रोहित फेरि जाकार्ता क्लबसँग अनुबन्धित
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द फेरि आफ्नो पूर्व क्लब पर्सिजा जाकार्तासँग अनुबन्धित भएका छन् । रोहितले शुक्रबार इन्डोनेसियाली क्लबसँग आगामी एक वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । रोहितको अनुबन्धको रकम भने खुलाइएको छैन ।
रोहितले यसअघि सन् २०१२ देखि २०१५ को अवधिमा पनि पर्सिजा जाकार्ताबाट खेलेका थिए । त्यसपछि घुँडाको चोटबाट ग्रसित उनी आराममा थिए । त्यसबेला उनले नेपाली राष्ट्रिय टोलीबाट समेत खेलेनन् । चोटबाट फर्किएपछि रोहितले सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध हालै भएको खेलमा राष्ट्रिय टोलीबाट खेलेका थिए । सो खेलपछि इन्डोनेसिया पुगेका रोहितले जाकार्तासँग नयाँ सम्झौता गरेका हुन् ।
जाकार्ताले रोहितलाई एसियाली कोटामार्फत अनुबन्ध गरेको हो । एजेन्ट डा. टीकाका अनुसार रोहित इराकी फुटबलर अन्मार अलमुबाराकीलाई पछि पार्दै अनुबन्ध हुन सफल भएका हुन् । मिडफिल्डर अलमुबाराकी पनि जाकार्ताकै पूर्व खेलाडी हुन् ।
जाकार्ता यही अप्रिल १५ बाट सुरु हुने इन्डोनेसियाली शीर्ष डिभिजनको फुटबल प्रतियोगिता लिग वानको तयारीमा छ । क्लबले रोहितलाई मिडफिल्डका साथै स्ट्राइकरका रूपमा समेत प्रयोग गर्न सकिने भएकाले अनुबन्ध गरिएको जनाएको छ । जाकार्ताले हालै इन्डोनेसियाको यू–२२ विरुद्ध खेलेको मैत्रीपूर्ण खेल र क्लबको दुई अभ्यासमा सहभागी बनेका रोहितले आफूलाई प्रभावित बनाएको जाकार्ताका ब्राजिलियन प्रशिक्षक स्टेफानो कुगुर्राले बताएका छन् ।
'रोहितलाई अनुबन्ध गर्न पाउँदा निक्कै खुसी लागेको छ', प्रशिक्षक स्टेफानोले विज्ञप्तिमा भनेका छन्, 'रोहितलाई मिडफिल्डका साथै आवश्यक परेको अवस्थामा स्ट्राइकरका रूपमा समेत प्रयोग गर्नेछु ।' क्लबले रोहितको अनुबन्ध अप्रिल ७ बाट सुरु हुने र सन् २०१८ को जनवरी ७ सम्म जारी रहने जनाएको छ ।