भ्रूणको आत्मकथा
आमा !
तिम्रो गर्भाशयको यति बाक्लो ओच्छ्यान
त्यस बेला बिझाउन थालेको हो मलाई
जब
म हुनुको प्रमाण लिएर
तिम्रो महिनावारी रोकियो
र
भित्तैभरि नवजात छोराका पोस्टरमा
आजित मुस्कान टाँस्यौ ।
पटकपटक
तिम्रो छोरो मनोकांक्षाको संवेग
तिम्रै स्नायुबाट बग्दै आएर
मेरो कलिलो ‘स्त्री’ लिंगमा बेस्सरी ठोक्कियो र
फ्युज नमिलेजस्तो इलेक्ट्रिकल सक दिएर गयो
हो !
तिम्रो गर्भाशयको ओच्छ्यान
त्यसै दिन बिझाएको हो
जति बेला
बाबु
घरि तिम्रो पेट हेर्दै
घरि दिदीको अनुहार हेर्दै
तिम्रो अनुहारमा
ह्वालह्वाल्ती पुरुषत्वको अहम छादेर
तिरस्कारको वार्निङ बेल बजाइरहन्थे ।
आमा !
जब तिम्रो पेटमाथि
यता...उता..वर..पर..गर्दै
भिडियो एक्सरेको डप्लर घुम्यो
लगत्तै
म तिम्रो चाहनाको अवसानपछि
तिम्रै गर्भाशयबाट
रातो आँसु भएर बगेँ !!!