विश्वविद्यालयः स्थापत्यकला, ज्ञान र आमाबाबु

 विश्वविद्यालयः स्थापत्यकला, ज्ञान र आमाबाबु

आजका समस्यामध्ये एउटा ठूलो समस्या विश्वविद्यालयहरू हुन् । विश्वविद्यालयहरू ज्ञानका बलिया धरातल हुन् । किसान, व्यापारी, आमाबाबु सबैले मनन गर्नुपर्ने थलो पनि । विश्वविद्यालयसँग एकातिर हजारौं वर्षको परम्परा छ, अर्कातिर यी बनेका छन् निदाएका संस्था ।

विश्वविद्यालय एउटा विशेष भौतिक र बौद्धिक स्थान हो । मेरो लागि विश्वविद्यालयले तीनवटा विशिष्टता समेटेको हुनुपर्छ- ज्ञानसँगै, स्थापत्यकला र आमाबाबु । यी तीन अस्तित्व विश्वविद्यालयका आवश्यकता हुन् । ज्ञानको कुरा त हामी सबैलाई थाहा छ । तर, भवनकला र आमाबाबु कसरी आए ? भवन पनि त आवश्यक नै छ, फेरि आमाबाबु कसरी आए ?

आक्रोशित भए पनि, हामी सबैलाई थाहा छ- हाम्रा विश्वविद्यालयहरू समग्रमा स्तरीय छैनन् । मैले विशिष्ट विद्यार्थी, उच्चस्तरीय अध्यापन र अनुसन्धानको चर्चा गरेको होइन । यस्ता काम कुनै पनि स्तरको संस्थामा हुने नै गर्छ । म समग्रताको कुरा गर्दैछु । यस्तो समग्रता जहाँ ज्ञान, स्थापत्यकला र आमाबाबुको वरिपरि विश्वविद्यालय काम गरोस् ।

स्थापत्यकला

स्थापत्यकलाबाट पलायन हुन सकिँदैन । किताब बन्द गर्न सकिन्छ, गीत नसुन्न सकिन्छ । तर, कलात्मक भवन रही नै रहन्छ । मार्टिन र ज्याकोबस नामक दुई शिक्षकले लेखेका छन्, ‘स्थापत्यकला सधैं हामो अगाडि हुन्छ र विश्वविद्यालयको स्थापत्यकलाले पूरै जमातलाई जादुजस्तो प्रभावित गर्छ ।'

नेपाली विश्वविद्यालयमा भने मानिसको मन नै अडिँदैन । विद्यार्थी र शिक्षक सबैलाई छुट्टीको घन्टीको प्रतीक्षामात्रै हुन्छ । हाम्रो बेलामा त कक्षाकोठामै गोबर पनि पाइन्थ्यो । विश्वविद्यालय त यस्तो होस् जहाँ मानिसको मन रमिरहोस्, जहाँ छिरेपछि निस्कन मन नलागोस् । स्थानले पनि संवेदना उत्पन्न गर्छ । स्थान भनेको अनुभवको आधार हो । स्थापत्यकलामाथि जोर दिनु, विश्वविद्यालयलाई आफ्नो घरजस्तो बनाउनु हो । घर भनेको आकार वा शैली र कार्यको एकरूपता हो । तर, सबै घर यस्ता हुँदैनन् । भयो भने त्यो आदर्श घर हो ।

स्थापत्यकलाअन्तर्गत सातवटा स्थान आवश्यक हुन्छन् । यी सबैको समान महत्वव हुन्छ । यो भवनको मात्र होइन, भवनकलाको पनि चर्चा हो । आरामदायी कक्ष, ग्लोबल पहुँचको डिजिटल पुस्तकालय, स्तरीय क्याफ्टेरिया, ट्र्याक र फिल्ड, जिमदेखि ठूलो मैदान भएको स्टेडियम, मानक होस्टल अनि कला र विज्ञानको नमुनाहरू । यी क्षेत्र विद्यार्थीका लागि पार्ट टाइममा कमाउने क्षेत्र पनि बनून् ताकि विद्यार्थीले अलि पैसा कमाएर आफ्नो खर्च उठाएर शिक्षण शुल्क तिर्न पनि सकून् ।

