कपिलेश्वर किन बनेनन् सभासद् ?

 कपिलेश्वर किन बनेनन् सभासद् ?

नामः कपिलेश्वर सरदार । ठेगानाः गोइठी, सप्तरी । हालको परिचयः स्थानीय कम्युनिस्ट नेता । पुरानो परिचयः दैनिक मजदुरी गरेर जीवनयापन गर्ने गरिब दलित परिवारका युवा ।

परम्परागत सोच र सामन्ती व्यवहारमा जकडिएको एउटा समाज जहाँ दलितलाई राजनीति गर्नेबारे सोच्नसम्म पनि अघोषित प्रतिबन्ध थियो, त्यस समाजमा एउटा आन्दोलन र त्यस आन्दोलनको एउटा नेताका कारण कसरी शक्ति सम्बन्ध बदलिन पुग्यो ? क्षेत्रीय, जातीय र वर्गीय आधारमा हुने अनेकौं विभेदको एकसाथ सामना गर्दै अगाडि बढेका एक मधेसी दलित युवाको कथा हो- कपिलेश्वरको कथा ।

सप्तरी जिल्लाको पूर्वी भेगमा पर्ने गाउँको नाम हो गोइठी । केही अघिसम्म गोइठी आफैं एक गाउँ विकास समितिको हैसियतमा थियो तर हाल तिरुहुत गाउँपालिकामा परेको छ । पञ्चायत कालभरि मधवापुर पञ्चायतको एउटा गाउँ थियो गोइठी ।

पञ्चायतकालमा सप्तरीको राजनीतिमा दुइटा जातका केही सीमित परिवारको जबर्जस्त पकड थियो । पूर्वी सप्तरीमा झा परिवारहरूको र पश्चिममा यादव परिवारहरूको । ती परिवारहरूबीच को बढी पञ्चायत समर्थक र दरबार नजिक भन्ने प्रतिस्पर्धा थियो । यादव परिवारमा शत्रुघ्नसिंह यादव र बिन्देश्वरी यादवको चल्ती थियो । शत्रुघ्नसिंह यादवका छोरा हुन् मृगेन्द्रसिंह यादव जो हाल सद्भावना पार्टीका नेता छन् । फोरम नेपालकी नेत्री रेणु यादव बिन्देश्वरी यादवकी नाति बुहारी हुन् । मधेसी राजनीतिमा सक्रिय ती दुवै यादव परिवार पश्चिम सप्तरीका भएकाले उनीहरूको प्रभावक्षेत्र त्यतै सीमित थियो ।

पूर्वी सप्तरीका प्रभावशाली राजनीतिक परिवार झाहरूको थियो । मधवापुरका नुनु झा, बच्चा झा, जगदीश झाहरूको पूर्वी सप्तरीमा राम्रो चल्ती थियो, खासगरी भारदह वरिपरिका गाउँहरूमा । त्यसकारण गोइठी गाउँले तिनै झाहरूको राजनीतिक मौजाका रूपमा परिचय पाएको थियो ।

सप्तरी जिल्लामा कुल जनसंख्याको एक चौथाइ दलितको छ । गोइठी र वरिपरिका गाउँहरूमा पनि दलितको प्रशस्त जनसंख्या छ । पञ्चायतभरि गोइठी वरिपरिका दलितहरूले राजनीति गर्ने र नेता बन्ने कुरा सपनामा पनि चिताइएको थिएन । प्रायः दलितहरूको काम भनेको हुनेखाने मालिकहरूको घरमा मजदुरी गर्ने र धनी, ठूला नेता परिवारहरूका लागि लठैती गर्ने हो । मेरो बालसखा कपिलेश्वर सरदारको टोलका मानिसहरू पनि त्यही गर्थे।


संयोगले कपिलेश्वर र मेरो घर नजिकै थियो, अहिले पनि छ । हामी दुई एकै उमेरका पनि हौं । बाल्यकालमा हामी सँगै खेल्थ्यौं, सँगै घुम्थ्यौं र स्कुल पनि सँगै जान्थ्यौं । अहिले पनि गाउँ जाँदा हामी बाल्यकालका अनेक किस्साहरू सम्झेर घन्टौं रमाउने गर्छौं ।

