यथार्थ र कल्पना नघोलिएको कक्टेल

यथार्थ र कल्पना नघोलिएको कक्टेल

'उफ् नम्रता...।' कृष्ण अविरलकृत उपन्यास 'नम्रता' पढिसकेपछि यसरी लामो उच्छवास लिन मन लाग्छ । पाठकको मन भरिएर आउँछ । बाबुको इज्जतको मानसिक ज्वालामा जलेर खाग भएकी छोरी । वर्गीयता र राजनीतिको समानान्तर चरित्रले च्यातिदिएको उसको किशोर प्रेम । प्रेममात्र कहाँ, गुमेको मानसिक र शारीरिक संगति सँगसँगै भत्किएको सिंगो जिन्दगी । समाजले दिएको तथाकथित सम्मान जोगाउन उक्सिएको व्यक्तिगत हिंसा, दोहोरो व्यक्तित्वको हिंस्रक प्रताडना र चेतनाको पलायन ।

Image may contain: 1 person, closeupआज पनि प्रेमको यस्तै परिवेश छ समाजमा । प्रेम र समाज जन्मजात विपरीत हुन् । समाजले प्रेमलाई या भनैाँ व्यक्तिलाई मेसिन बनाउन कोसिस गर्छ र प्रेम त्यहाँभित्र छटपट गर्दै अधुरो सास फेरिरहन्छ । समाजले तय गरेको स्थानभित्र रहन मानिस आफ्नै सन्तानसँग यति निर्दयी हुन सक्नुचाहिँ विशेष कुरा हुन्छ । जसरी होस्, सन्तान बाँचेको हेर्ने कामना गर्नु वात्सल्यको प्राकृतिक र आधारभूत आकांक्षा हुन्छ । तर, समाजको स्तरले यहीँनिर प्रहार गरिदिन्छ । छोरीको प्रेमविरुद्ध एउटा बाबुले घरमा कालकोठरी निर्माण गरिदिन्छ, अध्ययन बन्द हुन्छ, सामान्य जीवनका सबै क्रियाकलापमा पावन्दी लगाइदिन्छ । आमा पनि दयाहीन हुन्छिन् । आमालाई पनि दयाहीन सम्झेर दुखी हुन्छे छोरी । यसरी प्रेमका कारण जीवन बर्बाद भएकी अवला किशोरीको साथसाथै हिँडिरहन्छ कथा ।

अविरलले आफैं घोषणा गरेका छन्, 'पाठकहरू मबाट अनुसन्धानमूलक उपन्यासको आशा गर्छन् । तर, मैले सामाजिक उपन्यासतिर हात हालेको छु । सामाजिकमात्र होइन यो मनोविज्ञानमा आधारित चरित्रप्रधान उपन्यास पनि हो ।' उपन्यास पढ्नमात्र सजिलो विधा हो । लेख्न त यसले लामो धैर्यको माग गर्छ । कथाको उठान, भाषाको कला र शिल्प अनि बुनोट (संरचना) आदि आदि समालोचकीय टिप्पणी मेरो मेनुमा छैन । तथापि मध्यम भाषाको उपस्थितिले घरिघरि स्वाद दिएन पढिरहँदा । एउटा अर्कै संसार निर्माण गरेर त्यतै सयर गराउने चामत्कारिक क्षमता त हुँदैन सामाजिक उपन्यासमा । तर, भाषाले निकै काम गर्नसक्छ । साहित्यको शक्ति पनि त भाषा नै हो । परिवेशको रूपमा स्थान स्पष्ट गरिए पनि वा नगरिए पनि उपन्यासले नयाँ स्थान निर्माण गर्न सक्नुपर्छ किनकि यो रिपोर्ट होइन । उपन्यास सत्यताको विवरणमात्र पनि होइन ।

झापालाई परिवेश बनाएर लेखिएको उपन्यासमा भद्रपुर, चन्द्रगढी, राजगढलगायत त्यहाँका लगभग सबै स्थानका नाम उल्लेख गरिएको छ । कताकता ती प्रायोजित लाग्छन् या अनुसन्धानमूलक उपन्यास लेख्दाको आदत यता पनि सरेजस्तो लाग्छ । पुस्तकमा मात्र पढिएको ठाउँ सशरीर पुग्दा रोमाञ्चक अनुभूति हुन्छ । पहिलोपटक टिस्टामा पुग्दा मलाई इन्द्रबहादुर राईको लेखनको तिखो सम्झना भएथ्यो । जीवनका उर्भर ६ वर्षहरू मैले पनि टिष्टाकै परिवेशमा बिताएकी हुँ । मलाई उपन्यासले फेरि त्यहीँ पुर्याइदियो प्रत्यक्ष । यो उतार सफल पनि देखिन्छ । तर, मैले जानेका र उपन्यासमा प्रयोग गरिएका धेरै पात्रका नाम उक्त क्षेत्रमा बसोबास गरेका प्रख्यात मानिसका नामसँग मिल्छन् । मलाई उपन्यासमा वास्तविक नामको प्रयोग गरिएको किताब यथार्थ र कल्पनाको राम्ररी नघोलिएको कक्टेलजस्तो लागिरह्यो । यसो गर्नुमा लेखकको कुनै अमूक प्रयोजन लुकेको छ कि भन्ने आभास भइरह्यो ।

