निरोले कहाँ बजाए बाँसुरी ?
कथा भनिने र सुनिने प्रचलन कहिलेदेखि भयो ? यसको यकिन मिति कुनै तथ्यांकमा भेटिन्न । यद्यपि प्रत्येक व्यक्तिले आफ्नो जीवनको बाल्यकालमै कुनै न कुनै कथा सुनेकै हुन्छन् । कथा नसुनिएको बालापन के बालापन ? वास्तवमा कल्पना पनि गर्न सकिन्न, कथा नसुनिएको बाल्यकाल । राजकुमार दिक्पालको कथा, सुनकेस्रा मैयाँको कथा, मधुमालतीको कथा, भयंकर डरलाग्दा राक्षसका कथा, विश्वविजेता राजाको कथा... कति छन् कति रोमाञ्चक कथाहरू जसको लेखाजोखा राखेर साध्य छैन।
हामीले सुन्ने गरेका ती कथाहरूमध्ये कति सत्यकथा होलान्, कति पौराणिक होलान्, कति धार्मिक होलान्, कतिपय ऐतिहासिक होलान् । यसै सिलसिलामा रोमन सम्राट् निरोको कथा पनि एउटा प्रचलित कथा हो । भनिन्छ, दुई हजार वर्ष पहिलेका यी राजा निरो एक त्रूmर शासक थिए । आफ्नो निबन्ध संग्रह 'निरो बाँसुरी बजाइरहेछ'मा विद्वान् डाक्टर डीपी भण्डारी लेख्छन्- ''शक्तिको उन्माद र काउकुतीमा निरोलाई एक बिहान सनक चढ्यो : 'परापूर्वकालमा टायको दसवर्षे युद्धमा टाय नगर जलेको थियो ।
त्यस्तो सम्पन्न र सांस्कृतिक रूपले अति समृद्ध राज्य कसरी जलिरहेको थियो होला ? म आज उत्तेजित छु, त्यो जलनको झलकको अनुकृति हेर्न । म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु ।' शक्तिशाली सम्राट्को आदेश अक्षरशः पालन गरियो । ऐश्वर्यशाली रोम जल्न थाल्यो, प्रचण्ड रूपले ।... सम्राट् निरोले आफ्नो सबैभन्दा मनपर्ने बाँसुरी निकाल्यो र बाँसुरी बजाउँदै नाच्न थाल्यो आगोको वरिपरि ।...''
पछिल्लो चरणमा, यसरी बाँसुरी बजाउँदै रोम जलेको हेर्ने निरोको यो कथा केवल कथामा मात्रै सीमित रहेन, यो वस्तुस्थितिलाई कथाबाट निकालेर नेपाली साहित्यको कवितामा नेपाली कविहरूले प्रशस्त प्रयोग गरे । यो प्रयोगको खास अर्थ हो- मुलुक अधोगतितिर गइरहेको र त्यस्तो स्थितिप्रति कुनै चासो नदिइकन आफ्नै रसरंगमा रमाइरहने शासकप्रतिको व्यंग्य । ती कवितामा सम्राट् निरो र उनी आफैंले रोम नगरी जलाउँदै बजाएका भनिएको बाँसुरीलाई विम्बको रूपमा उल्लेख गरेको देखिन्छ ।
यसमा कुनै शंका छैन, यस प्रकारका विम्बहरूले कवितालाई सुन्दर र पठनीय बनाउँछन्, बनाएका छन् । तर यहीँनिर सम्राट् निरो, जलिरहेको रोम र बजाइएको बाँसुरीको विषयमाथि नै प्रश्न उठाइएको छ । जुन प्रश्नका लागि व्यंग्यात्मक रूपमा वरिष्ठ कवि वंशी श्रेष्ठ हाम्रा कविहरूप्रति औंला उठाउँछन्- 'कहाँ कुन ऐतिहासिक पुस्तकमा पढेका हुन् यी कवि महोदयहरूले निरोले जलेको रोम हेर्दै बाँसुरी बजाएको बयान ? '