त्यति बेला गरिब परिवारका बालकहरूलाई हुनेखाने वा धनी परिवारमा पेटभातमा नोकरी राख्ने चलन थियो । आफ्नो घरमा वर्षैभरि पर्याप्त खाना नपाउने परिवारले आफ्नो बच्चाले वर्षैभरि भरपेट खान पाओस् र पालियोस् भनेर त्यस्तो गथ्र्यो । पेटभातमा राखेको नोकरलाई मालिकले पैसा वा अन्य कुनै ज्याला दिनुपर्दैन थियो । खानामात्र दिए पुग्थ्यो । मेरा बालसखा कपिलेश्वर पनि त्यसरी नै पालिएका हुन् ।

हामी मध्यम खाले हुनेखाने परिवारका भएकाले मेरो स्कुल नियमित हुन्थ्यो तर कपिलेश्वरको त्यस्तो हुँदैन्थ्यो । म बेलाबेला होस्टलमा पनि बस्थेँ । खुरुखुरु एसएलसी पास भइयो । तर, सँगै पढ्ने कपिलेश्वरले मभन्दा तीनचार वर्षपछिमात्र एसएलसी पास गर्न सके । मलाई लाग्छ, लामो समयसम्म कपिलेश्वरको टोलमा उनले मात्रै एसएलसी पास गरेको रेकर्ड कायम थियो ।

एसएलसी पढुन्जेल उनी कम्तीमा तीनजनाको घरमा नोकरी बस्नु परेको थियो । बच्चा हुँदा पेटभातमा नोकरी बसेका थिए । अलिक ठूलो भएपछि गाउँका हुनेखाने परिवारका बच्चाहरूलाई ट्युसन पढाइदिने, खेतीपातीको अन्य काम पनि हेरिदिने गरी बसेका थिए । ती सबै काम गरेबापत कपिलेश्वरले खाना र बस्ने सुविधा पाउँथे । त्यसरी बस्दा समाजमा उसको परिचय पनि फेरियो । पहिला नोकर भनिन्थ्यो भने पछि उनको परिचय मास्टरको भएको थियो ।

गाउँको राजनीतिमा वर्गको कुरा ठयाक्कै मिल्दो रहेनछ । पार्टी जुनै भए पनि हुनेखाने परिवारका मानिसहरू गाउँको मुखिया, प्रधान वा तिनको विपक्षको राजनीति गर्ने गर्छन् । आज सम्झिन्छु, वर्गको कुरा गरेर कहिल्यै नथाक्ने कम्युनिस्टहरूको सिद्धान्त त्यति बेला मेरो गाउँमा लागू भएको थिएन । हाम्रो टोलमा सबैभन्दा बढी जग्गा भएका र ठूलो पक्की घर भएका मानिस पञ्चायतभरि नुनु झाका समर्थक थिए भने प्रजातन्त्र पुनस्र्थापनालगत्तै उनी एमालेको तर्फबाट गाविसमा अध्यक्ष पदमा लडेका थिए । त्यही एमाले नेताको घरमा कुनै बेला कपिलेश्वर मास्टर भएर बसेका थिए । उनको काम हुन्थ्यो घरका बच्चाहरूलाई साँझबिहान पढाउनु, साथै खेतीपातीको अरू काम पनि हेरिदिनु । कालान्तरमा कपिलेश्वर माओवादी भए र त्यति बेला एमाले रहेका अध्यक्ष अहिले कुनै दलमा आबद्ध छैनन् ।

एसएलसीपछि म आईएस्सी पढ्न जनकपुर आएँ । त्यति बेला जनकपुरमा एमालेको खासै प्रभाव थिएन । रामचन्द्र झा लगायतका केहीले अलिअलि गतिविधि गर्थे । पछि रघुवीर महासेठ एमालेको नेता रहेको थाहा हुँदा मलाई मेरो गाउँको पक्कीवाल एमाले नेताको सम्झना आएको थियो । यो २०४६ सालतिरको कुरा हो । कलेजमा अखिल र नेविसंघबीच आरोप प्रत्यारोपको राजनीति चल्दा धनीहरूको पार्टी काँग्रेस र गरिबहरूको पार्टी एमाले हो भन्ने गरिन्थ्यो । कलेजमा सुनिने यस्ता तर्क र गाउँमा देखेको राजनीति सम्झेर कन्फ्युजनमात्र थपिएको थियो ।