सुरुआतमा लेखक भद्रपुर पुग्नु, नांगै सडकमा कुदिरहेकी नारीसँग जम्काभेट हुनु, पानी पर्नु, छिमेकीसँग सोध्नु र पछि उपन्यास सुरु हुनु । लेखनको यस लीलालाई मेरो मनले स्वीकारिरहेको छैन । सरासर उपन्यास सुरु भएको भए पनि कथा आफैं अघि बढ्थ्यो ! मैले यस्तै सोचिरहेँ । लेखक आफूलाई पुरुष घोषणा गर्छन् उपन्यासमा । कताकता उपन्यास पुरुष आँखाले देखेको एकपक्षीय व्याख्यामा पनि हराउँछ । नम्रताको प्रेमी गोविन्दले सामान्य व्यवहार सुरु गरेको चित्रले भित्र कतै लैंगिक चित्त बिझाएर आउँछ । के गोविन्द त्यागी हुन सक्दैनथ्यो ? या पुरुषले भोग्ने परिवारको भार, एक्लो छोराले भोग्ने भारीको बोझ पो देखाएका हुन् कि लेखकले ? यस्तै सोचेर मौन रहेँ म । तर नन्दिनी (नम्रताकी आमा)लाई अति कठोर देखाउनुमा साँच्चै मातृत्वको बयानमा लिंगीय अन्याय भएको ठानिरहेँ ।

लेखक भद्रपुर पुग्नु, नांगै सडकमा कुदिरहेकी नारीसँग जम्काभेट हुनु, पानी पर्नु, छिमेकीसँग सोध्नु र त्यसपछि उपन्यास सुरु हुनु । लेखनको यस लीलालाई मेरो मनले स्वीकारिरहेको छैन । सरासर उपन्यास सुरु भएको भए पनि कथा आफैं अघि बढ्थ्यो !

किताबमा सबभन्दा प्रभावशाली रूपमा आएको छ- राजनीति । अझ पञ्चायत राजनीति र पञ्च चरित्र । भयंकर कटु यथार्थ त्यस समयको । भूमाफिया, जंगल फडानी, सुकुमबासी समस्या, सत्ताको ताण्डव, विपक्षीलाई गर्ने राजनीतिक अभियोग र जेलसजाय आदि आदि । यस विषय उधिन्न उपन्यास सफल छ ।

आख्यानमा पात्रलाई सन्तुलित न्याय हुनु वा पात्रविधान गर्दा अन्याय हुन्छ कि भनी सावधान हुनु जरुरी हुन्छ । खडानन्दको दुईटा रूप, घरायसी कठोरपना, सामाजिक नेतृत्वको स्वरूप र परिवारप्रतिको राक्षसीपन । यसै व्याख्यामा उपन्यास रुमलिइरहँदा नम्रता ओझेल परेकी छ धेरै ठाउँ । के उपन्यासको प्रधान पात्रमा दुईजना पात्रले प्रतिस्पर्धा गरिरहेका हुन् ? मलाई लेखकसँग यही प्रश्न सोध्न मन लागेको छ । अथवा लेखक मनोविज्ञान नम्रताको नाम लेखेर पुस्तकको शीर्षकीय प्रभाव प्रसार गर्न उद्यत पो भएका हुन् कि ? मेरो एक मनले शंका गर्छ ।

उपन्यासले चित्र देखाएर छोडिदिन्छ । किशोरहरूलाई किताबले के भन्न खोजिरहेको छ ? प्रेम गर या नगर ? अभिभावकलाई के भन्न खोजिरहेको छ ? प्रेम गरेकी नम्रताकी एकजना साथीलाई बाबुआमाले हाँसीखुसी उसकै प्रेमीसँग विवाह गरिदिएका छन् । समाजले यसरी पनि त प्रेमलाई आ श्रय दिनसक्छ भन्छ उपन्यास ।

कसरी व्यवस्थापन गर्ने हो किशोर प्रेमलाई ? के पढाइ, जागिर, व्यक्तित्वपछि मात्र प्रेम ? प्रेम गर्ने उमेर के हो ? यी सब कुराको उत्तर पाठक आफैंले खोज्नुपर्नेछ । प्रेमका कारण पीडा नदेऊ र पीडाका कारण प्रेम नगर । के प्रेम गर्ने कुनै नैतिक अनुशासनको शास्त्र लेखिन बाँकी भएकैले यसो भएको हो ? आदि अन्तहीत प्रश्नका उत्तर असमाधान नै छन् आजसम्म । तर, समाज प्रेममा उदार नभएकाले यस्तो भएको हो भनी उपन्यासले उठाएको विषय सत्य लाग्छ । किताबले प्रेमको सामाजिक व्यवस्थापनका निम्ति आह्वान गरेझैं लाग्छ । प्रेमको कारण कसैको पनि जीवन बर्बाद नहोस् भन्नु नै किताबको अभीष्ट रहेको लेखकले स्वीकारेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.