मुजुरे साबुन
म २०१३ सालको कुरा गर्छु । कुरा साबुनको गर्छु पहिले ।म ६ वर्षको पुगेर सात वर्षको लागेँ जेठमा । व्रतबन्ध भएको थिएन । कपाल काटिएको पनि थिएन । आमाले तीन चुल्ठा बाटिदिनुहुन्थ्यो । केटी मानिसका भने दुई चुल्ठामात्रै बाटिन्थ्यो— पछाडिपट्टि । केटा मानिसका तीन चुल्ठा हुन्थे । पछाडि दुई र अगाडिको चुल्ठी कानतिरबाट घुमाएर पछाडिको चुल्ठीमा कसेर बाटिन्थ्यो, सितिमिति नखुस्कियोस् भनेर ।
मेरा पनि तीन चुल्ठी थिए । कपाल घना र कालो थियो । तोरीको तेल हालेर बाटेपछि त टिलिक्कै टल्किने भैगो, तर दिनभरि धुलीमाटीमा खेलेपछि त के चाहियो र लिसोले जमठ भइहाल्थ्यो कपाल ।
खाक्सीजस्तै दरफर्याउने गोडा हुन्थे । सातसात दिनमा सीमाधारोमा लगेर नुहाइदिनुहुन्थ्यो आमाले । कपाल नुहाउन माटोकै प्रयोग हुन्थ्यो । नुहाउने माटो दुई प्रकारका हुन्थे— कमेरो जसलाई सर्वोत्तम मानिन्थ्यो । अर्को हुन्थ्यो लेस्याइलो र खरी रङको जसको नामै नुहाउने माटो थियो । कमेरो माटो लिन निकै टाढा जानुपर्ने भएकाले चल्तीको ता नुहाउने माटै थियो । त्यो पनि हिउँदमा गएर ल्याउनुपथ्र्यो । बर्खामा त खानीमा पानी भरिन्थ्यो । वर्ष दिनलाई नुहाउन पुग्ने गरी सबैले घरघरमा त्यो माटो जम्मा गरेर राख्थे । लुगा धुन त खरानीपानी नै हो, काठका मुंग्राले पिटीपिटी । नैनसुतका दौरासुवाल धुनका लागि असनमा गएर भोटेसाबुन ल्याउनुपर्छ भन्थे । कसैकसैले रिठ्ठाका दाना ढड्याएर लुगा धुने, नुहाउने गर्थे । धेरै त पाए पो !
कस्तो अनौठो कुरा हगि ? पचास-पचपन्न वर्षअघिको कुरा न हो यो । हो कि होइनजस्तो । एकादेशको कुराजस्तै । कसरी बदलिइरहेको छ मानिस, उसको समाज र विश्व परिवेश । कल्पना हुन्छ यस्तै क्रमले मानिसका जीवनशैली अगाडि जाने हो भने यो पृथ्वीको कायापलट हुनसक्छ । तर सृष्टिको कानुन फेरबदल गर्न त मानिसको पिताम चल्नेछैन । एक प्रकारले मुद्दा चलिरहेको छ मानिस र सृष्टिका बीचमा । त्यसको किनारा कसरी लाग्ला ? यही मात्र चिन्ता हो ।
अझ पानी, शौचालयका कुरा गरौं । गाउँघरमा धारा कुवा हुन्थे, पर खोल्चातिर । भैंसीलाई आहाल राख्ने पोखरी हुन्थे । आजकालका जस्ता कोठामै जोडिएका शौचालय कता पाउनु ? दिसा बस्न पर्यो भने लोटामा पानी लिएर बनेलीतिर दगुर्ने हो । पिसाप लाग्दा कान्ला करेसा खोज्ने हो । बूढो, असक वा बच्चाका लागि पित्तले कोपरा राखिएका हुन्थे । खानेपानी लिन डोकामा गाग्री राखेर धारामा धाउनुपर्ने, एक घन्टा त्यसै बित्थ्यो । आइमाई माटैले नुहाउँथे र केटाकेटीलाई पनि यसैले नुहाइदिन्थे ।
