प्रश्न

प्रश्न

अन्ततः ठूलीले बदला लिई ।
तर कोसित ?
ऊसित यस्तो प्रश्न कसैले पनि सोधेको छैन । तर, ऊ आफूले लिएको प्रतिशोधसित सन्तुष्ट छे । उसको अनुहारबाट अँध्यारो हराएर उज्यालो चमक देखिन थालेको छ । ऊ खुसी भएकी छे ।
तर पनि प्रश्न त छ नि । उसले कोसित प्रतिशोध लिई ?
०००
ऊ चार भाइपछि जन्मेकी हो । तर, उसको नाम राखियो- ठूली ।
बाहुन हुन पाएको घमण्ड नाकसम्म बोकेका थिए ठूलीका पिता वैकुण्ठले । मध्य जाडोमा पनि बिहान सबेरै ढुंगेधाराको कटकटिने पानीले शिरदेखि पाउसम्म पखालिँदा गंगा नुहाएको अनुभव गर्थे । ढुंगेधारादेखि घरसम्म पुग्दा उनले ठूल्ठूलो स्वरले केही अध्याय गीता पाठ गरिसकेका हुन्थ्ये । त्यति बेला बाटामा कोही आउँदै गरेको देखे भने उनको आवाजको भोल्युम यसै बढी हाल्थ्यो । अझ आफूले सानो ठानेको जातको कोही भेटियो भने एउटा हातले धोतीको फेर र अर्को हातले ‘पर जा' भनेझैं संकेत गर्दै कहिले गीता र कहिले विष्णु सहस्रनाम भटभट्याउँथे ।

त्यस्ता घरमा जन्मिएकी थिई ठूली । ऊ पढाइ, विद्वताले ठूली भइन । उमेरले पनि कहाँ ठूली थिई र ? नाम भने ठूली छँदै थियो ।
खारभित्ताबाट रातो माटोको भारी बोकेर आउँदै गर्दा एक दिन उसको भेट सूर्यबहादुरसँग भयो । भारी गह्रौं भएर बाटामै ढुंगाको अडेस लाएर बिसाउँदै थिई । त्यही बेला टुप्लुक्क आइपुगेको थियो सूर्यबहादुर । उसलाई गाउँमा सबैले सुर्जे भन्थे । ठूलीकै गाउँपारिको राई साइँलाको जेठो छोरो थियो । परार साल दिमागमा जुका परेर मरेका थिए राई साइँला । सुर्जे कलकत्तामा ठूलो साहूकहाँ काम गथ्र्यो । तलब पनि राम्रै दिन्थ्यो साहूले । वर्षमा दुई चोटि बिदा पाउँथ्यो । अब त आमामात्र थिइन् घरमा । आमाको माया मार्न कहाँ सक्थ्यो र ! त्यसैले बिदामा अबेर नगरी घरै आइपुग्थ्यो ।
ठूलीले सुर्जेलाई चिनिहाली । सुर्जेले पनि ठूलीलाई चिनिहाल्यो ।

‘तिमी वैकुण्ठ बाजेकी छोरी हैन त ? आम्मामा हौ ! कति ठूलो भइसकेछ । तिम्रो माल्दाजुको के छ नि त खबर ? सानोमा भन्दा राम्री न राम्री पो भएछौ त तिमी ता । हेर हेर कति गरुङ भारी बोकेको । खोइ लेऊ, म पुर्‍याइदिन्छु चौतारोसम्म । घरसम्मै पुर्‍याऊँ भने तिम्रो बाउले डाँडा कटाउलान्' भन्दै ठूलो स्वरले हाँसेको थियो सुर्जे ।
ठूलीलाई सुर्जेको त्यो उन्मुक्त हाँसो नराम्रो लागेन । बरु राम्रै लाग्यो ।

त्यसपछि उसले ठूलीको डोको बोकिदिएको थियो । ठूलीले नाइँ भन्नै पाइन । भन्न पनि जानिनँ । ऊ लुरुलुरु सुर्जेको पछि लागी ।
छुट्टिने बेलामा सुर्जेले भन्यो, ‘माइलासँग भेट्न आउँछु म भोलितिर ।'

