मौरीपालनबाट वार्षिक दुई करोड आम्दानी
बागलुङ : बागलुङ जिल्लामा मौरीपालन व्यवासयबाटै वार्षिक दुई करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।कम लगानीमा मनग्गे आम्दानी हुने भएपछि मौरीपालन किसान उत्साहित बनेका छन् । सरकारले दिएको अनुदानले उत्साहित भएर किसान मौरीपालनमा लागेका हुन् । जिल्लाको जैदी, दगान्तुडाँडा, रिघा, रायडाँडा, रेश, सिगाना, छिस्तीलाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दगान्तुडाँडा, जैदी, रिघा र सिगानामा मौरीपालन फस्टाउदो क्रममा छ ।
जिल्लाको जैदीका मोहराज शर्माले मौरीपालनबाटै वार्षिक ८ देखि १० लाखसम्म कमाउने गरेको बताए । शर्माले एक सय घारमा केही वर्षयता व्यावसायिक मौरीपालन गरिरहेका छन् । 'परम्परागत रूपमा केही मात्रामा गर्दै आएको थिए, केही आफैं खान्थ्यौं, केही कोशेली स्वरूप आफन्तलाई पठाउथ्यौं', शर्माले भने, 'पछिल्लो समय व्यावसायिक रूपमा मौरीपालन गरेर घरपरिवारको जोहो चलाउने गरेको छु ।' गाउँमा शर्माले गरेको मौरीपालन व्यवसाय देखेर अन्य किसानलेसमेत काठे घारका साथै आधुनिक घारमा मौरीपालन गर्ने बढेका छन् ।
गाउँमा उत्पादित मह प्रतिकिलो आठ सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको छ । उत्पादित मह स्थानीय बजारमै खपत हुने गरेको छ । जिल्लाबाहिर र विदेश बस्ने आफन्तबाट माग हुँदा केही मात्रामा पठाउने गरिएको किसान बताउँछन् । जिल्लाको दगातुन्डाँडा—४ का बोमबहादुर थापाले जागिरबाट बचेको समयमा गरेको मौरीपालन व्यवसायबाट एकै सिजनमा करिब दुई लाख रुपैयाँको मह बेच्न सफल भएको बताए । 'यो वर्ष असोजसम्म झरी परेकाले खासै राम्रो मह उत्पादन भएन,' उनले भने, 'करिब दुई लाख रुपैयाँ हाराहारीको मह बेचेँ ।' स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका थापालाई बजारको कुनै समस्या छैन ।'
जिल्लाको दगातुन्डाँडा-८ राक्सेका व्यावसायिक किसान दुर्गा अर्यालले महको माग धान्न नसकिएको बताए । दुई वर्षअघि जम्मा तीन घार मौरी पाल्दै आएका अर्यालयको अहिले २७ घार मौरी छन् । दुई वर्षअघि पाएको सरकारी अनुदानबाट उनले मौरीपालन विस्तार गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार जिल्लाभर चार हजार आधुनिक र १५ सय परम्परागत गरी पाँच हजार पाँच सयभन्दा बढी घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ । मौरीपालन व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि बर्सेनि मह उत्पादनमा वृद्धि हुँदै आएको कार्यालयका निमित्त प्रमुख कृषि प्रसार अधिकृत बिप्लव अधिकारीले बताए । गत आर्थिक वर्षमा १८ मेट्रिक टन मह उत्पादन भएकोमा अहिले २० मेट्रिक टन पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौरीपालनमा किसानलाई आकर्षित गर्न कार्यालयले घारमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
'केही वर्ष अघिसम्म २५ प्रतिशत अनुदान थियो, अहिले बढेर ५० प्रतिशत पुगेको छ', अधिकृत अधिकारीले भने, '२८ सय रुपैयाँ पर्ने घार किसानले १४ सय रुपैयाँमा पाएका छन् ।' कार्यालयले यो वर्ष थप पाँच सय घार किसानलाई वितरण गरेको छ । कार्यालयले गत वर्ष पनि अनुदानमा पाँच सय घार बाँडेको थियो ।
मौरीको गोलासहितको घार पनि कार्यालयले किसानलाई उपलब्ध गराउँदै आएको छ । सुन्तला बगैंचा भएका ठाउँमा त्यस्तो मौरीको गोलासहितको घार वितरण गर्ने गरिएको छ । उक्त घार केही महँगो परे पनि किसानले ५० प्रतिशत छुटमै पाउने गरेको कार्यालयले जनाएको छ । 'मौरीपालन व्यवसाय विस्तार हुँदै गएको छ । पाँच सय घारले माग पुर्याउन सकिएको छैन', अधिकृत अधिकारीले भने ।किसानले परम्परागत र उन्नत दुवै घारमा व्यावसायिक मौरीपालन गर्दै आएका छन् । कृषि प्राविधिकका अनुसार बागलुङ जिल्ला मौरीपालनको लागि उत्तम थलो हो ।