झिल्केसँग झुमे भोजपुरे
भोजपुर : गायक सुगम पोखरेलको आगमनसँगै यहाँस्थित टुडिँखेलको रौनक फेरियो । हुटिङसँगै सुगमको 'वर्षमा दिनमा लैलै' गीतले भोजपुरेलाई जुरुक्क उचाल्यो । सुगमको प्रस्तुतिसँगै तातेको भीड 'झिल्के' गीतले थप गर्मायो । चारैतिर जस्तापाताले घेरिएको मैदानमा गायक सुगम पोखरेलका गीतसँगै उपस्थित तमाम भोजपुरे दर्शकका खुट्टा म्युजिक तालमा हल्लिरहेका देखिन्थे । सुरमा सुर मिलाउँदै कतिपय दर्शकका स्वर सुकेका थिए ।
कार्यक्रममा 'भद्रगोल' हास्य टेलिशृंखलाका कलाकार 'पाँडे' अर्थात् अर्जुन घिमिरे र 'जिग्री ब्रो' अर्थात् कुमार कट्टेलको प्रस्तुति पनि बोजोड रह्यो । मञ्चमा पाँडेले 'मेरी आम्मुई नि त, खत्तम भो बरबादै भो नि त डाम्ना' र जिग्री ब्रोको 'आप्पोई सक्किगो नि त, द्याट् सिट' प्रस्तुतिले भोजपुरे दर्शक पेट मिचिमिची हाँस्न बाध्य भए । कार्यक्रमको बीचबीचमा धरानका व्यावसायिक डान्सरहरूको प्रस्तुतिले दर्शकलाई नचाएको थियो ।
सामाजिक विकास संस्था भोजपुरको आयोजना र स्थानीय नमुना फुटबल क्लब भोजपुरको सहआयोजनामा सम्पन्न 'सांस्कृतिक कार्यक्रम २०७३' मा कलाकारहरू प्रस्तुत भएका हुन् ।