लोग्नेमानिस त धारामा त्यसै खल्लमल्ल गरेर नुहाउँथे, माटो न साँटो । नुहाउँदा आइमाईहरू यस्सो ओढ्नेसोढ्नेले बेरिन्थे तर लोग्नेमानिसको त उही हो— ठाडो लँगौटी ।
इन्डिया जाने कसैकसैले बेलायती साबुन ल्याउँथे । उसलाई भेट्न जाने मानिसलाई सुँघ्न दिँदै भन्थे, 'हेर त कस्तो वासना आउँछ !' । घरमा उर्दी हुन्थ्यो, 'यो साबुन नचलाओ है ! यो ता औषधि हो । कसैको पिसाब खुलेन भने नाइटोमुनि यो साबुन दलेपछि तुरुन्तै पिसाब खुल्छ । जतन गरेर राख !' लौ अब नुहाएन के बेलायती साबुनले । तर कसैका घरमा आइमाई सुत्केरी हुनेछ भने खोइ कहाँबाट सानो टुक्रा साबुन ल्याएर जतनसँग राख्थे, बच्चालाई नुहाउन भनेर । त्यो साबुन मैले हाम्रै घरमा पनि देखेको थिएँ । नुहाउन ता होइन सुँघ्नसम्म पाएको छु ।
आमाको सुत्केरी हुने बेला भएकाले आमोईले कता गएर हो बेलायती साबुन ल्याउनुभयो । मैले 'साबुन सुँघ्छु' भनेर हत्ते गरेपछि नेपाली कागजमा राम्रोसँग बेरिएको, सानो निमकिन बिस्कुटजत्रै, तर त्योभन्दा धेरै पातलो साबुन खोलेर मलाई सुँघ्न दिनुभो । अहा ! कस्तो हरर वासना आउँथ्यो त्यसको । मैले छुन लाग्दा भने उहाँले भन्नुभो, 'नछो भाँचिन्छ । अर्काको माल, बुझाउनुपर्छ ।' त्यसपछि भने जतनसँग दलिनमा घुसार्नुभएको याद छ मलाई । यो कुरा आमाले जेठी बहिनी, लक्ष्मी पाउने बखतको हो, त्यस्तै तेह्र-चौध सालतिरको । देख्नु भो त तमासा !
म पनि कता अलमलिएँ अहिले । जुत्ताका कुरा पनि गर्न खोज्दै थिएँ । कताबाट साबुन आइपुग्यो, त्यो पनि बेलायती । भैगो जुत्ताका कुरा पछि नै गरूँला । पहिले बेलायती साबुनकै कुरा सकूँ । वासना आउँछ नि, हरर्र, त्यसैले ।
२०१४ साल चैतमा मेरो व्रतबन्ध भयो । त्यसपछि मलाई लुतो आयो । सुके लुतो । शरीरका जोर्नीजोर्नी चिलाउने । कन्याउँदा त असाध्यै मजा लाग्ने, तर कतिमात्रै कन्याउने, कहाँमात्रै कन्याउने ! सबैभन्दा मर्का भने काछ चिलाउने । अरूले देख्दा कस्तो असभ्यजस्तो लाग्ने, तर के गरूँ आफ्नो मर्का त्यहीँ छ । नङले कन्याएर धीतै मरेन । त्यसैले मकैको खोयाले कन्याउँथे म । यसरी खोयाले फराएपछि खरानी दल्थेँ । चहर्याएर पानी बग्थ्यो । मैले निकै हैरान पाएँ । एक साँझ आमासँग बाले सोध्नुभो, 'यो बच्चोले हैरान पायो । यसले अँगेरी खप्न सक्ला ? '