कपिलवस्तुमा स्कुल पढ्दा आमाले बगैंचामा म र साथीहरूका लागि ब्याडमिन्टन कोर्ट बनाइदिनुभएको थियो । हामी खुसी हुँदै रातिसम्म खेल्थ्यौं, बिजुली पनि थियो । अहिले सम्झिँदा लाग्छ- यो त आमाको चलाखी रहेछ, खेल्न पनि दिने, आफ्नो आँखाअगाडि पनि राख्ने । ब्याडमिन्टन कोर्ट भान्छाकोठाबाट देखिन्थ्यो । यो संरचना र संंवेदना बाहिरी जगत्बाट सन्तान र उसका साथीलाई बचाउने सोच थियो र शिक्षा पनि । ताकि सन्तान रातिराति बाहिर नजाओस् । आज खेल्ने होइन भन्दा विरोध पनि हुँदैनथ्यो । बाहिर कोर्ट देखिन्थ्यो । यस्तो घरको कल्पना गर्छु- मेरो विश्वविद्यालयमा ।

आमाबाबु

आमाबाबु उच्च शिक्षाबाट टाढिएका छन् । कन्भोकेसनमा आए भने आए, बाँकी समय विश्वविद्यालयमा आमाबाबुलाई कुनै स्थान छैन । वर्षमा दुईपटक छोरा र छोरीको भ्रमण, उनीहरूको कक्षाको भ्रमण, कता खेल्छस्, कता खान्छस्जस्ता जानकारीका लागि समय हुनुपर्छ । यो अधिकार जनाएको होइन, संवेदनशीलताको पक्ष हो ।

विदेशमा पढ्दाको अनुभव छ मेरो । बिहीबारदेखि नै मेरा साथीहरू आमाबाबु छुट्टीमा लिन आउँछन् भन्दै तयार हुन्थे । एकजना पीएचडी गरिरहेको, डिकन्स्ट्रक्सनको कुरामात्रै गरिरहने अतिवादीले पनि आमाबाबुका लागि होस्टल कोठादेखि वरिपरिसम्म सफा गथ्र्यो । पूरै विश्वविद्यालय डुलाउँथ्यो, स्टेडियमदेखि ट्वाइलेटसम्म । महिनौंको तनाव, रिस, दुःख, व्यथा, निराशा, विचलन, अनिश्चितताहरू जादुजस्तो हराउँथ्यो । किताब र क्लासले पनि नदिएको, अति माया गर्ने शिक्षकले पनि दिन नसकेको आनन्दका दिन मलाई सम्झना छ । मेरा ग्य्राजुएट साथीहरूका आमाबाबु प्रायः सबै छोराछोरीलाई भेट्न आउँथे । यी त मैले देखेका ससाना समस्या हुन् । संवेदनालाई लयबद्ध गर्न शिक्षा र घरको सम्बन्धले काम गर्थ्याे ।

बौद्धिकता राजनीतिक हो । राजनीतिबाट केही पनि टाढा छैन, हुनु पनि हुँदैन तर बौद्धिकता राजनीतिक दलको कोटा होइन ।

नेपालका स्कुलहरूमा अलिअलि देखिन्छ त्यो चलन । तर, हाम्रा विश्वविद्यालयमा आमाबाबु आउने, एकदुई दिन बिताउनेजस्ता परम्पराको चर्चा गरियो भने मलाई नै अचम्म लाग्छ । फेरि एउटा कथा भन्छु । अहिले पनि ८ बजेभन्दा ढिलो घर फर्कंदा म अलिअलि चिन्तित हुन्छ । कक्षाबाट भर्खरै कान्ट अथवा कन्फ्युसियस पढाएको छु । तर, पनि आमाको स्वर आउँछ, ‘किन ढिलो भइस् ? अलि चाँडो आउनुपर्छ ।' पढ्ने कोठा र आमाको गम्भीर स्वर, शिक्षाको तालमेल हो । शिक्षाले होमवर्कदेखि थेसिससम्म संवेदनाको विकास गर्छ ।

