मन्दाक्रान्ता ‘करेज'
![मन्दाक्रान्ता ‘करेज'](https://annapurnapost.prixacdn.net/media/albums/Mandakranta1-58df4273b3d5f7.44865334_zn9XCh9ZkP.jpg)
१५ सेप्टेम्बर १९७२ मा कोलकाताको टलिगन्जमा जन्मिएकी मन्दाक्रान्ता सेनलाई ‘प्रोलिफिक पोएट'भन्दा फरक पर्दैन । उनले समकालीन बंगाली साहित्यमा ल्याएको हलचल पर्याप्त छ उनको व्याप्ति नाप्न । पश्चिम बंगालको सुन्दरवन डेल्टामा पाइने रोयल बेंगाल टाइग्रेसझैं गर्जिन्छिन् उनी कवितामा, कथामा, उपन्यासमा । विधागत विविधतासितै हिँडिरहे पनि उनी आफूलाई अरूले ‘कवि' भनेर सम्बोधन गरेको मन पराउँछिन् ।
सानैदेखि कविता लेख्ने बानी परेकी मन्दाक्रान्ताले आफ्नाे अन्तिम एमबीबीएस परीक्षाको एउटा विषय बाँकी छोडेर कविता लेख्न थालेपछि उनको परिवार र बन्धुवृत्तमा निकै ठूलै हलचल मच्चियो । त्यसरी औपचारिक शिक्षा छाड्ने साहस (करेज) देखाएर लेखिएको कविता संग्रह ‘हृदय अवाध्य मेये' (हृदयः एउटी अटेरी केटी) ले उनलाई सन् १९९९ मा उनलाई पश्चिम बंगालकै प्रतिष्ठित आनन्द पुरस्कार दिलायो ।
त्यसताका पाँच लाख राशिको यो पुरस्कार आनन्दबजार पत्रिका समूहले स्थापना गरेको पुरस्कार हो जुन हरेक वर्ष बंगाली भाषामा लेखिएका कृतिहरूलाई सन् १९५८ देखि निरन्तर रूपमा प्रदान गरिँदै आएको छ । उनी आनन्द पुरस्कार पाउने सबैभन्दा कलिली साहित्यकार पनि हुन् । यसपछि मन्दाक्रान्ताको सिर्जनायात्रा कतै रोकिएको छैन ।
कुनै पनि किसिमको अन्याय पटक्कै नसहने उनको अर्को बानी हो । सन् २००८ मा उडिसाको भुवनेश्वरमा भएको सार्क साहित्य सम्मेलनमा उनी पनि आमन्त्रित थिइन् । भुवनेश्वर पुगेकै दिनदेखि नै लेखक साहित्यकारहरूलाई राम्रो सम्मान गरिएन, भारतकै इज्जत गयो भन्दै गन्गन् गरिरहेकी थिइन् । दोस्रो दिनको कार्यक्रम कटक सहरको रेवान्सा विश्वविद्यालयको हलमा हुने तय गरिएको थियो । हामी सबैलाई एकाबिहानै कटक लैजान भनेर बसमा बस्न भनियो । कटक पुगेर कार्यक्रम हल छिर्दा ११ बजिसकेको थियो ।
हामीले बिहानैदेखि केही खाएका थिएनौं । नौलो ठाउँ, कार्यक्रम सकेर खुवाउँलान् भन्नेमा थियौं । अचानक कार्यक्रम सुरु गर्न लाग्दा एउटा महिला आवाज चिच्यायो ‘वी आर पोएट्स, नट बेगर्स, ह्वाट डु यु थिंक । वी आर हङ्ग्री एन्ड यु पिपल वान्ट टु लिसन टु आवर पोएम्स ? सेम अन यु ।....' स्वर उनै मन्दाक्रान्ताको थियो । उनको अनुहारमा अपमानको कालो छाया देखिन्थ्यो । ‘विदेशी लेखक–विद्वानलाई बोलाएर भोको राख्न मिल्छ ? ' उनले बारम्बार गरेको प्रश्न थियो यो । त्यसपछि उनी बेहोस जत्तिकै भइन् । आयोजकहरूले तुरुन्तै खाजाको व्यवस्था गर्न कार्यक्रम केही क्षणलाई स्थगित गरे । खाजा खाएपछि आँखाभरि आँसु पारेकी मन्दाक्रान्तालाई बंगालीमै सोधें ‘केमोन आछो मन्दाक्रान्ता (कस्तो छ मन्दाक्रान्ता) ? ' मलिन अनुहार लगाएर भनिन् ‘खमा कोरो कुमुद, सवाई भारतीयोरा, एइरोकोम खाराब हयना ।' (क्षमा गर, कुमुद, सबै भारतीय यस्ता खराब हुँदैनन्) ।