निरोको जीवन- तथ्य
इ.सं. १३ अक्टोबर ५४ मा क्लाउदिअस सिजर अगस्तसको नामबाट निरो रोमका सम्राट् बनेका थिए, जतिखेर उनको उमेर केवल १७ वर्षको थियो । उनी अत्यन्तै बुद्धिमान, प्रतिभाशाली, साहसिक र विलक्षणताले सम्पन्न थिए ।
सम्राट् बन्नुअघिदेखि नै दासीपुत्री क्लाउदिया आकेतासँगको प्रेममा उनी समर्पित थिए । तर, दास-दासी जो रोमन साम्राज्यमा पराजय हुनेहरूलाई मानिने हुँदा त्यो प्रेमलाई विवाहमा परिवर्तन गर्न स्वभावतः त्यहाँका कानुन र सत्तालाई स्वीकार्य थिएन । जसका कारण उनको वास्तविक जीवन खुसहाल थिएन । उनका जीवनीकार गाइअस कोर्नेलिअस टयासिटसले लेखेका छन्- 'पारिवारिक जीवनमा उनी आफ्नी रानी अक्टोलियासँग सन्तोष र सुखी थिएनन् ।
'यसै प्रकार, इतिहासकार क्यासिअस दिओले पनि लेखेका छन्- 'आफ्नी विवाहिता रानी अक्टोभियासँग उनी खुसी थिएनन् ।' यसको अर्थ दाम्पत्य जीवनमा निरो विचलित थिए । र, यो विचलनलाई उनले कसरी सदुपयोग गरेका थिए भने उनी आफ्नी प्रेमिकाका साथ स्वतन्त्र तवरले वनपाखा वा नदी किनारमा घुमफिर गर्ने गर्दथे । प्रष्टै भन्न सकिन्छ- प्रेमिकासँग भावनात्मक सम्बन्ध त थिँदै थियो, त्यसभन्दा बढी त्यो सम्बन्ध पूरापूर रागात्मक थियो ।
बाँसुरी बजाउँदै रोम जलेको हेर्ने निरोको यो कथा केवल कथामा मात्रै सीमित रहेन, यो वस्तुस्थितिलाई कथाबाट निकालेर नेपाली साहित्यको कवितामा नेपाली कविहरूले प्रशस्त प्रयोग गरे ।
प्रेमिकासँगको यही सम्बन्धका कारण सैनिक अधिकारी एवम् केही सिनेटरहरू उनीसँग असन्तुष्ट त भएकै थिए, भित्री रूपबाट विरोधी पनि हुँदै गएका थिए । र, यस्तो परिस्थितिमा उनलाई पदच्युत गरिन सक्ने सम्भावना थियो । जुन सम्भावनाबाट परिचित सम्राट् निरो कहिलेकाहीँ आफूलाई एक्लो अनुभव गर्दथे । र, यो एक्लोपनबाट उन्मुक्ति पाउने बहानामा उनी त्यतिखेर रोम र ग्रिसमा प्रचलित बाजा 'लायर' बजाउने गर्थे ।
लायरको आकार
यो अलिअलि भ्वाइलिन जस्तो देखिन्छ । यसमा कलात्मक चौकोसका तल-माथि नाइलनको तार तन्काएर बाँधिएको हुन्छ । तर भ्वाइलिनमा जस्तो तारमा गज रेटेर बजाइने नभई तिनै तारहरूमा केवल औंला चलाएर बजाइन्छ । यसको सीधा अर्थ के हो भने उनको जीवनमा बाँसुरीको सम्बन्ध एकरत्ति पनि छैन । उनको जीवनी मुताबिक निरो वास्तवमै संगीतप्रेमी त पक्कै थिँदै थिए । सिंहासनमै बसेर पनि वा वनजंगल या नदीकिनारमा गएर उनी लायर बजाउँथे, सँगसँगै गीत पनि गाउँथे । ठीक यहीँनिर ध्यान दिनुपर्ने एउटा तथ्य यही हो कि उनी संगीतका कुनै वाद्यवादन बजाउँथे भने त्यो बाजाको नाम 'लायर' हो, कुनै 'बाँसुरी' होइन ।