ठूलीलाई त्यो रात निकै लामो लाग्यो । ऊ राम्ररी निदाउनै सकिनँ । बिहानै घरका सबै खेतबारीमा काम गर्न गइसकेका थिए । सुर्जे आउने कुरा ठूलीले माल्दाजुलाई भनेकै थिइनँ । ऊ परालको गुन्द्री बुनेर बसेकी थिई । टुप्लुक्क देखा पर्‍यो सुर्जे । धेरैपटक हेर्‍यो सुर्जेले उसलाई । अलिकति लजाउँदै थोरैपटक हेरी ठूलीले पनि । धेरै बोल्यो सुर्जे । थोरै बोली ठूली । धेरै हाँस्यो सुर्जे । थोरै मुस्कुराई ठूली । तर, उनीहरूको मनले एकअर्काको कुरो हिजै बुझिसकेका थिए ।

खँदिलो ज्यान । गहुँगोरो अनुहार । धेरै अग्लो पनि हैन । तर, होचो भन्न पनि नमिल्ने सुर्जेको उचाइ । अलि बोलक्कड स्वभावको । उसको आगमनले ठूलीको मुहारमा पारिलो घाम देखा पर्‍यो । उसले अलिकति लजाउँदै मुसुक्क हाँसेर छेउको पिरा पिँडीमा राखिदिई । सुर्जेले पिरा तान्दै खुसुक्क भन्न भ्याइहाल्यो, ‘राति निद्रा पर्‍यो ठूली ? '
अलिकति लजाउँदै उसले भनी, ‘पर्‍यो ।'

तर, सुर्जेलाई ढाँटेकोमा पछुतो भो उसलाई ।
‘मलाई त पर्दै परेन हौ', त्यसपछि सुर्जे फेरि उन्मुक्त हाँस्यो ।
केही बेरमै घाँँसको भारी लिएर ठूलीको माल्दाजु आए । सुर्जे र माइला गाईबस्तु चरनको साथी थिए । उनीहरूबीच धेरै कुरा भए । सुर्जेले विरिङ खोलाको भेलबाट बचाएका दिनको ठूलो गुन थियो माइलालाई । ठूलीले सुर्जेको सत्कारमा घिउमा पकाएको बाबर लिएर आई । दाजुको आँखा छलेर उनीहरूका आँखाले कुरा गर्न भ्याइहाले । कति मीठा कुरा ! घिउको बाबरभन्दा मीठा ।
०००

सधैं घाँसदाउरा बोकेरै, रातो माटो बोकेरै जिन्दगी बित्छजस्तो लागेको थियो ठूलीलाई । तर, उसलाई सुर्जेले घाँस र दाउरा काट्न सघाउन थालेपछि र माटो बोक्न सघाउन थालेपछि आफ्नो जीवनमा उज्यालो र सुन्दर रङ भरिन थालेको अनुभव हुन थाल्यो ।

एक दिन बारीको पुछारमा सुर्जेसँग अँगालो मारेर बसेकै अवस्थामा ठूलीका ठूला दाजुले देखे । पाखुरामा समातेर एक चड्कन लगाए । सुर्जेलाई दागा धरे र भने, ‘आजदेखि यो खोलो तरेर यता लागिस् भने तेरो जान्दो गर्छु।‘

त्यो दिनदेखि घरमा सबैको आँखाकी तारो भई ठूली । माइली भाउजूबाहेक कसैले उसलाई देखी सहेनन् । एउटा नोकरको नियति भोगिरहेकी ठूलीले एक दिन खोलामा सुर्जेलाई देखी । ऊ हस्याङफस्याङ गर्दै ठूलीतिरै आइरहेको थियो । नजिक आएपछि सुर्जेले च्याप्प ठूलीका पाखुरामा समात्यो अनि भन्यो, ‘हेर ठूली, म केही दिनमा काममा फिर्दैछु । अब फेरि कहिले छुट्टी मिल्छ थाहा छैन ।'
‘त्यतिन्जेल म तिमीबिना एक्लै बाँच्न सक्दिनँ', आँखाभरि आँसु पार्दै बोली ठूली ।