क्रोध उनका कविताहरूको केन्द्रीय विम्ब हो । शताब्दीयौंदेखि अनेकन रूपमा सीमान्तीकृत गरिएका नारीहरूको भित्री आवाज छ उनका कविताहरूमा । त्यसैले उनको गर्जनलाई बंगालकी बघिनीको गर्जनभन्दा अतिशयोक्ति नहोला ।
क्रोध उनका कविताहरूको केन्द्रीय विम्ब हो । शताब्दीयौंदेखि अनेकन रूपमा सीमान्तीकृत गरिएका नारीहरूको भित्री आवाज छ उनका कविताहरूमा । त्यसैले उनको गर्जनलाई बंगालकी बघिनीको गर्जनभन्दा अतिशयोक्ति नहोला । उनका कविताहरूको अन्य विम्बमा यौनदेखि लिएर राजनीतिसमेत सामेल छन् । उनका कविताहरूमा कतिपय अवस्थामा यथास्थितिवादी मानिएका तथ्यहरू पनि भ्रामक लाग्छन् । कतिपय विम्बले उत्ताउली केटीको छिल्लिने बानी र केटाहरूलाई दिइएको चुनौती प्रदर्शित गर्दछन् ।
उनले २००४ मा भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी थिइन्, जुन अकादमीको स्वर्ण जयन्ती युवा पुरस्कार थियो । तर, उनले त्यही पुरस्कार एमएम कुलबुर्गीको हत्या र साहित्यकार, कलाकार, गायक, सर्जकहरूप्रति केन्द्रीय सरकारको बढ्दो असहिष्णुताको विरोध गर्नका लागि २००५ मा फिर्ता गरिन् । उनीसँगै अकादमी पुरस्कार फिर्ता गर्ने अन्य धेरै साहित्यकार, कलाकार छन् तर पश्चिम बंगालबाट सो पुरस्कार फिर्ता गर्ने भने उनी पहिली थिइन् । मन्दाक्रान्ताले रुचाउने अर्को काम भनेको अनुवाद हो । कविता भनेपछि हुरुक्कै हुने उनी अन्य भाषाहरूका राम्रा कविता भेट्नासाथ बंगालीमा अनुवाद गरिहाल्छिन् । भारतीय भाषाहरू र अन्य भाषाहरूबाट बंगालीमा थुप्रै कविता अनुवाद गरेकी छिन् ।
गीत लेखेर आफैं संगीत भर्नु उनको सोख हो । भन्छिन्, ‘सिर्जनशीलता भनेको एउटा कुरामा सीमित हुन सक्दैन । वास्तवमा सिर्जनशील मान्छे त्यो हो, जो जे गर्दा पनि रमाउँछ र रमाएको मानिसले सिर्जना गरेको कुरा कला बन्छ । चाहे त्यो गीत होस्, संगीत होस्, आर्ट होस्, डिजाइनिङ होस् वा अरू केही ।' मन्दाक्रान्ताले कविता, नाटक, कथा, निबन्ध, लेख, उपन्यास आदि विधामा कलम चलाएकी छिन् । उनका १९ वटा कविता संग्रह, आठवटा उपन्यास, दुईवटा कथा संग्रह, एउटा निबन्ध संग्रह प्रकाशित छन् । अनुवादक, गीतकार, संगीतकार, कभर डिजाइनर आदिको भूमिकामा रमाउने मन्दाक्रान्ताको जीवन हेर्दा लाग्छ, सिर्जना नै उनको जीवन हो र सिर्जनाभन्दा पर्तिर केही छैन । आफ्ना श्रीमान्सँग मिलेर उनी ‘वृष्टिदिन' नामक साहित्यिक पत्रिकाको सम्पादन गर्छिन् जुन पश्चिम बंगालकै उत्कृष्ट साहित्यिक पत्रिका मानिन्छ ।
मन्दाक्रान्ता सेनका तीन कविता-
हृदः एउटी अटेरी केटी
हृदय एउटी अटेरी केटी हो
उसलाई उसको पाठ नसिकाऊ
उसका पाठ्यपुस्तकहरू च्यातिएका छन्, उसले आफ्नै थुकले
मेटेकी छे उसले, आप्mनो भाग्यको अमिट लिपि
नीलो व्याकरणको किताबमा,
उसले लेखेकी छे केटाहरूको नाम,
नाममात्र हैन, चित्र पनि बनाएकी छे
हृदय एउटी अटेरी केटी हो,
उसलाई सजाय दिने हो ? देऊ !
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)