'लिखित इतिहासमा यसरी गरिएको प्रष्टतालाई कविता लेख्नुको नाममा कविहरूले मनगढन्ते रूपमा कुनै ऐतिहासिक व्यक्तिमाथि विम्ब बनाउनु अत्यन्त खेदजनक छ ।' कवि वंशी श्रेष्ठ आक्रोश पोख्छन्- 'कुरो यतिमात्रै होइन, इतिहासमा कहीँ उल्लेख नै नभएको तथ्य अर्थात् रोममा निरोले आगो लगाएको आधारहीनता नेपाली कविहरू जसले आफ्नो कवितामा उल्लेख गर्नु आपत्तिजनक मात्रै होइन तिनको त्यो अक्षम्य अपराध हो ।'
जहाँसम्म रोमको इतिहासमा उल्लेख छ, निरोले राज्य चलाएको एक दशकपश्चात् इ.सं. ६४ मा रोम सहरको दक्षिणपूर्वी भागमा आगो लागेको सही हो, जुन आगोले सल्किँदै गएर अन्ततः रोमको १३ भागमध्ये सात भागमा क्षति पुर्याएको थियो भने तीन भाग पूर्ण रूपले ध्वस्त भएको थियो । यो आगो निरन्तर कैयौं दिनसम्म बलेको थियो भन्ने इतिहासकारहरूले लेखेका छन् । इतिहासकार ट्यासिटसले पाँच दिन, सुटोनिअसले ६ दिन भनेका छन् भने दोमिटिअसको सिलालेखमा नौ दिन लेखिएको छ ।
वास्तवमा मूल प्रश्न भने यो हो- आगो कसरी लाग्यो रोममा ? वा कसले लगायो ? इतिहासकारहरूले भनेका छन्- आगो जुन क्षेत्रबाट लाग्न सुरु भयो त्यहाँ प्रज्वलन पदार्थ बेचिन्थ्यो, त्यो दासहरूको बस्ती थियो । र, यही बस्तीबाट कट्टरपन्थी रोमवासीहरूले आगो सल्काएका थिए । तर उल्टो रोम सहर जलाउनका लागि दासबस्तीबाट आगो सल्काइएको आक्षेप दासहरूमाथि नै लगाइएको थियो । र, यो आक्षेप निरोप्रति परिलक्षित थियो । किनकि दासहरूप्रति आफ्नी प्रेमिकाका कारण उनी बढी नै सम्मोहित थिए । सम्भवतः यसको अर्थ थियो, दासहरूले गर्ने जे-जस्तो कृत्य पनि उनलाई स्वीकार थियो ।
वास्तवमा, यसरी आगलागी सुरु हुनासाथ सम्राट निरोले आफ्नो सेनालाई आगो निभाउने आदेश दिएका थिए । तर त्यही आगलागीको विषयलाई लिएर आरोप-प्रत्यारोपको सिलसिलाले तीव्रता लियो ।
निरो दरबारभित्रको षड्यन्त्रबाट मुक्त हुन सकेनन् । उनलाई सत्ताच्युत गराउन सेनाहरूले झन् बढी चलखेल गर्न थाले । पहिले त उनको आमाको हत्या गरियो । यसबीच प्रेम-विरहको उत्पीडन उत्तिकै मात्रामा उनीभित्र गुम्सिरहेकै थियो ।
त्यो इ.सं. ६८ को को समय थियो । अन्ततः षड्यन्त्र र प्रेमको भुमरीभित्र रुमल्लिरहेको अवस्थामा उनले आफू षड्यन्त्रको सिकार भएर मारिनुभन्दा प्रेममाथिको बलिदानलाई स्वीकार गर्ने हेतुले दरबारबाट बाहिर निस्किए र टिइबर नदीको किनारमा पुगे । नदीकिनार पुग्नुअघि उनले आफ्नी प्रेमिका आकेतालाई अन्तिम भेट गरे र नदीकिनारको एकान्तमा पुगेपछि उनले स्वयम् आफ्नो हातको रक्तनली काटे । अर्थात्, त्यो उनको आत्महत्या थियो ।