आमाबाबुले विश्वविद्यालयको भ्रमण गर्नुपर्छ, वर्षमा दुईपटक भए पनि । विश्वविद्यालय मनोविज्ञान, परिवार, ठूलाबडा, आमाबाबुको संघर्षमा बाँधिएको हुनुपर्छ । राजनेताको स्वार्थमा होइन । विश्वविद्यालयको एउटा मस्तिष्क हुन्छ । आशिष नन्दीको शब्दमा ‘मस्तिष्कको पनि एउटा विद्यालय हुन्छ ।' उनले ‘माइन्ड अफ द सिटी एन्ड सिटी अफ द माइन्ड' भनेका छन् । मेरो विद्यालय मेरो समाजको मूल तत्ववले बनेको संस्था हो । शिक्षाको उपस्थितिमात्रै होइन, परिवारको सांकेतिक उपस्थिति पनि हुनुपर्छ त्यहाँ । ‘अभिभावकत्व'को अभाव, सामाजिक संरचनाको अपूर्णता हो । म मेरो शिक्षकसँग डराउँछु । मेरा दुई शिक्षकसँग त अझै पनि डराउँछु । उनीहरूका अगाडि चुरोट खाँदा मेरी श्रीमती सोमाले खुब गाली गरिन् । शिक्षकको डर आमाबाबुको सम्मानले आउँछ । त्यसैले विश्वविद्यालयमा आमाबाबुको सांकेतिक उपस्थिति हुनु जरुरी छ, राजेनताको होइन । चुनावको बेलामा यस्तो भन्ने ? मेरो विचार पढेर मेरा विद्यार्थी मजस्तै हाँस्छन् । अरू के गर्छन् र ?

ज्ञान

मेरा प्रिय लेखक ज्याक डेरिडा भन्छन्, ‘मानवप्रतिको विचारबारे, मानवका लागि के उपयुक्त छ त्यसबारे, मानव अधिकारबारे, मान्छेको मानवताविरुद्ध अपराधबारे विचार गर्ने स्थल हो मानवशास्त्र ।' उनले विश्वविद्यालयकै चर्चा गरेका छन् । उनको भनाइको सार हो- विश्वविद्यालय यस्ता गम्भीर समस्याका लागि ‘प्रोफेसन अफ फेथ' (विश्वासको पेसा) बनाउने संस्था हो । विश्वविद्यालयमा यस्ता गम्भीर विषयमा बिनासर्त, बिनापूर्वधारणा विचारविमर्श गर्नुपर्छ । राजनीति, धर्म, विज्ञान सबैलाई समय दिन आवश्यक छ । राजनीति शिक्षाको अभिन्न अंग हो तर भ्वाइलिन सिक्न तालिम आवश्यक पर्छ । शास्त्र नजाने राजनीतिक हुँदैन । विश्वविद्यालय यी सबैको तालिमस्थल हो । कडा कर्मको अध्ययनको पाटोमा नपिसिएर एउटा विद्यार्थीले राजनीतिको कर्म गर्न हतार गर्छ भने किन चाहियो विद्यालय ?

केही वर्षअघि एउटा फोन आएको थियो, ‘सर आज छलफल छ, फलानो हलमा ।' ‘केको छलफल ? ', मैले सोधेँ । ‘हामीले सिलेबसबारे गम्भीर छलफल आयोजना गरेका छौं । विद्यार्थी आउँछन्, शिक्षक पनि हुन्छन् । मैले पनि बोल्छु । सरको उपस्थिति जरुरी भो ।' मलाई अचम्म लाग्यो र मैले सोधेँ, ‘तिमी एमए पहिलो वर्षमा पढ्ने होइन ? '

‘हो सर, फोनमा नै चिन्नुभो ।'
‘तिमी भर्खर बीए पास गरेर आएको हो ? '
‘भर्खरै बीए पास गरेर एमए पढ्न आएको हो ।'

‘अहिले पढ्न नै बाँकी छ, तिमी कसरी राष्ट्रिय विश्वविद्यालयको सिलेबसबारे धारणा राख्छौ ? म पढाउन जान्छु, तिमी पनि कक्षामा आऊ ।' मैले फोन राखिदिएँ । कक्षामा जाँदा उनी पनि थिए । राजनीति, भ्वाइलिन, केमेस्ट्रीको स्थलमा केही वर्ष स्थापत्यकलाको वरिपरि, अलिकति सम्बोधनबोधक डर र यस्ता डेरिडाका जस्तै चिजबिजको बीचमा समयको उपयोग गर्ने विद्यालयको खाँचो छ हामीलाई ।