टुप्लुक्क देखा पर्‍यो सुर्जे । धेरैपटक हेर्‍यो सुर्जेले उसलाई । अलिकति लजाउँदै थोरैपटक हेरी ठूलीले पनि । धेरै बोल्यो सुर्जे । थोरै बोली ठूली । धेरै हाँस्यो सुर्जे । थोरै मुस्कुराई ठूली ।

‘म पनि त सक्दिनँ नि', सुर्जेले अझै बलियो गरी समात्यो ठूलीको हात र भन्यो, ‘म तिमीलाई सारै सुखले पाल्छु । हिँड मसँग । अहिल्यै हिँड ।'
आफ्नो प्राणजस्तो प्रेमीले त्यति भनेपछि उसकै भरोसामा सुर्जेको अघि लागि ठूली । सुर्जेकी आमाले आशीर्वाद दिँदै भनिन्, ‘आबो बाउन्को छोरी मुन पराइस् । ल राम्रो गरिखाऊ तिमेरु ।'
सुर्जेकी आमाले ठूलीलाई रातो मजेत्रो ओढाइदिइन् । त्यही रात ठूली सुर्जेसित कलकत्ता हिँडी । कलकत्ता पुगेकै भोलिपल्ट मालिकसित पैसा सापट मागेर सुर्जेले लुगाफाटो र केही गरगहना किनिदियो ठूलीलाई ।
०००

आफूभन्दा तल्लो जातकालाई हेर्दासमेत अगति हुने ठान्थे वैकुण्ठ । तर, आज उनकै घरमा पहिरो गएको थियो । थरीथरीका गाउँलेहरूले घरैमा आएर भन्न थाले, ‘हामीलाई ता मान्छे नै गन्दैनथेऊ । ठूलो जातको भनेर डुग्रिँदै हिँड्थेऊ नि । अहिलेको जमानामा पनि छोइछिटो गर्नेलाई छोराछोरीले तह लगाएको हेर्न पाइयो । अब राईलाई ज्वाइँ बनाइहाल्यौ । बेको भोज कहिले ख्वाउँछौ हौ ? '
उनी घरबाट निस्कन छोडे ।

६ महिनापछि बिदामा फर्किए सुर्जे र ठूली । ठूलीलाई माइतीको माया त लागेको थियो । तर, जाने हिम्मत आएको थिएन । अब त नबोलाई जाने कुरा पनि थिएन ।
०००

एक दिन ठूलीका मामा आए वैकुण्ठकहाँ । उनले वैकुण्ठलाई सल्लाह दिए, ‘ज्वाइँ, अब छोरी राईसँग गई भनेर कति दिन पुर्पुराँ हात लार बस्नु ? हाम्रा गाउँमा एउटा बाहुन छ । पहिलेकी स्वास्नी मरेर त्यसै झोक्राएर बसेको छ । राईसँगै छोडिदिनुभन्दा कसोकसो बाहुनलाई भिराउन पाए गएको इजोत फर्किन्थ्यो कि ?।'

जेठानको कुरो मनासिब लाग्यो वैकुण्ठलाई । उता सुर्जेको छुट्टी सकियो । आमा बिरामी थिइन् । त्यसैले सासूलाई एक्लै छोडेर ठूली कलकत्ता जान नसक्ने भई । ठूलीलाई आमासितै छाड्यो सुर्जेले र चाँडै आउने वाचा गरेर बाटो लाग्यो ।

दुई दिनपछि ठूलीका कान्छा मामा ठूलीका आँगनमा टुप्लुक्क देखा परे । उनैले ठूलीसित भने, ‘ठूली, तिम्री आमा साह्रै भएकी छन् । गाउँमा बस्न नसकेर मेरो घरमा ल्याएर राखेको छु । उनले नै तिमीलाई लिन पठाको । मुख हेर्न भए पनि आऊ अरे ।'

