पाहुनाको स्वागतमा खुकुरीनाच
पोखरा (रुकुम) : पञ्चेबाजाको मधुर संगीत । पाहुनाको स्वागतमा लहरै उभिएका स्थानीयवासी । साथमा केही अधबैंसे व्यक्ति हातमा खुकुरी लिएर बाजाको तालमा नाचिरहेका छन् । पाहुनाको पूरा ध्यान भने त्यसैतर्फ केन्द्रित छ । यहाँका लागि यो नयाँ होइन । गाउँमा आउने विशेष पाहुनाको स्वागत गर्न पञ्चेबाजाको तालमा खुकुरीनाच नाच्नु सिस्ने गाउँपालिका-३, पोखराको परम्परा नै हो ।
विभिन्न समाजिक संस्कार विवाह, व्रतबन्ध, मेला, पर्वका साथै गाउँमा आउने पाहुनाको स्वागत गर्न पूरा गाउँ नै जुट्छ । स्वागतमा गुञ्जिन्छ पञ्चेबाजा र नाचिन्छ खुकुरीनाच । स्थानीयवासी रामबहादुर केसीका अनुसार दसैंको महाअष्टमीमा माई भगवतीको मन्दिरमा बलि दिन प्रयोग गरिएका हतियार गौतम कुलाका पुजित हतियार हुन् । तिनै हतियार दसैंघरबाट निकालेर गाउँमा हुने विभिन्न महत्वपूर्ण जमघटमा नाच आयोजना गरी पाहुनाको स्वागत गर्नु यहाँको मौलिकता हो । ‘हामी बाजा बजाएर, खुकुरी नचाउँदै पाहुनाको स्वागत गर्छौं', केसी भन्छन्, ‘यसलाई हाम्रो भाषामा फरौटे नाच भन्ने गरिन्छ ।'
माई भगवती माताको पूजा गरिएका हतियार नचाए अनिष्ट हुँदैन, गाउँमा कुनै पनि खालको भूतप्रेतको बास हुँदैन र गाउँमा शान्ति हुन्छ भन्ने मान्यताका साथ यो नाच नाच्ने गरेको स्थानीय बताउँछन् । दसैंपछि विशेष गरी माघेसंक्रान्तिका दिन यो नाच नाचेर रमाइलो गरिन्छ । साथै विवाह गरेर छोरी अन्माउँदा र भिœयाउँदा केटी पक्षकाको स्वागतका लागि यो नाच अनिवार्य नाचिने गरेको सिस्ने गाउँपालिका-३ का ७० वर्षीय पृथ्वीबहादुर खत्री बताउँछन् । ३० वर्षको उमेरदेखि नाच्न थालेको बताउने खत्रीसँगै गाउँका अरू तीनजना पनि यो नाचका लागि चिनिएका छन् । यी तीनमध्ये एकजना कोही गाउँमा नहुँदा गाउँकै अरू पुराना मान्छेले नाचमा साथ दिन्छन् ।
दाहिने हातमा खुकुरी र देब्रे हातमा त्यसैको दाब समाएर बाजाको तालमा होशियारीपूर्वक नाच्नुपर्ने यो नाचले गाउँमा हुने रमाइला जमघटमा सहभागी हुने जोकोहीलाई पनि मोहित पार्छ । पहिलोपल्ट यो नाच हेर्नेलाई त झन् यसले अच्चम्मित बनाउनसक्छ । बाटोमा हँुदा लहरै हिँडेकाहरूको अगाडि पाइला चाल्दै खुकुरी घुमाउँदै नाचिन्छ भने जमघट हुँदा जमघटको बीचमा यो नाच नाचिन्छ । यो नाचबाट प्रभावित हुनेले नाच्नेको शिरमा पैसा पनि राखिदिन्छन्।
खुकुरीनाच नाचिसकेपछि उक्त खुकुरी र तरबार पुनः दसैंघरमै लगेर राखिन्छ । स्थानीयवासीका अनुसार ती हतियारहरू दसैंमा बलि काट्न र नाच्नमा बाहेक अरू कुनै पनि काममा प्रयोग गर्न पाइँदैन । हतियार चलाउन दसैंघरका पुजारीको अनुमति लिनु अनिवार्य छ । नाचको इतिहास लामो भए पनि पछिल्लो पुस्ताले भने यसको संरक्षणमा ध्यान नदिँदा लोप हुने अवस्था आएको छ ।