देश खारेजी

देश खारेजी

नयाँ शक्ति नेपालले काठमाडौं र मुलुकबाहिर आउँदो स्थानीय तहको निर्वाचनमा ‘आँखा’ चिन्ह माग गर्दै निर्वाचन आयोगका कार्यालयहरूमा धर्ना दिन थालेको छ । ‘आन्दोलन’ का सबै माग र त्यसलाई दबाब दिने शैलीबारे राजनीतिक दलहरू वस्तुनिष्ठ हुँदैनन् । एउटा ‘राष्ट्रिय दलबाट अलग भएको व्यक्तिको नेतृत्वमा बनेको पार्टीले जनताको अनुमोदन हासिल गर्नुपूर्व नै नियमविपरीत चुनाव चिन्ह पाउनुपर्ने माग कत्ति जायज या उचित हो, त्यसबारे नयाँ शक्ति विवेकशील हुने अपेक्षा गरिँदैन ।

निर्वाचनको सामना नै नगरेका दलहरूले संसद्मा कुनै आकार र रूपमा उपस्थिति बनाएका दलहरूले जस्तै मान्यता पाउनुपर्छ भन्ने मागबारे राजनीतिक वृत्तमा आआफ्नो धारणा हुन सक्छ । तर नेपालमा संसदभित्रभन्दा बाहिर रहेका दलहरूको संख्या बढी भएकाले मागको औचित्य पुष्टि नभएकै अवस्थामा पनि बढी संख्यामा दलहरूले नयाँ शक्तिको कार्यक्रममा ऐक्यबद्धता जनाउनेछन् । भट्टराईले त्यो मागको समर्थनमा गिरफ्तारी मात्र दिएनन्, माग पूरा नहुँदासम्म प्रहरी हिरासतमा रहने उत्तेजक घोषणा गरेर गिरफ्तारी र रिहाइमा पनि कानुनभन्दा आफ्नै सर्तलाई बढी महत्व दिए । भट्टराईलाई चिन्नेहरू र अहिलेको मुलुकमा व्याप्त राजनीतिक संस्कारबारे जानकारहरूलाई यसले आश्चर्य बनाउने छैन ।

तर, गिरफ्तारीकै क्रममा भट्टराईपत्नी तथा राजनीतिक सहयात्री हिसिला यमीले चिच्याएको एउटा आपत्तिजनक नाराले आम जनमानस र समाजका विभिन्न तहलाई आक्रोशित तुल्याएको छ । ‘यो देश खारेज गर’ भनेर नारा लगाएका भिजुअल र श्रव्यदृश्यपछि उनलाई गिरफ्तार गर्नुपर्ने आक्रोशित प्रतिक्रिया या ‘माग सामाजिक सञ्जालमा ‘भाइरल बनेका छन् । हिसिलाले के भनिन् र के भन्न खोजेकी थिइन्, त्यो उनले सबै विरोधलाई आश्वस्त गर्ने गरी सम्बोधन गर्नु आवश्यक छ । त्यस्तो अभिव्यक्ति दिएको स्वयं नै स्वीकार गरे पनि ‘जनजातिकी छोरी’ र अर्धमूर्छित अवस्था अनि ‘आवेश र अर्धबेहोसीमा नारा लगाएछु’ भन्ने स्पष्टीकरणबाट झन् विवादमा तानिएकी छन् उनी । राजनीतिक पद र हैसियतमा बस्ने योग्यता, पात्रता र चरित्र उनमा नभएको प्रमाण दिएकी छन् ।

आवेगमा मुलुकको अस्तित्व समाप्त हुनुपर्छ भन्ने माग स्वयं नै आपत्तिजनक मात्र हैन, अक्षम्य पनि छ । नेतृत्व क्षमता तथा सर्वथा अभावको परिचायक हो त्यो । निःसर्त माफी माग्ने साहस नदेखाउनु उनको कमजोरी हो । भट्टराईले पनि मुलुक ‘मर्ज’ हुने चेतावनी दिएलगत्तै आफ्नो वाक्पटुता प्रयोग गरी अर्थ नमिल्ने गरी भारत र चीनको अर्थतन्त्रमा नेपाल ‘सबमर्ज’ हुन्छ भनेको दाबी गरेका थिए । यो भट्टराई र यमीको मात्र हैन, वैकल्पिक र फरक ढंगको राजनीति र जवाफदेहीपूर्ण राजनीति निर्माणका नाममा खोलिएको नयाँ शक्ति पार्टीका विवेकशील हरेक व्यक्तिको लागि पनि चिन्तन र निर्णयको विषय बन्नुपर्छ । यमीको स्पष्टीकरणलाई नयाँ शक्तिमै कतिले स्वीकार गर्लान् त ? देशको विघटन चाहनेहरूलाई यो मुलुकको राजनीति र जनताको नजरमा ठाउँ रहने छैन । भट्टराई, हिसिला र नयाँ शक्तिले यो तथ्य बुझ्ने कोसिस नगरेमा नयाँँ शक्ति सम्भवतः धराशायी हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.