तत्काल फ्रि वाइफाई नजोडिने
काठमाडौं : काठमाडौं बालाजुस्थित बाईसधारा पार्कलाई हचुवाका भरमा 'फ्रि वाइफाई जोन' बनाउने प्रक्रिया काठमाडौं महानगरपालिकाले स्थगित गरेको छ ।महानगरपालिकाका यसअघिका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले उक्त योजना अघि सारेका थिए । महानगरपालिका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत ईश्वर पौडेलले प्रक्रिया स्थगित गरेका हुन् । तामाङले फ्रि वाइफाई जोन बनाउन ५४ लाख रुपैयाँको लागत अनुमानसमेत स्वीकृत गरिसकेका थिए ।
रत्नपार्कलाई फ्रि वाइफाई जोन बनाउँदा नाफा भएपछि बालाजु पार्कमा वाइफाई राख्ने तामाङको उद्देश्य राम्रो भए पनि पहिला अन्य पूर्वाधार निर्माण भएपछि मात्रै प्रक्रिया अघि बढाउने तर्क पौडेलको छ ।
बाईसधारा पार्कका अधिकांश संरचना अस्तव्यस्त भइरहेका बेला एकैपटक फ्रि वाइफाई जोन बनाउने ठेक्का लगाउनु अनुचित भन्दै पौडेलले प्रक्रिया नै स्थगित गरेका हुन् । 'पूरै जमिन र माछापोखरी क्षतिग्रस्त छ । सबैजसो संरचना जीर्ण छन् । यस्तो अवस्थामा यो ठेक्का अनुपयुक्त देखेपछि स्थगित गरेको हुँ', पौडेलले अन्नपूर्णसँग भने, 'पहिला नयाँ संरचना बनिसकेपछि आन्तरिक एवं बाह्य पर्यटक घुम्न मिल्ने र आरामदायी बनाएपछि मात्रै वाइफाईलगायत अन्य पूर्वाधार जोड्छौं ।'
वाइफाईका लागि लागत अनुमान स्वीकृत भइसकेपछि महानगरपालिकाको खरिद एकाइले खरिदप्रक्रिया अघि बढाउन फाइल पेस गरेलगत्तै पौडेलले स्थगित गरेका हुन् । 'पर्यटक बस्ने ठाउँ नै छैन, किन चाहियो अहिल्यै वाइफाई ? ' पौडेलले भने, 'हचुवा योजना स्वीकृत गर्दिनँ ।'
प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा बाईसधारा पार्क भूकम्पले क्षतिग्रस्त बनाएको थियो । महानगरपालिकाले अहिले जीर्ण संरचना पुनर्निर्माण गर्न छुट्टै गुरुयोजना बनाई काम सुरु गरिसकेको छ । पार्क निर्माणका लागि यस वर्ष चार करोड रुपैयाँ विनियोजन भएको छ । पार्कका संरचना जीर्ण भएपछि पानीको स्रोत सुकेर अहिले बाईसवटै धारामा पानी आउँदैन ।
बाईसधारा पार्कको स्वामित्वमा अहिले एक सय ६२ रोपनी जग्गा छ । सबै जग्गाको सदुपयोग गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आवाससहितको अत्याधुनिक सुविधा उपलब्ध गराउने योजनामा महानगरपालिका रहेको जानकारी कार्यकारी अधिकृत पौडेलले दिए । उनले भने, 'अब हचुवाका भरमा ठेक्का दिने काम बन्द हुन्छ । कामको सुनिश्चितता नभएसम्म कसैको निगाहामा ठेक्का दिइँदैन ।'