आत्तिई ठूली । उसले पुलुक्क सासूका मुखतिर हेरी । सासूले भनिन्, ‘जा ठूली, सम्धिनीले बोलाएपछि म त सारै खुसी भएँ । आफ्नी छोरीको माया कसलाई हुँदैन र । अब म पकार खानसक्ने भएँ । आमा निको पारेर मात्तै फर्किनु ।'
ठूली फुरुक्क पर्दै मामाको पछिपछि लागी ।
गल्ती यही गरी ठूलीले ।
०००
आफूलाई सुर्जेसँग छुटाउन सबै मिलेर षड्यन्त्र रचेको कुरा मावली गाउँ आउनेबित्तिकै थाहा भयो उसलाई । आमा बिरामी भन्ने त बहानामात्र रहेछ । मावलमा बुवाआमा, ठूल्दाजु सबैलाई देखी ठूलीले । भोलि नै कसैसँग बिहे गरिदिन लागेको कुरा थाहा पाएपछि ठूलीले रुँदै अडान लिई, ‘म बोरु तपाईंहरू सबैलाई त्याग्न सक्छु तर सुर्जेलाई छोड्न सक्दिनँ ।'
उसले झटपट आफ्नो झोला टिपेर हिँड्न लाग्दै भनी, ‘तपाईंहरूका लागि मरी यो ठूली ।'

तर, ठूलीको बाटो छेक्दै आमाले रुँदै भनिन्, ‘त्यसो भए मेरो मरेको मुख हेरेर जा । नभन्दै आमाले उसकै अगाडि घटघटी विषादी पिइदिइन् । अब भने ठूलीका पाइला लर्बराएँ । उसले केही सोच्नै सकिनँ । नजिकको स्वास्थचौकीमा लगेर जसोतसो जोगाए आमालाई ।

ठूली धेरैबेर रोई । धेरै अनुरोध गरी । तर, आमाको मनलाई उसको आँसुले पगाल्न सकेन । अन्त्यमा मनलाई सुर्जेसँगै छोडेर रित्तो शरीरमात्र लिएर अर्कैको पछि लागी ठूली । त्यस दिनदेखि उसको संसारमा घाम उदाउन सकेन । खुसी फुल्न सकेन । सुख के हो थाहा भएन । उसले हाँस्न छाडिदिई । उज्यालो अनुहारमा खर्लप्पै अँध्यारो छायो । सुर्जे एक महिनापछि ठूलीलाई लिन आयो । तर, बाटैमा सबै कुरा थाहा पायो । बहुलायो ऊ । रोयो धेरै र अन्त्यमा त्यो गाउँमै कहिल्यै नफर्किने गरेर आमालाई समेत लिएर कलकत्तातिर लाग्यो ।

दिन बिते । महिना बिते । वर्ष बिते । ठूलीले छोरो पाई । उसले छोराको नाम राखी- सूर्य । सुर्जे भनेर छोरालाई बोलाउन थाली । ठूलीले सुर्जे भनेपछि गाउँभरिकै सुर्जे भयो ऊ । छोराको नाम त सुर्जे राखी तर हाँसो त फेरि पनि फर्केको थिएन ठूलीको ओठमा । आजभोलि भन्दाभन्दै छोरो पनि पाँच वर्षको भयो । घरदेखि आधा घन्टा पर थियो स्कुल । छोरोलाई स्कुलमा भर्ना गरिदिई आफैं गएर । खेतबारी भातभान्छा जतिसुकै काम भए पनि ऊ छोरालाई आफैं स्कुल छोड्न जान्थी । छोरालाई स्कुल पुर्‍याएर फर्किंदा बाटैमा पर्ने रामकुमारीको घरमा रोकिन्थी ऊ । भलाकुसारी गर्थी । रामकुमारीकी छोरी रुकु र उसको छोरा सुर्जे एउटै उमेरका थिए । स्कुलमा सँगै पढ्थे । रुकुका पिता पूर्ण राई इन्डियन आर्मीमा जागिरे थिए ।