'अँगेरी रे ! सक्तैन यो बालकले । हाम्रा दाइले (मामा विष्णुप्रसाद) परार साल लुतो आएर निकै दुःख पाउनुभयो । एक दिन बाले अँगेरी कुटेर जीउभरि दलिदिनुभएछ । एकै छिनपछि दाइलाई डाहा, छटपटी चलिहाल्यो । घर अगाडिको सिउँडीबार फटक्कै नाघेर दिनभरि भैंसी आहालमै बस्नुभएछ । त्यसरी च्यापुसम्म पोखरीमा डुबेर यो बच्चाले अँगेरी कसरी खपोस् !' आमाको प्रतिक्रिया यस्तो आयो । मलाई अँगेरी भने लगाइएन, धन्य ! त्यो डाहा मैले खप्न परेन ।
ए ! अँगेरी भनेको के हो ? थाहा होला नि ! थाहा नभए म भन्छु, अँगेरी एक जातको वनस्पति हो । सानो खाले रूख हुन्छ यसको । ज्यादै कमजोर हुन्छन् डाँठ र हाँगा पनि । त्यस्तै भएकाले ठूलठूला हाँगा पनि सजिलैसँग मर्काएर लाछ्न सकिन्छ । यसका बोक्रा पनि राम्रा देखिँदैनन्, भद्दा, पटपटी फुटेका । हो यही अँगेरीको पात भने बिखालु हुन्छ । गाईबाख्राले खाँदैनन् । कतै झुक्किएर खाए भने जिब्रो सुनिने, पेट फुल्ने हुन्छ । अँगेरीको बिख मार्न खरानीपानी खुवाइन्छ । निकै अँगेरी खाएको छ भने त्यो बस्तु बाँच्तैन, पेट फुलेर मर्छ । यस्तो बिख मानिसको लुतोमा दल्दा के हालत होला ? धन्य, मैले अँगेरीको पीडा भने खप्नु परेन । जोगिएँ ।
बा काठमाडौं आउनुभयो— अरू काम पनि थिए होलान् । साँझ घर फर्किनुभो, अनि कोटको खल्तीबाट झिकेर 'ला ! यो कार्बोलिक साबुन ल्याइदिएको छु । जतन गरेर यसले नुहा ! लौ तैं राख् ला !' भनेर एउटा सानो कागजको बट्टा मेरो हातमा दिनुभो । मेरो हात हत्तपत्त नाकमा पुग्यो— अहा ! क्या मीठो वासना आउने हररर्र ! टुकीको नजिकै गएर त्यो बट्टा खोलेँ मैले । बट्टाको बाहिरी भागमा भने मुजुर चरोको चित्र थियो । भित्रपट्टि झिलझिले कागजमा बेरिएको दुई अम्मलको साबुन थियो— पातलो ।
त्यसको रङ भने कालो थियो । हर्हरी वासना छुट्यो । अनि त आमालाई पनि खपिनसक्नु भएछ क्यारे, 'खोइ खोइ ! कस्तो साबुन रहेछ त्यो ? धेरै वासना आइसक्यो !' भन्दै मेरो हातको साबुन लिएर ओर्काइफर्काई गरेर हेर्न थाल्नुभो । अनि मलाई भन्नुभो, 'लौ बट्टामा हालेर राख ऐले ! तेरा अरू साथीलाई नदेखा यो साबुन ! तिनले भेटे भने ता दलेर एकैचोटिमा सकिदिन्छन् । भोलि बिहान म तँलाई नुहाइदिऊँला धारामा लगेर है ! खोइ ले यो साबुन म राखिदिन्छु जतन गरेर !'
'नाइँ, दिन्न के ! म नै राख्छु तकियामुनि । यस्तो वासना आउँछ ।'
'राख् लौ तैं राख् ! तर भाँच्लास् नि !'
