फोहरको दुर्गन्धमा राष्ट्रिय तयारी

फोहरको दुर्गन्धमा राष्ट्रिय तयारी

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वार्षिक कार्यक्रमअनुसार गत फागुन २६ गतेदेखि राष्ट्रिय टिम तयारीका लागि प्रशिक्षण थालेको छ । प्रशिक्षणमा विभिन्न १२ खेलका एक सय ८७ जना खेलाडी सहभागी छन् । अर्को वर्ष आयोजना हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई ध्यानमा राखी पदकको सम्भावना भएका १२ वटा एकल खेललाई प्रशिक्षणमा समावेश गरिएको हो ।

राष्ट्रिय टिम तयारीमा समावेश गरिएका अधिकांश खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको रंगशालाको भीआईपी प्यारापिटतर्फ बक्सिङ, तेक्वान्दो, उसु, जुडो, कराँतेलगायतका खेलको प्रशिक्षण भइरहेको छ । एकातिर भौतिक संरचनाका दृष्टिले जोखिमपूर्ण र अर्कोतिर फोहोर र दुर्गन्ध । कुनै पनि दृष्टिले रंगशाला तालिमका लागि उपयुक्त देखिँदैन । तर ठाउँको अभावका कारण राखेपले त्यही जीर्ण, जोखिमपूर्ण र दुर्गन्धित ठाउँमा राष्ट्रिय टिम तयारी गरिरहेको छ ।

दशरथ रंगशालाको मूल गेटदेखि नै जताततै फोहरको डुंगुर छ । गेटबाट बायाँतिरको स्थिति झन् भयावह देखिन्छ । तालिम हलमा जाने भर्‍याङभरि फोहरैफोहर छन् । अझ शौचालयको चर्को दुर्गन्धले त्यहाँभित्र छिर्ने जोकोहीलाई पनि हाम्मे पर्छ । १२औं सागमा स्वर्ण पदक विजेता जुडो खेलाडी फुपूल्हामु खत्री रंगशालाको अवस्था भयावह रहेको बताउँछिन् । ‘ट्वाइलेट साह्रै फोहर छ, भित्रमा जाँदा नाक र मुख छोपेर जानुपर्छ । रंगशालाको यस्तो बेहाल हुँदाहुँदै पनि सम्बन्धित निकायले ध्यान नदिएकोमा अचम्म लागेको छ’, खत्रीले अन्नपूर्ण पोस्ट्सँग भनिन् । उनले शौचालयको चर्को दुर्गन्धले खेलाडीको तयारीमा समेत असर पारेको गुनासो गरिन् ।

यसैगरी तेक्वान्दोका प्रशिक्षक आयशा शाक्य पनि प्रशिक्षण स्थलको अवस्था निकै दयनीय रहेको बताउँछिन् । ‘परिषद्का कर्मचारीले काम नगरिदिँदा रंगशालाको दुर्गति भएको हो । अर्को कुरा तालिमका लागि रंगशालाबाहेक अरू स्थान छैन । भूकम्पले क्षतिग्रस्त भए पनि हामी कम्प्रोमाइज गरेर त्यही ठाउँमा तालिम गर्न बाध्य छौं’, उनले भनिन्, ‘एक त खेलाडीको स्वास्थ्यका लागि पनि त्यो ठाउँ उपयुक्त छैन । यस्तो ठाउँमा तालिम गर्दा नरमाइलो त लाग्छ तर विकल्प नै नभएपछि के गर्ने ? ’ सागकी स्वर्ण पदक विजेतासमेत रहेकी शाक्य बाध्यता सुनाउँछिन् ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले भूकम्पले क्षतिग्रस्त बनेको भीआईपी प्यारापिट भत्काउनुपर्ने भएकाले मर्मतसम्भार र सफासुग्धरमा बढी ध्यान दिन नसकिएको स्वीकारे । ‘भीआईपी प्यारापिट र भवन भूकम्पले क्षतिग्रस्त बनेको छ, त्यसलाई भत्काउनुपर्ने भएको छ । बोरिङ गरिएको पानी पनि सुकेको छ । त्यसैले पनि मर्मतसम्भार र सरसफाइमा ध्यान दिन नसकिएको हो’, उने भने । सदस्यसचिव विष्टले रंगशालामा हुँदै आएको प्रशिक्षण केही दिनभित्रै अन्यत्र सारिने बताए ।

राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भौतिक पूर्वाधारको अभावमा बाध्यतावश रंगशालामा तालिम गराउनु परेको बताए । ‘खेलाडीबाट गुनासो आएपछि हामीले सरसफाइका लागि सामान्य प्रशासनमा पत्राचार गरेका छौं तर भत्काउनुपर्ने संरचना भएकाले त्यति ध्यान दिइएको छैन’, संयोजक रानाभटले भने । यसपटक १२औं साग र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई राष्ट्रिय तयारी टिममा सहभागी गराइएको छ । सहभागी खेलमा तेक्वान्दो, कराँते, बक्सिङ, उसु, जुडो, एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, टेबुलटेनिस, सुटिङ, भारोत्तोलन र कुस्ती रहेका छन् । यसैगरी पौडी र ट्रायथलनको प्रशिक्षण पनि चाँडै सुरु हुने राखेपले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.