सगरमाथामा लाइभ कन्सर्ट
काठमाडौं : चर्चित बेलायती संगीतकर्मी तथा डीजे पल ओकेनफिल्ड विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा लाइभ कन्सर्ट र सांगीतिक यात्रा कार्यक्रम 'साउन्डट्रेक'का लागि त्यसतर्फ प्रस्थान गरेका छन् । कार्यक्रमबाट प्राप्त आम्दानी उनले नेपालका भूकम्पपीडितको सहयोगका लागि उपलब्ध गराउनेछन् ।
पल ओकेनफिल्डको टोलीले सगरमाथा बेसक्याम्पको पाँच हजार तीन सय पचास मिटर उचाइमा कन्सर्ट गरी 'विश्वको सर्वोच्च स्थानमा लाइभ कन्सर्ट'को विश्व रेकर्ड राख्ने योजना बनाएका छन् । त्यसअघि उनको टोलीले 'साउन्डट्रेक' सांगीतिक यात्राका क्रममा सोलुखुम्बुका गाउँहरूमा पनि स्थानीय समुदायसँग छलफल र कन्सर्ट गर्दै जानेछ । बेसक्याम्पको लाइभ कन्सर्ट चैत २९ गते हुनेछ ।
'हिमालयको सर्वोच्च शिखर सगरमाथाबाट साउन्डट्रेकको सुरुआत गर्न पाउँदा म रोमाञ्चित छु । हाम्रो कार्यक्रमको सुरुआतका लागि यो सबैभन्दा उपयुक्त स्थान हो', ओकेनफिल्डले भने, 'यो सांगीतिक यात्राले स्थानीय समुदायलाई सहयोग गर्दै उनीहरूलाई हाम्रो संगीतसँग जोड्नेछ ।'
ओकेनफिल्डको टोलीमा उनका संगीत सहयोगीहरूका अतिरिक्त ११ पटक सगरमाथा आरोहण गरिसकेका विश्वविख्यात बेलायती आरोही केन्टन कुल र सिंगापुरको प्रसिद्ध क्लब एट्टिकाका सञ्चालक मार्क ब्रिम्बलेकम्बलगायत काठमाडौंका लोकप्रिय डीजे रान्जेन पनि सहभागी हुनेछन् । उनले आफ्नो टोलीमा अन्य स्थानीय संगीतकर्मीहरूलाई पनि साथ लिएका छन् ।
'साउन्डट्रेक' कार्यक्रममार्फत ओकेनफिल्डले नेपालका भूकम्पप्रभावित समुदायका लागि कोष संकलनको लक्ष्य राखेका छन् । कार्यक्रमको सहयोग र अभिलेखका लागि अन्तर्राष्ट्रिय पुरस्कार विजेता सिनेमाटोग्राफर मार्क फिसर पनि 'साउन्डट्रेक' यात्रामा साथसाथै रहनेछन् । सगरमाथाबाट फर्केर 'साउन्डट्रेक' टोलीले नेपाली नववर्षको अघिल्लो दिन चैत ३१ गते काठमाडौंमा पनि कन्सर्ट गर्ने छ ।