अलिकति मीठोचोखो पकाउँदा पनि ठूली रुकुकी आमालाई सम्झिन्थी । कोही बेला आफैं पुर्‍याउन जान्थी । कोही बेला सुर्जेलाई पुर्‍याउन पठाउँथी । एक दिन ठूलीकी सासूले आफ्नै आँखाले ठूलीले रुकुकी आमाले पकाएको दालभात खाएको देखिन् । आफ्नी बुहारीले राईकहाँ गएर खानै खाएको कुरा गाउँभरि छरिन् ठूलीकी सासूले । कसैले भने, ‘बिग्री ठूली', कसैले भने, ‘अबको जमानामा केको जात र अजात । सबै बराबर ।'
सुर्जे ठूलो भयो । पढ्न सकेन । रुकुले पनि पढ्न छोडिदिई । तर, घरव्यवहारमा रुकु सिपालु भइसकेकी थिई । एक दिन सुर्जेका पिताले दुखेसो पोखे, ‘राम्रो पढ्न पनि सकेन । लाठे भइसको । यसको बे गर्दिनुपर्छ अब।'

ठूलीलाई रातभरि निद्रा लागेन । मनभरि छरपस्ट कुराहरू ओहोरदोहोर गरिरहे । छर्लंगै उज्यालो भयो । मिर्मिर उज्यालो नहुँदै ऊ रुकुका घरतिर लागी । रुकुकी आमासँग केही बेर कुरा गरेपछि हतारहतार घर फर्की । उसले सुटुक्क सुर्जेसित सोधी, ‘तँलाई रुकु कस्ती लाग्छे ? '
लजाउँदै भन्यो सुर्जेले, ‘मन पर्छे ।'

त्यसपछि काखीमा सानो पोको च्यापेर ऊ सुर्जेलाई लिएर हिँडी । रुकुको घरभन्दा अगाडि दोबाटोमा पुगेर ऊ रोकिई र सुर्जेलाई भनी, ‘जा, लिएर आइज रुकुलाई ।'
सुर्जेले केही बेरमै लिएर आयो रुकुलाई । रुकुको हातमा रातो सारी राखिदिई ठूलीले । त्यसपछि उसले कम्मरमा वर्षौंदेखि बाँधेर राखेको थैली खोली । विस्तारै निकाली सुनका गहना । फूलैफूलको बुट्टा कुँदिएको सुनको बाला, बीचमा रातो मुगा भएको कान टप र एउटा असर्फी । ती सबै उसले रुकुको हातमा राखिदिई । आफूसित सानो दुनोमा रातो अक्षता पनि ल्याएकी थिई ठूलीले । त्यही रुकुको निधारमा लगाइदिँदै भनी, ‘जाओ तिमीहरू । सुर्जेका बाले माने भने म खबर पठाउँछु । अनि फर्केर आउनू गाउँमा ।'

भागे रुकु र सुर्जे । उनीहरू आफ्नो आँखाबाट ओझेल नहुन्जेल हेरिरही ठूलीले । वर्षौंदेखि अँध्यारो भएको उसको अनुहार एकाएक उज्यालो भयो । वर्षौंअघि हराएको हाँसो फेरि उसको ओठमा फर्केर आयो । ऊ एक्लै बर्बराई, ‘मैले बदला लिएँ ।'

तर कोसित बदला लिई ठूलीले ? आफैंसित या आफ्नो चाहनालाई असमयमै समाप्त गरिदिएको समाजसित ?
ठूली घर फर्कंदासम्म गाउँभरि हल्ला फैलिइसकेको थियो, ‘सुर्जेले पूर्ण राईकी छोरी लिएर भाग्यो ।'
वर्षौंदेखि यस्तै हल्ला त सुन्न चाहेकी थिई ठूलीले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.