'भाँच्तिनँ ।'
बा तल आउनुभो लुगा फेरेर । मेरो हातमै थियो साबुन । अनि त्यो साबुन हातमा लिँदै भन्नुभो, 'ल हेर देखिस् त साबुन ? कस्तो महँगो नि तीन मोहर तिरेर ल्याएको । आमाहरूलाई एकएकवटा फरिया पनि ल्याइदिएँ । फरियाको पनि तीन तीन मोहर नै पर्यो । कति महँगी बढेको यो ? सहर ता पस्नै नसकिने भयो । माथि नै छन् फरिया, ल्याएर बत्तीमा हेर त ! रङ मन पर्छ कि पर्दैन ? '
'अब रङ मन नपरे पनि को जाने, कहिले जाने फिर्ता गर्न ? ' यो आमोईको प्रतिक्रिया र प्रश्न थियो ।
'त्यै दाह्रेको कोठीबाट ल्याएको त हो । त्यसको कोठी ता तिमीले पनि देखेकै छ्यौ ।' बाले भन्नुभो ।
'देख्न त देखेकी छु । तर त्यो दाहे्र ठगजस्तो लाग्छ मलाई त ।'
'पसले, त्यसमाथि काइँया माडबारी ! ठग्नैलाई त देश छोडेर यहाँ बल्छी थाप्न आएका हुन् । उसले पैसा पुगनपुगमा मिलाएरै दिएको छ मलाई । उधारो पनि दिन्छ । उसको कोठीमा त्यस्तै नयाँ ग्राहक छन् भने मलाई आँखा सन्काउँछ । मेरैअगाडि मैले ल्याएजस्तै धोती दुईदुई रुपियाँमा बेच्यो उसले । मलाई तीन मोहरमात्रै लियो नि त !' बाले दाहे्र माडबारीले गरेको व्यवहार बताउनुभयो ।
'होला यी धोती एक रुपियाँ पर्ने होलान् । हामीसँग मोहर नाफा खायो, अरूसँग रुपियाँ नै बजायो ।'
'त्यसो ता होला । माडबारी हो, उसले त आफ्नै बाबुलाई पनि नाफा नखाई छोड्दैन । भनेर के गर्ने अब? '
यी भए माडबारीतिरका कुरा । मेरो कुरा त कार्बोलिक साबुनतिर छ । त्यो रात तकियामुनि साबुन राखेर सुत्न खोजेँ । निद्रै नलाग्ने । घरिघरि साबुन झिकेर सुँघ्न मन लाग्ने । निकै छटपटीपछि एउटा हात तकियामुनि घुसारेर साबुनलाई मुठीमा लिएँ । यसले मेरो छटपटीमा निकै राहत दियो । अनि म पनि निदाएछु ।
भोलिपल्ट बिहान घामको पार लागेपछि आमाले भन्नुभो, 'ए ! हिँड् नुहाउन जाने अब । साबुन खोइ नि ?'
'यी !' मैले मुठी खोलेर साबुन देखाएँ ।'के आसर्जे ! रातभरि पनि हातमै लिइस् कि कसो ? '
'अँ, तकियामुनि राखेर सुतेको म ता । मेरो ओछ्यानै वासना आउँछ अहिले । कस्तो मीठो वासना छ ।' मैले आमातिर हेरेर मुन्टो हल्लाएँ । हुन पनि त्यो साबुन हात परेपछि लुतो चिलाएकै थिएन । साबुनको खुसीले लुतो चिलाउनै बिर्सियो सायद ।
आमाले मलाई सीमाधारोमा लिएर जानुभयो । उहाँले सानो डोकीमा गाग्री बोक्नुभएको थियो । म भने आमाभन्दा धेरै छिटो पुगेँ धारामा । त्यो धारोमा गाउँका सबै मानिस जान्थे— नुहाउन, लुगा धुन, पानी लिन । त्यो दिन पनि मसरहका र मभन्दा जेठा दाजु-काकाहरू थिए धारामा । कोही नुहाइसकेका, कोही गोलले दाँत माझ्दै गरेका, कोही भने खलमल नुहाइरहेका । सीमाधाराको पानी पनि अचम्मको थियो— गर्मीमा नुहाउँदा चिसो र शीतल अनि जाडोमा नुहाउँदा भने एकदम न्यानो— हर्र बाफ छुट्ने ।मैले आफूसरहको कुन साथीलाई हो साबुन देखाएँ, सुँघ्न दिएँ । ऊ कराइहाल्यो, 'ए ! ऊसँग त साबुन छ, कस्तो मीठो वासना आउने बाबै !'
