द मेकिङ अफ 'अवतार'
समयले सबै पीडालाई भुलाउनसक्ने सामथ्र्य राख्छ । बाल्यकालका पीडा, युवा अवस्थाका पीडा हुन् या जीवनका अनेक चरणका पीडा समयसँगै विस्तारै बिलाउँदै जान्छन्, समयले बनाएको गहिरो घाउमा समयले नै खाटा लगाउँछ । हाम्रोजस्तो समाजमा चाहिँ यही समयले झन्झन् पीडा थप्दै जाँदो रहेछ । यस्तो किनभने यो समय समाज र विकासको अवधारणाबाट गाइडेड छैन, राजनीतिबाट छ । केही वर्षयता हामीले ठूला परिवर्तन देख्यौं । तर, हामीले अझै पनि देशमा तथा संसदीय व्यवस्थामा 'पोलिटिकल कल्चर' विकसित भएको देखेका छैनौं । अहिले पनि हाम्रा लागि हाम्रै देशको राजनीति एउटा 'पज्जल' हो, जुन न अनुमान गर्न सकिन्छ न सोचिएका कुनै विकल्पअनुसार चलिरहेको हुन्छ ।
तर, यस्तो हुन थालेको आज होइन । हाम्रो राजनीतिक इतिहास नै अत्यन्त पीडादायी छ । समयअनुसार जे सोचिएको थियो त्यो भएको छैन, जे कल्पना पनि गरिएको हुँदैन, त्यो बारम्बार हामीमाझ आइरहेको हुन्छ । राजनीतिमा देखिएको यस्तो प्रवृत्तिले हाम्रो समाज तथा जीवनलाई लथालिंग पारेको छ । हाम्रा आवश्यकतामाथि र दैनिक जीवनयापनमा यही राजनीतिले एउटा ठूलो व्यंग्य गरिरहेको छ । मलाई थाहा छ, हाम्रो देशमा एउटा सानो सलाई, नुन, खानेपानी तथा औषधिको मूल्य थपघट हुनुमा पनि राजनीतिको ठूलो प्रभाव पर्छ ।
गत वर्ष गएको विनाशकारी भूकम्प र लगत्तै भएको भारतीय नाकाबन्दीका कारण हामीले ठूलो समस्या भोग्नु पर्यो । भुकम्प गएलगत्तै राजनीतिक दलहरू एकअर्कासँग मिलेजस्तो गरे । लामो समयदेखि सहमति नभएका बुँदामा सहमति भयो । र, संविधान घोषणा भयो । संविधान जारी भएको यत्तिका समय भइसक्दा पनि अझै हामीले राजनीतिको स्टेबल स्वरूप देख्न सकेका छैनौं ।
यो त अहिलेको राजनीतिको परिदृश्य भयो । अब केही समय अगाडि फर्कौं । देशमा १० वर्षे द्वन्द्वले धेरै समस्या निम्तियो । यही द्वन्द्वका कारण मेरो जीवनमा पनि निकै मोडहरू आए । देशमा सशस्त्र द्वन्द्व हुँदैनथ्यो भने लमजुङमा म पढिरहेको स्कुल बन्द हुँदैनथ्यो, मैले तय गर्ने बाटो अर्कै हुने थियो । लमजुङको स्कुल बन्द भएपछि म चितवन गएँ, नयाँ परिवेशमा आफूलाई पाएँ ।
त्यति बेला म चितवनबाट छुट्टीमा लमजुङ जाँदा अनेकौं ठाउँमा प्रहरी तथा सेनाका चेकिङ हुन्थे । ठाउँठाउँमा गाडीबाट झरेर १० मिनेटजति हिँड्दै आफ्नो झोला खोलेर देखाउनुपर्ने हुन्थ्यो । एउटा स्कुले विद्यार्थी म, झोलामा स्कुलका किताब लिएर घर जान्थेँ । ती किताबबारे मैले प्रहरी तथा सेनालाई ब्रिफिङ गर्नुपर्ने हुन्थ्यो । घरमा गएपछि देशको राजनीतिका कारण मैले त्यस्तो दुःख पाएको हुँ भनेर बुवाममीले सुनाउनुहुन्थ्यो ।
फलस्वरूप मेरो मनमा थिग्रिएर राजनीतिप्रति एउटा वितृष्णा बसिरहेको थियो ।केही समयपछि शान्तिवार्ता भयो, केही बुँदे सहमति भए । म पनि समाचारमाथि काम गर्न थालेँ । यहाँ पनि मलाई राजनीतिले नछोई रहेन । यसको कारणले गर्दा राजनीतिसँग म नजिक भएँ । प्रविधिले जसै फड्को मारिरहेको थियो, म पनि राजनीतिक घटनाक्रमसँग नजिक भइरहेको थिएँ । मोबाइलमा अब विभिन्न सञ्चारमाध्यमका याप्स आउन थाले । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका त्यस्ता याप्समा सबैभन्दा बढी पप अप राजनीतिसँग सम्बन्धित समाचारकै आउँछन् । यही कारण पनि मैले राजनीतिलाई आफ्नो जीवनबाट कहिल्यै टाढा भएको देख्न पाइनँ ।