मैले आईएस्सी पढिसक्दा कपिलेश्वरले बल्ल एसएलसी पास गरेका थिए । म बीएस्सी पढ्न काठमाडौं आएँ । कपिलेश्वर हाम्रै गाउँतिरका एक अमिनसँग बझाङ जिल्लातिर गएका थिए । अमिनसँग लागेपछि जागिर पाइन्छ भन्ने उनको आशा थियो । केही जर्ष बझाङ लगायतका पश्चिमी पहाडी जिल्लामा बिताउँदा पनि जागिर नपाएर उनी फेरि थकित भएर गाउँ फर्केका थिए ।

२०४९/५० सालतिर गाउँ जाँदा कपिलेश्वर पनि गाउँमै थिए । साथीका लागि केही गर्नसके हुन्थ्यो जस्तो मेरो मनमा लागिरहन्थ्यो । उसले पनि काठमाडौंतिर गएर जागिर खोज्ने रहर गरेको सम्झिन्छु । हामी सँगै काठमाडौं आएका थियौं । उनको ध्याउन्न अमिनको जागिर पाउने थियोे । सम्भव भएन । पछि कुनै मेकानिकको जागिर भए पनि गर्ने उनको चाहना थियो । लगभग एक वर्ष बस्दा पनि नपाएपछि उनले एक दिन विरक्तिएर फेरि गाउँ फर्किने निर्णय लिए ।

केही दिन गाउँ बसेर उनी सीधै भारतको लुधियानमा गएर मजदुरी गर्न थाले । लुधियानामा उनी नेपालीहरूको एक प्रवासी संगठनको सम्पर्कमा पुगेको त्यहाँबाट फर्केपछि सुनाउने गर्थे । केही वर्षपछि उनी फेरि गाउँमै फर्के । म यता बीएस्सी सक्काएर पुल्चोकमा बीई पढ्न थालेको थिएँ । २०५२ सालमा माओवादी ‘जनयुद्ध' सुरु भइसकेको थियो । लुधियानाको प्रवासी संगठनको प्रभाव उनमा बेलाबेलामा प्रकट हुन्थ्यो । बुर्जुवा, सामन्तवाद, वर्गीय विभेद, जातीय मुक्तिजस्ता शब्दहरू सामान्य बोलचालमा उनी पटकपटक प्रयोग गर्र्थे । यी सब सुनेर मचाहिँ चकित हुन्थेँ । सम्भवतः लुधियानाको प्रवासी संगठनले उनमा विभेद र संघर्षको चेत दिएको हुनुपर्छ । मलाई लाग्छ, एसएलसीसम्म पढ्दाका कठिन दिनहरू, बझाङ र काठमाडौंमा पाएका दुःख र जनयुद्धका प्रचारकले बाँडेको सपनाले विस्तारै उसलाई माओवादी बनाएको थियो । उनी हाम्रो गाउँको सम्भवतः पहिलो माओवादी कार्यकर्ता भएर निस्केका थिए ।
०००
जनयुद्धको प्रारम्भिक कालमा सप्तरीलगायत मधेसका जिल्लाहरूमा माओवादीको प्रभाव खासै थिएन । प्रभाव विस्तारै बढ्न थालेपछि कपिलेश्वरमाथि प्रहरीको आँखा पर्न थाल्यो । केही दिनपछि उनी भूमिगत भए । लगभग २०५८/५९ तिर उनी सप्तरीको बेलहा (प्रसबनी) गाउँबाट पक्राउ परेका थिए । बरमझियाको सशस्त्र बेस क्याम्पमा लगिएको थियो । बेस क्याम्पमा करिब छ/सात फिट गहिरो खाल्डोमा बनाएको बाँसको झुलामा उनलाई खुट्टा माथि र टाउको तल गरेर घन्टौं झुन्ड्याइन्थ्यो । कुटाइको त कुनै सीमा थिएन । त्यसताकाको कुटाइ सम्झेर अहिले पनि उनको जीउ सिरिंग भइरहन्छ । साढे तीन वर्ष जेल बसेपछि शान्तिप्रक्रिया सुरुपश्चात् कपिलेश्वर रिहा भएका थिए ।

