमा आफ्ना नैसर्गिक अधिकार प्रयोग गर्न पाउने प्रावधान छ । यद्यपि महिलाले सामाजिक जिम्मेवारीलाई आदर गर्ने हो भने-आइमाईत्वलाई आदर गर्ने हो भने केही अधिकारलाई तिलाञ्जली दिनैपर्छ ।
महिला उर्फ आइमाई जो आमा हुन्, प्रकृति पनि हुन् । प्रकृतिमाथि अनेकौ विनाशकारी घटनाहरू भइरहन्छन्, तथापि प्रकृतिले आफ्नो नियम छाड्दैन । ढिलो, चाडो बोटबिरुवामा फूल फुल्छन् नै । यदि महिलाले पनि महिलात्वको आदर गर्ने हो भने केही अधिकारलाई तत्कालका लागि पर सार्नैपर्छ ।
प्रश्न उठ्न सक्छ, 'के रामायणकी सीताजस्ती हुनु भन्या हो ? ' त्यस्तो हुँदै होइन । सीतालाई त रामायण भरी अवला नारी बनाएर जताततै लतारिएको छ । आफूमाथि अन्याय गर्नेको त प्रतिकार गर्नै पर्छ ।
त्यसो त मेरो उपन्यास 'लेखककी स्वास्नी'को केन्द्रीय मान्यता नै हो- छोराको चाहनामा श्रीमती फेरिन्छ भने लोग्ने पनि फेर्न पाउनुपर्छ । वंशकै लागि दर्जनौं छोरीहरूको बेवास्ता गरेकैले छोरीमा वंशाधिकार लागू हुनुपर्छ भनि जिकिर गरिएको छ त्यसमा । भनाइको अर्थ हो- महिलावादको गन्तव्य विरोधतिर होइन नवनिर्माणतिर जानुपर्छ । क्रान्तिकारिताले समाज मजबुत त बनाउँछ तर समाजले महिलाबाट पाउने मातृत्व र बात्सल्य गुमाउन पुग्दछ।
आफूप्रति आश्रित वा माया गर्नेहरूलाई त माया नै गर्नुपर्छ । सहनशील हुनु, राम्रो हुनु, दयावान् हुनु भनेको बदमास हुनु होइन-बदनाम हुनु पनि होइन । बरू, प्रकृति हुनु हो । यसैले महिलावादभित्र पर्ने कुनै एक भँगालोमा बगेको यो सुशीला-कर्तव्यवान्-दयावान् महिलात्वको जतन गर्नु यो जमानाको कर्तव्य हो । यो भँगालाको आयतन बढोस् । सबैले कामना गरौं ।