म त पटकपटक विद्यार्थीसँग चोभार, स्वयम्भू हिँडेको छु, सिंगो क्लाससँग । ‘के गर्न जाने सर, पिकनिक ? ' उनीहरू सोध्छन् । ‘मात्र हिँड्ने र सोच्ने । आज केही नबोल्ने, सोच्नेमात्रै । कम बोल्ने ।' हामी सबै हिँड्छौं दिनभरि । विश्वविद्यालयमा सोच्ने समय नपाएर भागेका थियौं । यो विडम्बना थियो । तैपनि खुब रमाएका थियौं हामी । कक्षाकोठा त सोच्ने ठाउँ पनि हो । मानवशास्त्रले सोच्न बाध्य बनाउँछ । राम्रो चिन्तनको फलदायक उपयोग हुन्छ । सिद्धान्त र व्यवहारमा फाटो पार्ने ठाउँ होइन विश्वविद्यालय ।

हाम्रा विश्वविद्यालयमा मन पर्ने पक्ष धेरै छन् तर पनि संस्था विकास भएको छैन । राम्रै चलेको छ । लाखौंले डिग्री पाएका छन् । कम खर्चमा धेरै पढ्न पाइन्छ । तैपनि मरिमेटी यिनैमा पढ्छु भन्ने प्यासन छैन । केही विभाग राम्रा छन्, केही शिक्षक राम्रा छन् तर पनि विश्व मानकमा हाम्रा विश्वविद्यालयमा तलै छन् ।

एउटा पक्ष भने मलाई खुब मन पर्छ । हाम्रा विश्वविद्यालय प्रजातान्त्रिक छन् । जे पनि पढाउन पाइन्छ । केही दशकअगाडि पञ्चायतकालमा मैले राष्ट्रवादको कोर्स बनाउँदा कसैले केही भनेका थिएनन् । डा. बाबुराम भट्टराईको किताब प्रयोग गरेको थिएँ । पञ्चायतको विचारधारसँग मिल्ने विषयवस्तु थिएन । माक्र्सवादको कुरा, उदार प्रजातन्त्रको कुरा थियो । ‘कसैले मतलब गर्दैन', एकजनाले भनेका थिए, ‘थाहा पनि छैन होला ।'
‘थाहा नहुनु पनि ज्ञान हो', मैले ती विद्यार्थीलाई भनेको थिएँ ।
‘कसरी सर ? '
‘उनीहरूलाई थाहा भएन त्यसैले हामीले पढ्न पायौं ।'

लिंग र यौनिकताबारे कतिपय विकसित देशमा पनि खुलेर भन्न पाइँदैन । नेपाली प्राज्ञिक समाजमा यस्ता विषयमा स्वतन्त्र ढंगले विचार गर्न पाउने परम्परा छ । भारतसँग राजनीतिक तनाव हुन्छ । तर पनि हजारौं विद्यार्थी भारतीय साहित्य र संस्कृतिमा थेसिस लेख्छन् । यी विचारका स्वतन्त्रता हुन् हाम्रा विश्वविद्यालयमा भएका । एलजीबीटीबारे पढाउन हाम्रा छिमेकी मुलुकमा डराउँछन् । हामी खुला मनले पढाउछौं । तैपनि हामी किन पछाडि छौं ? कहाँ गडबड भयो ?

यी सबैको कारण हो- हाम्रोमा संस्थागत विकास भएन । अचेल त विश्वविद्यालयको विषयगत समितिहरूमा पनि दलगत कोटा हुन्छ रे । बौद्धिकता राजनीतिक हो । राजनीतिबाट केही पनि टाढा छैन, हुनु पनि हुँदैन तर बौद्धिकता राजनीतिक दलको कोटा होइन ।

मोरक्कोको फेजमा भएको ‘अल काराओइन विश्वविद्यालय'को कल्पना गर्छु । नवौं शताब्दीमा बनेको थियो त्यो विश्वविद्यालय । को थिए विद्यार्थी ? कसले पढाउँथ्यो ? के किताबहरू थिए ? तक्षशीला, नालान्दाका वैभव पनि सम्झन्छु । हाम्रा विश्वविद्यालयमा प्राचीनता छैनन् तर परम्पराको प्राचीनता त छ । इतिहासको मर्म बोकेका छन् हजारौं वर्षको । त्यस्ता मर्मको प्राचीनताको चिन्तन प्राज्ञिक चिन्तन हो जसको वैभव विश्वविद्यालयहरूले बोकेका हुन्छन् । यसैको निरन्तरताका लागि स्थापत्यकला र आमाबाबुको सांकेतिकता आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.