उनी जेल हुँदा उनको परिवारलाई खानपिनमा समस्या थियो । सुरुमा पार्टीले एउटा पसल खोलिदिएको थियो । केही महिनापछि गाउँका विरोधीहरू र प्रहरी प्रशासनले मिलेर पसल पनि लुटिदिएका थिए । गोइठीमा परिवारलाई बस्न गाह्रो हुँदै गएपछि सबैलाई विस्थापित हुनु परेको थियो ।

२०६४ सालको निर्वाचनमा पार्टीले उसको नाम समानुपातिक सूचीमा राखेको थियो । देशभरि राम्रो मत ल्याए पनि सप्तरी जिल्ला र मिथिला क्षेत्रभरि माओवादीले राम्रो भोट पाएको थिएन । पार्टीले उनलाई सभासद् बनाएन ।

यता गाउँमा सबैभन्दा बढी संघर्ष गरेका, पढेलेखेका दलित नेताका रूपमा कपिलेश्वरलाई चिनिन्थ्यो । उता केन्द्रमा उनलाई चिन्ने खासै कोही हुँदैनथ्यो । उनी काठमाडांै आउँदा जहिले पनि एक जमरकट्टेल भन्ने नेतासँग भेट्न आएको सुनाउँथे । कहिलेकाहीँ फर्किने बेलामा कमरेड प्रचण्डसँग पनि भेटेको सुनाउँथे । मेरो अनुमानमा केन्द्रमा उनलाई खासै कसैले चिन्दैनथे । प्रचण्डसँग भेट्ने भनेको हूलमुलमा हुँदो होला । तर, गाउँतिर उनको इमेज निकै ठूलो नेताको जस्तो बनिसकेको थियो ।

माओवादी शान्तिप्रक्रियामा आएपछि स्थानीय नेताहरू दुई कारणले दल परिवर्तन गर्दै माओवादी पार्टीमा प्रवेश गर्न थालेका थिए । द्वन्द्वकालमा माओवादीविरोधीका रूपमा चिनिएकाहरू सुरक्षाको दृष्टिले र अन्यले आगामी दिनमा पार्टीबाट फाइदाका लागि धमाधम माओवादी पार्टीमा प्रवेश गर्न थालेका थिए । त्यति नै बेला गोइठी र वरिपरिका अनेकौं स्थानीय नेताहरू कपिलेश्वरसँग कुराकानी गरेर माओवादीमा प्रवेश गरेका थिए । आज पनि स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा अनेकौं ग्रामीण तहका नेताहरू माओवादीमा आउँदैछन् । आफ्नो विद्यार्थी जीवनमा जतिजना हुनेखाने स्थानीय नेताहरूको घरमा बसेर कपिलेश्वरले आफ्नो पढाइ पूरा गरेका थिए, तिनीहरू सबै आज उनलाई नेता मान्छन् ।

कुनै बेला गोइठी वरिपरिको गाउँमा मधवापुरका झाहरूको मात्रै जगजगी थियो र कपिलेश्वरजस्ता दलित समुदायका मानिसहरू राजनीति गर्ने वा नेता बन्ने सोच्न पनि सक्दैन थिए, त्यही समाजमा आज कपिलेश्वरहरूको नेतृत्व निरन्तर स्थापित हुँदैछ । आजको मितिमा हाम्रो र वरिपरिको गाउँमा कपिलेश्वर नगई कुनै पन्चैती हुँदैन । कुनै दुई पक्षबीच कुनै विवाद भयो भने गाउँका अगुवाहरू बसेर बुझ्ने र मिलाउने प्रयास गर्ने चलन छ, जसलाई पन्चैती भनिन्छ ।