'ए ! हो र ? खोइ हेरौं !' भन्दै नुहाउँदै गरेका दाजु मनेर आएर साबुन मागे । मैले दिएँ । उनी त हत्त न पत्त साबुन झिकेर टाउकामा दल्दै धारातिर कुदे । उनका पछि लाग्ने तीनचारजना थिए, 'ए दाइ ! ए दाइ ! मलाई पनि अलिकता !' भनेर टाउको थाप्ने । त्यसपछि ता नुहाइसकेका दुईजना पनि लुगा खोलेर धाराभित्र छिरे ।
अब मेरो साबुनको अस्तु पनि बच्ने लक्षण नदेखेर होला म ता डाँको छोडेर रुन थालिहालेँ । 'ए दाइ ! खोइ लेऊ मेरो साबुन आँ हाँ हाँ ! बालाई भन्दिन्छु । ए आमा, म आमालाई भन्दिन्छु आँ हाँ हाँ हाँ !' म डिलमा उभिएर रुन थालेको छु । आँखा भने धारामा झुम्मिएका छ-सातजना दाइ, काकाका हातमा छन्, यो सम्झना छ मलाई । तिनका बीचमा यस्तो आवाज आइरहेको छ, 'ए दाइ ! अलिकति यता दलिदेऊ न ! ए दाइ ! यता, यता, दाइ यता ! खोइ मैले छुनै पाइनँ ।' साबुनचाहिँ तिनै दाइको हातमा थियो जसले मसँग मागेर लगेका थिए ।
उनले आफ्नो टाउकामा राम्रैसँग लगाए । अरूका टाउकामा साबुन छुवाइदिन्थे र भन्थे, 'लगाइदिएको छु, माडमाड बजिया हो !' अहिले त्यो दृश्य सम्झेर हाँसो उठ्छ । के दलेको होस् साबुन र के माड्ने ? भनेर । त्यहाँ त मेरो रुवाइ थियो— अविस्मरणीय ।
आमा आइपुग्नुभो । म आमाको घुँडामा छाँद हाल्न पुगेँ, 'आमा ! मेरो साबुन !' भनेर । आमा रिसाउनुभयो, 'तिम्लाई बजिया हो ! उसको लुते साबुन खोसेर बालकलाई यसरी रुवाउने ? खोइ ले यता साबुन ! म चड्कन लगाऊँ तँलाई !'
म दुवै हातले आँखा माडेर रुँदै थिएँ । आमाले ती दाइबाट साबुन खोसेर लिनुभयो— 'लौ हेर त यी ! साबुन त आधा पारिदिएछन् ए दलेर । पख बदमास मोराहरू हो !' खल्याकखुलुक नुहाएर उनीहरू धाराबाट भागे । अनि मलाई भन्नुभो आमाले, 'म भन्दै थिएँ नि कसैलाई नदिनू भनेर । भो नरो ! ल लुगा फुकाल् अब !'
म लुगा फुकालेर धारामा गएँ । ठूलो थियो धारो । झ्वाट्ट पस्दा त निसास्सिने नै । आमाले साबुन दलेर मिचीमिची नुहाइदिनुभो । यसै बीचमा मजत्रै दुईजना मेरा भतिजा पर्ने दौंतरी पनि नुहाउन आए । उनीहरूले मैले नुहाएको हेरे टुलुटुलु । म तिनलाई इख्याउन थालेँ, 'यी हेर त साबुन ! बाले ल्याइदिनुभएको । कस्तो वासना आउँछ । सुँघ्छौ ? '
तिनले मेरो हातको साबुन सुँघे, 'अहा ! कस्तो वासना आउँदो पो रहेछ !'
'आउँदैन त, यसको बट्टामा मुजुर चरो छ बाबु !'
'हामी पनि त्यसले नुहाऊँ न !' एकजना भतिजाले विस्तारै भन्यो ।
'हुन्न बाबु ! यो त लुतोको ओखती हो । यसलाई लुतो आएको छ । यो साबुनले नुहायौ भने ता यसको लुतो सर्छ तिमीहरूलाई ।' आमाले तिनलाई सम्झाउनुभो । उनीहरूको मुखाकृतिको अड्कल म यतिखेर गर्छु— बरु लुतो सरे पनि सरोस् ! यस्तो वासना आउने साबुन रहेछ । नुहाउन पाए हुने ।
त्यो दिनपछि आमाले एक्लै धारामा जान दिनुभएन मलाई । उहाँले नै लिएर जानुभो साथमा । चारपाँच दिन पछिदेखि मेरो चिलाउने लुतो पनि हराउँदै गयो । साथीका बीचमा त्यो मुजुरे साबुनको चर्चा पनि सेलाउँदै गयो ।