अनि यही राजनीतिलाई मेरुदण्ड बनाएर लेखेको हुँ, उपन्यास 'अवतार' ।'अवतार' सरसर्ती भनिएको एउटा कथा होइन । यसमा राजनीतिक क्यारेक्टर छन्, समाजका मिथ र विश्वासबाट गाइडेड भएका क्यारेक्टर छन् । र, हाम्रो समाजमा बारम्बार सुनिने हल्लाहरू जुन समयले कालान्तरमा इतिहास बनाउँछ, त्यसले मभित्र एउटा फरक स्वरूप निर्माण गरिरहेको रहेछ । यी सबै प्रभाव र ममा भएका विचारको समि श्रणले जन्माएको हो, 'अवतार' ।
यति ठूलो राजनीतिक अस्थिरता, सामाजिक अस्तव्यस्तताबीच पनि हामीकहाँ सपनाहरूको ठूलो अर्थ छ । हामी सपनाहरू देखिरहेका छौं, कतिपय सन्दर्भमा राजनीतिक सपनाले हामीलाई भोलिका लागि आशावादी बनाएका छन् भने कतिपय सन्दर्भमा हाम्रा सपनाहरू लोककथाहरूमा आधारित छन् । लेखिएका र नलेखिएका मिथ र हाम्रो सामाजिक संरचनालाई हेर्ने हो भने हामीले निकै धेरै कथाहरू हाम्रो वरपर घुमिरहेका पाउँछौं ।
समाजको विभेद होस् या राजनीतिक आस्थाका कारण छिन्नभिन्न भएका सामाजिक परिस्थितिहरू नै किन नहुन्, सबैले हाम्रो जीवनलाई कतै न कतै प्रभाव पारिरहेका हुन्छन् । यी सबै कुरा लेख्नुपर्छ भन्ने मलाई तब लाग्यो— जब मभित्र यी कुराहरू उकुसमुकुस हुन थाले ।
मैले उपन्यास 'अवतार' यसकारण पनि लेखेको हुँ— म आफूले बाँचेको समयलाई कलाका माध्यमबाट प्रस्तुत गर्न चाहन्थेँ । १३ फ्रेबुअरीको रात जब मैले उपन्यासको अन्तिम वाक्य लेखेँ, मैले आफूभित्रबाट कतै हराइरहेको खुसीलाई बल्ल महसुस गर्न थालेँ । यसको अर्थ के भने मैले आफ्नो खुसी शब्दहरूमा व्यक्त मनको पोयो फुकाएपछिमात्र भेट्ने रहेछु ।
राजनीति भनेको एउटा पहेली हो, समाधान गर्न नसकिने एउटा 'पज्जल'÷'रिडल' हो भन्नेमा म विश्वस्त भएँ । के पनि साँचो हो भने जीवन पनि त यस्तै पज्जल हो, जुन कहिल्यै निर्धारित गोरेटोमा हिँड्दैन, जुन कहिल्यै समाधान गर्न सकिँदैन ।
यो राजनीति र हाम्रो समाजका विशेष घटनाहरूले उपन्यासमा प्राथमिकता पाउनुको अर्को कारण हाम्रो समाजमा लेखिइरहेका अरू उपन्यास पनि हुन् । पछिल्लो समय नेपाली साहित्य निकै उर्वर भएको मानिन्छ । त्यसमाथि पनि पछिल्ला केही वर्ष बजारमा अत्यन्त छिटोछिटो नयाँनयाँ उपन्यास आइरहेका हुन्छन् । म ती उपन्यासको 'क्लोसेट' पाठक हुँ । ती उपन्यास पढ्दा मलाई सधैं केही न केही खड्किरहन्थ्यो । जस्तो कि— एउटा उपन्यासमा म जीवन पाउँथे, हाम्रो समाज पाउँथे र अर्कोमा राजनीति पाउँथे, राजनीतिक विचारधाराका कुरा पाउँथे । तर, मैले सोचेजस्तो कथा लेखिएको उपन्यास पाइनँ जसमा राजनीति र हाम्रो समाजको कनेक्सनलाई कलात्मक रूपमा लेखिएको होस् ।