पहिलो संविधानसभा निर्वाचनमा कपिलेश्वरलाई पार्टीले संसद्मा नल्याए पनि उनमा खासै कुनै गुनासो देखिएन । उनी त्यसपछि पनि निरन्तर क्रियाशील नै रहे । पार्टीबाट जीवनयापनमा कुनै सहयोग थिएन । यता छोरीले एसएलसी गरिसकेकी थिइन् । छोरा पनि १० कक्षामा पुगिसकेको थियो । घरखर्च बढ्दो तर आम्दानीको कुनै निश्चित स्रोत नभएपछि घरमा कलह सुरु भइसकेको थियो । त्यत्तिकैमा संविधानसभाको दोस्रो निर्वाचन आयो । त्यसताका घरायसी कामले गर्दा मलाई महिनाभरि गाउँमै बस्नु परेको थियो । माओवादी पार्टीले प्रत्यक्षतर्फ कपिलेश्वरभन्दा पनि कम उमेरका युवालाई उम्मेदवार बनायो ।

कपिलेश्वरको नाम फेरि समानुपातिकमै हालिएको थियो । यसपटक उनी निकै आशावादी थिए । प्रत्यक्षमा इमानदारीपूर्वक काम गरे समानुपातिकमा ठाउँ पाइने आशामा कपिलेश्वर दिनरात एक गरेर खटेका थिए । प्रचारप्रसारको अवधिभरि उनको घरमा दैनिक १५/२० जना कार्यकर्ताले नखाएको दिन हुँदैनथ्यो । श्रीमती र छोरी खाना पकाउँदैमा हैरान हुन्थे । धन्न कात्तिक/मंसिरको महिना थियो र चामल जोहो गर्न सम्भव भएको थियो ।

निर्वाचन सम्पन्न भयो । कपिलेश्वरको निर्वाचन क्षेत्रसहित सप्तरीमा तीन सिटमा माओवादी विजयी भए । भयंकर राम्रो विजय जुलुस भयो । समानुपातिकको छनोट हुने बेला कपिलेश्वर फेरि काठमाडौंमा चिनेका जमरकट्टेलसँग सम्पर्क गर्थे । चिन्ता नलिनू भन्दै बारम्बार आश्वासन पाएका थिए । उनले मलाई पनि बारम्बार फोन गरेर जोड लगाइदिन भनेका थिए । मैले चिनेकामध्ये मधेस प्रदेश इन्चार्ज विश्वनाथ साह, गिरिराजमणि पोखरेल र पत्रकार शुभशंकर कँडेललाई कपिलेश्वरको इमानदारी, संघर्ष र अपेक्षा बताइदिएको थिएँ । तर, परिणाम पुरानैजस्तो आयो । कपिलेश्वर फेरि पनि माननीय हुन पाएनन् ।

केहीपछि के भएको थियो कुन्नि, प्रधानमन्त्रीबाट २६ सभासद्को छनोट हुँदै थियो कि अन्य कुनै कारणले माओवादी पार्टीले एकजना माननीय पठाउनुपर्ने भएको थियो । एक दिन कपिलेश्वरले निकै हतारमा मलाई फोन गरे । हाम्रो पार्टीले एकजना माननीय पठाउने भएको छ । मेरो चान्स छ, जोडबल गर्नु पर्‍यो भने । माननीय बनाउनसक्ने आफ्नो हैसियत भएको भए आफैं बनिसक्थेँ नि ! साथीले किन नबुझेको होलाजस्तो लागेको थियो तर केही भनिनँ । यस्तो अवस्था सामना गर्ने मजस्ता अनेक तथाकथित चल्तापुर्जाहरूले दिने जवाफजस्तै मैले पनि भनिदिएँ- हुन्छ हुन्छ । आफ्नो औकात त आफैंलाई थाहा थियो !