इतिहासकार सुटोनिअस भन्छन्- आत्महत्यापूर्व निरोले बोलेका थिए-'न मेरा मित्र छन्, न शत्रु नै । अहो, मभित्र कस्तो कलाकार मर्दै छन् !'उनको शवलाई सहरबाहिर पिनसियन पर्वतको 'भिला बर्गेस'मा समाधिस्थ गरियो । उनको निधनले रोमवासी निकै ठूलो शोकमा डुबे ।
इतिहासकार फिलोस्ट्रटस तथा अपोनिअसले लेखेका छन्- 'सम्राट् निरोले रोम र हेलस (ग्रिस) को स्वतन्त्रता पुनस्र्थापित गरेका थिए ।' साथै अन्य इतिहासकारको मान्यता छ- निरोले रोम र ग्रिसको सम्बन्ध सुमधुर बनाएर रोमन साम्राज्यको प्रतिष्ठा बढाएका थिए । उनको यस्तो राष्ट्रवादी कार्यको खुलेर सराहना गरेका थिए उनका सिनेटरहरूले । तिनको स्वीकारोक्ति छ- रोम नगरलाई सांस्कृतिक राजधानीको रूपमा प्रतिष्ठित गर्न उनले थुप्रै उल्लेखनीय काम गरेका थिए ।
निरोका इतिहासबाट मूलतः उनको विशेषतालाई यसरी सानो शब्दचित्रमा उतार्न सकिन्छ-
- मूलतः उनमा कलाकार व्यक्तित्व बढी थियो ।
- संगीतका मर्मज्ञ थिए ।
- उनी भावुक थिए, संवेदनशील थिए ।
- खेलकुदमा चाख थियो उनको, विशेषतः तरबारबाजीमा उनको ठूलो सोख थियो । इ.सं. ६७ को खेलमा भाग लिन उनी स्वयम् ग्रिस गएका थिए । उनको जीवनीमा उल्लेख भएअनुसार दसघोडा बग्गी-हँकाइको प्रतिस्पर्धात्मक खेलमा उनी बग्गीबाट लडेर घाइतेसमेत भएका थिए । तथापि त्यसबखत उनले थुप्रै पदकहरू जितेका थिए ।
- संस्कृतिमाथि पनि उनको विशेष लगाव थियो ।
- नाट्यकलाकारहरूलाई प्रोत्साहन दिएर रोम-नाट्यशालाको प्रतिष्ठा उठाउनुमा उनको ठूलो भूमिका थियो।
- उनी कवि पनि थिए, आफूले लेखेका कविता अन्यलाई वाचन गराउँथे भने आफैंले गीत पनि रच्थे र आफूले लायर बजाएर अरूलाई गाउन लगाउँथे ।
अन्तमा, निरोको जीवनमा बाँसुरीको प्रसंग कहीँ कुनै इतिहासमा उल्लेख छैन । न उनको जीवनीमा लेखिएको छ न त इतिहासकारहरूले नै लेखेका छन् । यस दृष्टिकोणबाट हेर्दा रोम जलेको हेरेर मस्तले बाँसुरी फुक्दै निरो रमाइरहेको भन्ने तर्क युक्तिसंगत छँदै छैन । नेपाली कविताको क्षेत्रमा खोइ कसरी प्रवेश ग¥यो यो विषयले ? यस अर्थमा सम्भवतः रोम, निरो र बाँसुरी एकअर्काका परिपूरक मानेर कविता वा कुनै पनि साहित्यिक विधामा प्रयोग गरिनुको औचित्य नै छैन ।
यत्ति भन्न सकिन्छ- सर्वथा गलत र भ्रमका शब्दजालमा पाठकलाई अल्झाउने यस प्रकारको अक्षरको खेती गर्नु नेपाली साहित्यको लागि
'हानिकारक' छ ।