हामी पछिल्लो समय विषय र कथामा जति समृद्ध हुँदै गएका छौं, हाम्रो राइटिङ स्टायल र प्रस्तुतिको शैलीचाहिँ मनोटोनस हुँदै गइरहेको मैले महसुस गरेको थिएँ । त्यसैले पनि म प्रस्तुति, विषय र प्लटमा नयाँ भएको एउटा कथा सिर्जना गर्न चाहन्थेँ, जुन हाम्रो जीवनसँग नजिक होस् । त्यसैको फलस्वरूप उपन्यास बन्यो, अवतारको जन्म भयो ।
गत भदौ÷असोजतिर हुनुपर्छ । एक बिहान म चिया पिउनका लागि घरबाट निस्किएर चोकमा पुगेको थिएँ । त्यही चोकनजिकै एक युवाले त्यही बिहान आत्महत्या गरेछन् । चिया पसलमा केही समय त्यो आत्महत्याबारे निकै धेरै टीकाटिप्पणी गरिए । ती युवाको आत्महत्याको कारण खुलेको थिएन, र चोकमा ती कारणबारे अनेक अनुमान गरिएका थिए । यी अनुमानहरूमा ती युवाको आत्महत्याका कारक जीवन, प्रेम वा सफलता÷असफलतामात्र थिएनन्, राजनीति पनि प्रमुखताका साथ आइरहेको थियो । मलाई त्यही समय महसुस भयो— राजनीति हामी नेपालीको नशानशामा भेटिन्छ— चाहे राजनीति मन पर्दैन भन्नेको होस् या आफूलाई राजनीतिबाट टाढा राखेको छु भन्नेको नै किन नहोस् । यस्तो हुनु राम्रो पनि हो, नराम्रो पनि हो । यसले समाजलाई फाइदा पनि गर्छ, बेफाइदा पनि गर्छ ।
त्यो दिनभर मेरो मनमा यस्तै राजनीति र हाम्रो समाजको कुरा खेलिरह्यो । त्यसको केही दिनमा देशमा सरकार परिवर्तन हुने, सरकारमा भएका राजनीतिक पार्टीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेजस्ता हल्लाहरू चल्न थाले । यस्ता हल्ला चल्न थालेको केही दिनमा नभन्दै सरकार कमजोर देखियो, त्यसअघि कमजोर भनिएको प्रतिपक्ष निकै बलियो देखियो । राजनीतिक पार्टीहरूको आस्था र विचार, सिद्धान्त र नीतिका कारण यो भएको थिएन । किनकि हाम्रो देशमा यस्तो राजनीतिक 'कल्चर' अहिलेसम्म देखिएको छैन ।
ती युवाको आत्महत्या र राजनीतिक दलको आस्थाविहीन, नीतिविहीन, संस्कारविहीन राजनीतिका कारण मेरो मनमा निकै दिन विचारको संघर्ष चलिरह्यो ।अर्कोतिर अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनलाई पनि मैले यसपटक नजिकबाट 'फलो' गरिरहेको थिएँ । अमेरिकाजस्तो विकसित देशमा पनि यसपटक राष्ट्रपतिका दुई प्रमुख उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले एकअर्काको शारीरिक कमजोरीमाथि व्यंग्य गरिरहेका थिए ।
उनीहरूले विभिन्न ठाउँमा दिएका भाषण सुन्दा त्यो कुनै विकसित देशको राष्ट्रपति उम्मेदवारले गर्ने भाषण हो भन्ने अनुमान गर्न सकिँदैनथ्यो । यो दृश्यका कारण पनि राजनीति भनेको एउटा पहेली हो, समाधान गर्न नसकिने एउटा 'पज्जल'÷'रिडल' हो भन्नेमा म विश्वस्त भएँ । र, फेरि के पनि साँचो हो भने जीवन पनि त यस्तै पज्जल हो, जुन कहिल्यै निर्धारित गोरेटोमा हिँड्दैन, जुन कहिल्यै समाधान गर्न सकिँदैन ।
मैले अमेरिकी राष्ट्रपति निर्वाचन, बेलायतमा ब्रेक्सिट, ग्रिसको मन्दी, भारतीय राजनीति सबैलाई नजिकबाट हेरिरहँदा आफैं झन्झन् अलमल भइरहेको पाइरहेँ । राजनीति त बुझ्न नसकिने कुरा रहेछ, जुन एउटा ठूलो पहेली रहेछ । अनि जीवन पनि । यही मेरो बुझाइले 'अवतार' जन्माएको हो ।
(घिमिरेको पहिलो उपन्यास 'अवतार' केही दिनमै बजारमा आउँदैछ ।)