एकदुई दिनमा कपिलेश्वर काठमाडौं आइपुगे । यसपटक उनी कोट लगाएर काठमाडौं आएका थिए । त्यसअघि उनलाई कहिल्यै कोट लगाएको देखेको थिइनँ । त्यस दिन उनको अनुहारमा देखिएको चमक पनि त्यसअघि कहिल्यै देखेको थिइनँ । निकै खुसी र आशावादी देखिन्थे उनी । आफ्नो जिल्लाका सभासद्हरूदेखि अनेक नेताहरूलाई भेटघाटका लागि निरन्तर फोनफान गर्थे । करिब चार दिनपछि घर फर्किने बेला फेरि मसँग भेट्न आएका थिए । त्यस दिन कपिलेश्वर निकै निराश र थकित देखिन्थे । कोटको रङ त जस्ताको तस्तै थियो सायद पुरानो र खुइलिइसकेकाले । आउँदा लगाएको सफा कमिज पनि निकै फोहोर भइसकेको थियो । सायद नुहाइधुवाइको व्यवस्था मिलेको थिएन । आएको दिन ‘निट एन्ड क्लिन' देखिएका कपिलेश्वर फर्किने बेलामा दाह्री पनि काट्न नभ्याएका/झोक्राएका थिए ।

‘ल पार्टनर यसो जोडबल गर्दै गर्नु, के थाहा तपाईंको प्रयासले भई पो हाल्छ कि ? ' भन्दै कपिलेश्वर फेरि गोइठी फर्केका थिए । यो दोस्रोपटक थियो काठमाडौंले कपिलेश्वरलाई निराश बनाएर गोइठी फर्काएको । म मनमनै ती दिन सम्झिन पुगेँे । दुई दशकपहिले पनि कपिलेश्वर यसरी नै उत्साह बोकेर काठमाडौं आएका थिए । र, ठीक यसरी नै निराश बनेर फर्किनु परेको थियो । फरक यति थियो, त्यति बेला उनी पाए अमिन नपाए मेकानिक बन्न आएका थिए, यसपटक सभासद् । आधुनिक राजनीतिको अलिअलि ज्ञान र आकलनको चेतको आधारमा मैले अनुमान गरेजस्तै सभासद्मा उनको नाम सिफारिस हुन सकेन ।

सिफारिस गरिएको नाम सुनेर म झन् चकित भएँ । ल्हारक्याल लामाको नाम माओवादी पार्टीले सिफारिस गरेको थियो । त्यसपछि मलाई कपिलेश्वरको संघर्ष र जनयुद्धताका माओवादीले बाँडेका सपनाहरूको मात्र सम्झना आएन, बरु प्रचण्डको सिफारिसमा ल्हारक्याल लामा, सीपी मैनालीको पार्टीबाट राजेन्द्र खेतान र केपी ओलीको पार्टीबाट विनोद चौधरीहरूको नाम देखेपछि कम्युनिस्ट आन्दोलनको एकसाथ झझल्को आयो । मैले तत्काल फोन गरेर नतिजाबारे कपिलेश्वरलाई जानकारी गराइदिएँ । फोन राखेर मनमनै सोचेँ, बरु मेरो पार्टनर काठमाडौं नआएको भए हुन्थ्यो । नआएको भए कम्तीमा दुईपटक निराश त हुनु पर्दैनथ्यो । एकपटक काठमाडौंबाट फर्किने बेला र अर्कोपटक फेरि ल्हारक्याल लामाको नाम सुनेर ।

प्रचण्डले कपिलेश्वरलाई नचिने पनि, काठमाडौंले कपिलेश्वरलाई बारम्बार निराश बनाए पनि गोइठी र वरिपरिको समाजमा कपिलेश्वरको परिचय फेरिएको छ । उनको पार्टीले गरेको युद्ध र त्यसका कारण दलितहरूमा आएको जागरणको परिणाम आज गोइठीजस्तो गाउँ देहातमा पनि छुवाछूत अत्यन्तै न्यून भइसकेको छ । भोजभतेरमा सबै जात सँगै बसेर खाने सुरुआत भएको छ । र, सबैभन्दा महत्वपूर्ण उपलब्धि, राजनीतिमा दलितहरूको पहुँच बढेको छ ।

गाउँघरमा हुने दैनन्दिनको पन्चैती होस् वा स्कुल व्यवस्थापन समितिको निर्वाचन, कपिलेश्वरजस्ता दलितहरूको उपस्थिति अनिवार्यजस्तै भएको छ । यो परम्परागत, सामन्ती ग्रामीण समाजमा स्थापित पुरानो शक्ति सम्बन्धमा आएको ठूलो परिवर्तन हो । यसले सुदूर भविष्यमा कपिलेश्वरहरूको दिन फेरिने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.